भेरी अस्पताल नेपालगन्जमा मंगलबारदेखि अवरुद्ध रहेको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ। अस्पताल प्रशासनले बुधबार जारी गरेको सूचनाअनुसार ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गाली–गलौज, दुर्व्यवहार र आक्रमणको धम्की दिने व्यक्तिलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएपछि सेवा पुनः सुचारु गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले दोसीहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) अनुसार कारबाही अघि बढाउनुपर्ने जनाएको छ। साथै घटनामा संलग्न अन्य व्यक्तिहरूलाई समेत २४ घण्टाभित्र पक्राउ पुर्जी जारी गरी आवश्यक कारबाही गर्ने प्रक्रिया अघि बढाुउनुपर्ने समेत अस्पतालको सूचनामा उल्लेख छ।
यस घटनापछि आन्दोलित बनेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू क्रमशः आफ्नो नियमित काममा फर्किन थालेका छन्, जससँगै ओपिडी सेवा पुनः सञ्चालनमा आएको हो। सेवा बन्द हुँदा बाँकेसहित आसपासका जिल्लाबाट उपचारका लागि आएका बिरामीहरू प्रभावित भएका थिए।
अस्पताल प्रशासनले सामाजिक सञ्जालमा राखिएका गाली–गलौजका भिडियोहरू हटाउन समेत आग्रह गरेको छ। साथै अस्पताल परिसरभित्र फोटो तथा भिडियो खिच्न प्रशासनको अनुमति आवश्यक पर्ने व्यवस्था कडाइका साथ लागू गरिने जनाएको छ।
भेरी अस्पतालले आगामी दिनमा स्वास्थ्यकर्मीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।









