नेपालगञ्ज/ बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–२०, थपुवा निवासी १३ वर्षीया यजना रोकाया विगत ४ दिनदेखि बेपत्ता भएकी छन्। उनीअचानक सम्पर्कविहीन भएपछि परिवार, आफन्त तथा स्थानीय समुदायमा चिन्ता बढेको छ।
परिवारका अनुसार, चैत २० गतेका दिन यजना घरबाट “सामान किन्न जान्छु” भन्दै निस्किएकी थिइन्। त्यसपछि उनी घर फर्किनन् र परिवारसंग कुनै प्रकारको सम्पर्कमा पनि आएकी छैनन्। उनको खोजीका लागि परिवारले आफन्त, छिमेकी तथा विभिन्न स्थानहरूमा खोजतलास गरिरहेको भए पनि हालसम्म फेला नपरेको परिवारले जानकारी दिएको छ।
यजनाको बेपत्ता घटनापछि परिवार अत्यन्त चिन्तित बनेको छ। उनीहरूका अनुसार यजना यसअघि कहिल्यै पनि यसरी सम्पर्कविहीन भएकी थिइनन्। त्यसैले यस घटनालाई लिएर परिवारजन थप चिन्तित र व्याकुल अवस्थामा छन्। स्थानीयवासीहरूले समेत खोजी कार्यमा सहयोग गरिरहेका छन्। यस घटनाबारे नजिकको प्रहरी कार्यालयमा समेत जानकारी गराइसकिएको परिवारले जनाएको छ। यद्यपि, हालसम्म उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।
परिवारले यजना रोकायालाई कतै देख्नुभएको वा उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको खण्डमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई तुरुन्त जानकारी गराइदिन सबैसँग हार्दिक अनुरोध गरेको छ।









