नेपालगञ्ज / भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा सहादत प्राप्त गर्नुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोझीका दुई जना सहिद ई.सुलभराज श्रेष्ठ र आयुष थापाको अर्धकदको शालिक अनावरण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ वाटरपार्कस्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्र भवनको हाताभित्र राखिएको शालिकको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल तथा सहिद द्वयका आमाबुवाले संयुक्तरुपमा अनावरण गरेका थिए ।
जेनजी आन्दोलनको क्रममा भाद्र २३ गते काठमाण्डौमा नेपालगन्ज–१, धम्बोझीका १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभ श्रेष्ठको सहादत प्राप्त गरेका थिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालका अनुसार सहिदको स्मृतिमा शालिक सहितको पार्क, खुल्ला जिम र योगाहल लगायत निर्माण गरिएको छ ।









