नेपालगन्ज । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुर क्षेत्रमा भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीका अनुसार मिति २०८३ असोज २२ गते राति बेलासपुरमा आयोजित एक कार्यक्रमपछि सहभागीहरूबीच सामान्य विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। सोही विवादपछि केही व्यक्तिहरूले एक युवामाथि कुटपिट गरेका थिए। घटनापछि गम्भीर घाइते भएका २१ वर्षीय विशाल चन्द ठकुरीलाई उपचारका लागि अस्पताल पुर्याइए पनि सोही दिन बिहान करिब ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।
घटनामा अर्का एक घाइते २० वर्षीय योगेन्द्र कामीको उपचारपछि डिस्चार्ज गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार विवाद बढ्दै जाँदा धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको र त्यसपछि संलग्नहरू घटनास्थलबाट फरार भएका थिए। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ४ जनालाइ बर्दिया र २ जनालाइ नेपालगन्जबाट बाट गरी ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा नगरपालिका–१ बस्ने १९ वर्षीय दिपेन्द्र राज गिरी, २० वर्षीय बिबियसकुँवर, १८ वर्षीय सुसिल खत्री, २० वर्षीय खकन्द्र देवकोटा, कालीकोट पचालझरना गाउँपालिका–६ बस्ने १८ वर्षीय सन्तोष संज्याल र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २० वर्षीय रुपेश थापा रहेका छन्।
घटनास्थलबाट प्रहरीले एक थान चक्कु, सुदूरपश्चिम प्रदेश ०१–०४ प १२६६ नम्बरको एनएस २०० मोटरसाइकल तथा बियरका बोतल र फुटेका बोतलका टुक्राहरू बरामद गरेको जनाएको छ। प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान जारी राखेको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। साथै, यस्ता घटनाहरू दोहोरिन नदिन समाजमा शान्ति–सुरक्षा कायम गर्न सबै पक्षलाई सहयोग गर्न अनुरोध गरेको छ।









