फोहोर व्यवस्थापन र बालबालिकाको भुमिका

करुणा थापा

नेपालमा फोहोर व्यवस्थापनको समस्या दिन प्रति दिन गम्भीर बन्दै गईरहेको छ । तीव्र शहरीकरण र बढ्दो उपभोगका कारण ठुला शहरहरूमा दैनिक ठूलो परिमाणमा फोहोर उत्पादन भइरहेको छ । अध्ययनका अनुसार नेपालमा एक व्यक्तिले दैनिक करिब ०.२२ किलो फोहोर उत्पादन गर्ने गर्छ । यसको ९० प्रतिशतभन्दा बढी फोहोर ल्यान्डफिल वा खुला डम्पिङमै जान्छ । ग्रामीण क्षेत्रमा त अझै पनि नियमित फोहोर संकलन सेवा नहुँदा खुला रुपमा फाल्ने र जलाउने अभ्यास व्यापक छ, जसले वातावरण र स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । यसरी शहर र ग्रामिण दुवै क्षेत्रमा फोहोर व्यवस्थापनको चुनौती फरक–फरक स्वरूपमा देखिए पनि समस्या भने दुवै ठाउँमा गम्भीर छ ।
प्राय फोहोरको उचित व्यवस्थापन नहुँदा सरकारलाई दोष दिईने गरिन्छ। तर, के हामी आफैंले आफ्नो जिम्मेवारी पूरा गरिरहेका छौं त ? फोहोर व्यवस्थापन सरकारको मात्रै जिम्मेवारी होइन, यो हाम्रो पनि जिम्मेवारी हो । फोहोर व्यवस्थापनको सुरुवात घरबाट नै हुन्छ, र यसको सबैभन्दा प्रभावकारी माध्यम भनेको बालबालिकाहरु हुन् । बालबालिकाले हामीबाटै सिक्ने र जे देख्यो, त्यही व्यवहार दोहोर्याउँने भएको ले उनीहरुमा सानैबाट फोहोर व्यवस्थापन सम्बन्धि सचेतना विकास गर्नु हाम्रै जिम्मेवारी हो । जब उनीहरूले आफ्ना अभिभावकलाई चकलेटको खोल सडकमा फाल्दै गरेको वा बसको झ्यालबाट पानीको बोतल बाहिर फाल्दै गरेको देख्छन्, त्यही व्यवहार उनीहरूका लागि सामान्य बन्छ। त्यसैले “बच्चालाई सिकाउने” भन्दा पहिले “आफ्नो बानी सुधार्नु” अझ महत्वपूर्ण हुन्छ ।
यदि हामीले बालबालिकालाई “फोहोर जथाभावी नफाल्ने” बानी सिकाउन सक्यौं भने मात्र परिवर्तन सम्भव हुन्छ । एउटा सानो बालकले चकलेटको खोल सडकमा फाल्नुको सट्टा आफ्नो खल्तीमा राख्छ भने त्यो व्यवहारले जिम्मेवार नागरिक बन्ने संकेत दिन्छ । साना व्यवहारहरू नै भविष्यको ठूलो परिवर्तनको आधार हुन् ।
यसमा विद्यालयहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विद्यालयहरूले फोहोर व्यवस्थापनलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक अभ्यासमा जोड दिनुपर्छ । कक्षाकोठा र विद्यालय परिसरमा फोहोरलाई छुट्याउने प्रणाली अनिवार्य रूपमा लागू गर्न सकिन्छ । जैविक र अजैविक फोहोर छुट्याउने डस्टबिनहरू राख्ने, कम्पोस्टिङ अभ्यास गराउने, पुनःप्रयोग र पुनःचक्रण सम्बन्धी गतिविधिहरूमा विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराउन सकिन्छ । साथै, “इको क्लब” जस्ता समूहमार्फत बालबालिकालाई नेतृत्वमा ल्याउन सकिन्छ ।
विद्यालय र समुदायमा उपयुक्त पूर्वाधार जस्तै फोहोर संकलन गर्नका लागि छुट्टाछुट्टै बिन, कम्पोस्ट पिट, र रीसाइकल संकलन केन्द्र स्थापना गर्न सकिएमा व्यवहारिक सिकाइ अझ प्रभावकारी हुन्छ । बालबालिकालाई सरसफाइ अभियान, नदी किनार सफाइ, र सामुदायिक सरसफाइ कार्यक्रममा सहभागी गराउँदा उनीहरूमा जिम्मेवारी र स्वामित्वको भावना विकास हुन्छ ।
विज्ञहरूका अनुसार साना व्यवहारिक परिवर्तनहरूले नै ठूलो प्रभाव पार्छन् । यदि प्रत्येक घरले फोहोर छुट्याउने बानी बसाल्यो, विद्यालयले त्यसलाई अभ्यासमा ल्यायो, र बालबालिकाले त्यसलाई दैनिक जीवनमा अपनाए भने फोहोर व्यवस्थापन प्रणालीमा ठूलो सुधार सम्भव छ । पुनःप्रयोग गर्न मिल्ने सामग्रीको सही व्यवस्थापनले ल्यान्डफिलमा जाने फोहोरको मात्रा उल्लेख्य रूपमा घटाउन सक्छ ।
अन्ततः, “बालबालिका हाम्रो भविष्य हुन्” भन्ने कुरा केवल नारा मात्र होइन, जिम्मेवारी पनि हो । यदि हामीले आज सही व्यवहार सिकायौं भने उनीहरूले भोलि हाम्रो वातावरण जोगाउनेछन् । उनीहरूलाई सिकाउनेभन्दा पहिले हामीले आफैं उदाहरण बन्न आवश्यक छ । साना व्यवहार बाटनै ठूलो परिवर्तन सम्भव हुन्छ । (लेखक थापा क्लिन अप नेपालमा परियोजना संयोजक हुनुहुन्छ ।)

 

  • १८ बैशाख २०८३, शुक्रबार प्रकाशित

  • Nabintech