विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा सहित भन्सारका उच्च अधिकारीहरू विरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भइको छ।
सुन तस्करहरूसँग करोडौँ लाभ लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका पदाधिकारी र कर्मचारीले अरबौँ राजस्व चुहावट गरेको भन्दै परेको उजुरीका आधारमा अनुसन्धान गर्दा यो तथ्य बाहिर आएको हो। आयोगले आज विशेष अदालतमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरेको छ।
अख्तियारका अनुसार २०७९ पुस १० गते दुबईबाट ‘फ्लाई दुबई’ को उडान (एफजेड) ५ ८७० मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र बहुमूल्य सुन लुकाइएको थियो।
आयोगले कुल ८४८० ग्रामभन्दा बढी सुन बराबरको सात करोड ७८ लाख ६८ हजार रुपैयाँभन्दा बढीको हिनामिना भएको निष्कर्ष निकालेको छ। सो प्रकरणमा तत्कालीन प्रमुख भन्सार प्रशासकदेखि नायब सुब्बासम्मका कर्मचारी तथा व्यापारी, विदेशी नागरिकलगायतलाई प्रतिवादी बनाइएको छ।









