कोल्टी बाजुरा । बाजुराको दुर्गम क्षेत्र कोल्टीस्थित अस्पतालले एक जना विरामीको जिवन बचाएकोछ ।
३९ हप्ताभन्दा बढी गर्भ बोकेर उपचारका लागि कोल्टी अस्पताल पुगेकी हुम्लाको अदानचुली गाउँपालिकाकी २६ वर्षीया महिलाको सफल स्वास्थ्य उपचार भएको थियो । अस्पताल पुगेकी महिलाको स्वास्थ्य परीक्षणका क्रममा गर्भमा रहेको शिशु उल्टो अवस्थामा अर्थात् “ब्रीच प्रेजेन्टेसन” मा रहेको पुष्टि भएपछि अस्पतालले सामान्य प्रसूति गराउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्ने भएपनि सिजेरियल उपचार गरि उनको ज्यान बचाएका थिए ।

दुर्गम भेग, सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिका बीच पनि कोल्टी अस्पतालका स्वास्थ्यकर्मीहरूले साहस र जिम्मेवारीका साथ विरामीहरुको उपचार गरिरहेका छन्। गम्भिर रुपमा रहेको उक्त घट्नामा तत्काल डा. रञ्जितको नेतृत्वमा रहेको चिकित्सक टोली सिजेरियन शल्यक्रिया (CS) गर्ने निर्णय गरि सफल उपचार गरेको अस्पतालले असल शासनलाई जनाए ।
शल्यक्रियापछि आमा र नवजात शिशु दुवै सुरक्षित रहेको जानकारी अस्पतालले गराएपछि सबैतिर खुसी छाएको थियो ।
दुर्गम क्षेत्रमा सामान्य स्वास्थ्य सेवा पाउनसमेत कठिन हुने अवस्थामा यस्ता जटिल प्रसूति सफलतापूर्वक सम्पन्न हुनु ठूलो उपलब्धिका रूपमा हेरिएको छ। कोल्टी अस्पतालले पुनः एकपटक प्रमाणित गरेको छ कि सेवा गर्ने दृढ इच्छाशक्ति, दक्ष स्वास्थ्यकर्मी टोली र आत्मविश्वास भए दुर्गम क्षेत्रमा पनि असम्भव भन्ने केही हुँदैन। यस सफल उपचार कार्यमा संलग्न डा. रञ्जितसहित सम्पूर्ण स्वास्थ्यकर्मी टोलीप्रति सबैले प्रशंसा गरेका छन् ।









