नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ को सार्वजनिक सुनुवाई सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज / ६ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले चालु आर्थिक वर्ष २०८२ /०८३ मा सम्पन्न योजनाहरूको बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

बास नेपालको सहजीकरणमा न्युरोड स्थित होटेल इन्द्रेणी मा सम्पन्न सार्बजनिक सुनुवाईमा गरेका प्रतिबद्धताहरूमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको न्युरोडलाई सौन्दर्यकरणको विषयमा प्रश्न आएकोमा उक्त कार्यका लागि पहल भइरहेकाले यही वर्षभित्र काम सम्पन्न गर्ने , बागेश्वरी मन्दिर प्रवेशद्वार निर्माणका लागि आएका प्रश्नमा उक्त कार्यका लागि वडाको बजेटबाट सहज नहुने भएकाले प्रदेश र संघ सरकारसँग बजेट माग गरी प्रवेश द्वार निर्माणका लागि पहल गर्ने, वडाभित्रका विभिन्न टोलहरूमा जाने सडक स्तर उन्नति र नाली निर्माण गर्नुपर्ने माग आएकोमा उक्त कार्य सम्पन्न गर्न स्थानीयकै अवरोध भएकाले तत्काल टोल विकास समिति र स्थानीय सरकारवालाहरूसँग बसी अधुरा कामहरु सञ्चालन गर्ने, वडा भित्रका भवन तथा शौचालयहरू अपाङ्ग मैत्री नभएको गुनासोमा भवन निर्माण प्रक्रिया सुरु हुनु अगावै स्थानीय सरकारको नीति अनुसार इन्जिनियरिङ सबै कुराको जानकारी गराएमा उक्त समस्या समाधान हुने भएकाले सो कुराको लागि पहल गर्ने, टोल विकास समितिहरूलाई वडाबाट विनियोजन हुने बजेट समानान्तर नभएको गुनासोमा बजेट समानान्तर रूपमा नभई प्राथमिकीकरणका आधारमा हुने भएकोले क्रमश सबै टोलको समस्या समाधान गर्ने, वडाभित्रको समग्र सरसफाईको कुरालाई मुख्य ध्यानमा राखी उक्त कार्यका लागि स्थानीय बासी टोल विकास समितिसँग सहकार्य गरी वडा कार्यालयले विशेष पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहराले सहजीकरण गरेको सुनुवाईमा स्वागत नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य मो.सलिम मुुसलमानले गरेका थिए ।

चालु आर्थिक वर्ष ८२ ८३ मा सम्पन्न योजनाहरूको प्रगति प्रतिवेदन वडा नम्बर ४ का वडा अध्यक्ष तथा सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख सरोकारवाला व्यक्ति गोपाल पुनले प्रस्तुत गरेका थिए भने सार्वजनिक सुनुवाईको खुल्ला छलफलमा उठेका प्रश्न तथा जिज्ञासाको समाधान वडा अध्यक्ष पुलले नै गरेका थिए ।

झन्डै तीन घण्टासम्म चलेको सार्वजनिक सुनवाई कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका १३० बढी वडा वासीहरूको सहभागिता रहेको थियो ।

  • ९ असार २०८३, मंगलवार प्रकाशित

  • Nabintech