युवाहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई सफल जीवनतर्फ अग्रसर गराउन, कर्तव्यशील, विनयशील इमानदार युवा बन्न उत्प्रेरित गर्न, निराशालाई आशामा बदल्न, सम्भावनालाई वास्तविकतामा रूपान्तरण गराउन भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बासले नेपालगन्जमा साप्ताहिक रूपमा इन्सपाइरिङ युथ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
युवाहरूको काम केवल किताबी किरो बन्ने, घरायसी काममा मात्र सीमित हुने, हुल्याहा र रमिते बन्ने मात्र होइन, समाजमा हुने अन्याय, अत्याचार, थिचोमिचो, भ्रष्टाचार विरुद्ध बोल्ने, सार्वजनिक जनचासोका विषयमा जान्ने, बुझ्ने जिम्मेवारी पनि हो । युवाहरूलाई कर्तव्यनिष्ठ, जिम्मेवार बनाउन उत्प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रमको सुरुवात २०७३ जेठ १ गते देखि भएको थियो । युवाहरू अनन्त सम्भावनाका स्रोत हुन् । युवाहरूलाई उपयुक्त अवसर र वातावरण दिने हो भने सबै क्षेत्रमा अधिक क्षमता राखेर अघि बढ्न सक्छन् । अत युवाहरूलाई समाजप्रति जिम्मेवार र सकारात्मक पहरेदार बनाउनु पर्दछ भन्ने मान्यताका साथ यो कार्यक्रम सुरु गरिएको थियो । आफ्ना स्वयमसेवकहरूलाई मात्रै लक्षित गरेर सुरु गरिएको यो कार्यक्रमका सुरुवाती दिनमा बासकै कार्यालयमा हरेक शनिबार सञ्चालन गरिन्थ्यो । थोरै सहभागिमा सुरु गरिएको यो कार्यक्रमले चाँडै लोकप्रियता हासिल गर्यो । कार्यक्रमको आकर्षणले सहभागीको संख्या बढेर गयो । तत्पश्चात यो कार्यक्रम सिएसटी होटल एण्ड पार्टी प्यालेस, नेपालगन्जकै विनायक गेष्ट हाउस, धम्बोझी चौक नजिक रहेको स्वस्तिक कटेज हुदै हाल बास नेपालको सुशासन हलमा सञ्चालन भइरहेको छ ।
युवाहरूलाई सकारात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने, कर्तव्यशील, इमानदार, अनुशासित र कर्मशील युवा बन्न उत्प्रेरित गर्ने उत्प्रेरणा र सशक्तीकरणका माध्यमबाट युवा शक्तिलाई समाज विकासमा परिचालन गर्ने, समृद्ध राष्ट्र निर्माणका लागि युवा शक्तिको सहभागिता अभिप्रेरित गर्ने, युवाहरूको क्षमता अभिवृद्धि गरी उनीहरूको नेतृत्व विकास गर्ने उद्देश्यले सञ्चालन भइरहेको यो कार्यक्रम विभिन्न क्षेत्रका युवाहरूको सहभागितामा हरेक शुक्रबार १ घण्टा सञ्चालन भइरहेको छ । यो कार्यक्रम हरेक हप्ता फरक–फरक गतिविधि गरेर सम्पन्न गरिन्छ । महिनाको पहिलो हप्ता डिबेट सञ्चालन गरिन्छ । समसामयिक विषयमा युवाहरूले डिबेट गर्ने गरेका छन् । जसबाट युवाहरूको बाक क्षमता अभिवृद्धि भई व्यक्तित्व र नेतृत्व विकास भइरहेको छ। महिन को दोश्रो हप्ता फरक–फरक क्षेत्रका सफल एकजना मोटिभेटरलाई मोटिभेसनल स्पिचका लागि आमन्त्रण गरिन्छ । त्यस्ता व्यक्तिहरूले सकारात्मक सोच इमानदारिता, नैतिकता, सदाचारिता, अनुशासनका बारेमा उत्प्रेणादायी प्रवचन दिने गरेका छन। महिनाको तेश्रो हप्ता फरक–फरक क्षेत्रका सफल उदाहरणीय बौद्धिक व्यक्तित्वलाई सफलताको कथा वाचनका लागि आमन्त्रण गरिन्छ । त्यस्ता व्यक्तिहरूले आफ्नो सफलताको कथा अनुभव वाचन गर्ने गरेका छन् ।
सफलताको कथा अनुभव र संघर्षबाट कार्यक्रमका सहभागी युवाहरूमा आशाको सञ्चार हुनुका साथै युवाहरूले आफ्नो भावी कार्यदिशा तय गर्ने गरेका छन् । महिनाको चौथो हप्ता युवाहरूलाई नेतृत्व विकासबारे सीप प्रदान गर्ने गरिएको छ । कार्यक्रमका सहभागीलाई भाषणकला उद्घोषण कला र सहजीकरण सीपबारे फरक–फरक सहजकर्ताद्वारा प्रशिक्षण प्रदान गरिंदै आएको छ । कुनै महिनामा मात्र पर्ने पाँचौ हप्तामा सहभागीहरूमा भएको ज्ञान र क्षमता आदान–प्रदान गर्ने कार्य हुन्छ । जसबाट सहभागी बीचको आत्मविश्वास, आत्मसम्मान प्रवद्र्धन भइरहेको छ । उल्लेखित गतिविधि बाहेक अन्य क्रियाकलाप समेत गर्ने गरिएको छ। जसमा विभिन्न क्षेत्रको अवलोकन, अतिरिक्त क्रियाकलाप अन्तक्रिया र कला प्रस्तुति रहने गरेका छन् । साप्ताहिक युवाल रूपमा यी नियमित क्रियाकलाप बाहेक बेला–बेलामा इन्स्पाइरिङ युचको विशेष शुड्खला सञ्चालन गर्ने गरिएको छ । जसमा चर्चित ख्यातिप्राप्त व्यक्तिहरूले प्रवचन दिने गरेका छन् ।
उत्प्रेरणामूलक विशेष शृङ्खलामा चर्चित म्याराथुन धावक बैकुण्ठ मानन्धर, नायक जीवन लुईटेल, कथाकार महेश विक्रम शाह, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, चर्चित लेखक कर्ण शाक्य, नायिका सञ्चिता लुइँटेल जीवन लुईटेल, उत्प्रेरक श्रृष्टि के सी, उत्प्रेरक रोहित मल्ल, मनोक्रान्ति अभियानका द्रष्टा डा.योगी विकासानन्द चर्चित व्यत्तित्व महावीर पुन, केदार खड्का, नायिका केकी अधिकारी, कलाकार प्रदिप रोदन, रमण भट्राई, कञ्चन घिमिरे लगायतले बाँके जिल्लाका युवालाई सफलताको कथा सहित उत्प्रेरणा जगाइ सकेका छन् ।
विगत ८ वर्षदेखि निरन्तर रूपमा सञ्चालन भइरहेको यस कार्यक्रमले सफलताका साथ ३३१ औँ शृङ्खखला पार गरेको छ । हाल केहि समय देखि यो कार्यक्रम मासिक रुपमा सञ्चालन हुदै आएको छ । यस अवधिमा गैससकर्मी, सामाजिक अभियन्ता, चर्चित कलाकार, सरसफाइ अभियन्ता, कानुन व्यवसायी चिकित्सक, युवा उद्यमी, शिक्षक, महिला अधिकार कर्मी, साहियत्कार, खेलाडीलगायतलाई आफ्नो अनुभव सुनाउने अवसर समेत सृजना गरिदिएको छ भने एउटै कार्यक्रममा सहभागी भएर दर्जनौं व्यक्तिहरूको कथा, अनुभव सिकाइ सुन्ने सिक्ने अवसर युवाहरूले सहजै प्राप्त गरिरहेका छन् ।
प्रति हप्ता ५० देखि २५० जना सम्मको सहभागिता रहने यस कार्यक्रममा हाल सम्म १०,००० हजार बढी युवाहरूले सहभागिता जनाई सकेका छन् । यसको प्रभावकारिता र लोकप्रियता बाट धेरै युवाहरू लाभान्वित भएका छन् । यस कार्यक्रमले युवाहरूको जीवन व्यक्तित्व नेतृत्वमा निखारता साथै सकारात्मक बाटो तर्फ मोडेको छ । कार्यक्रममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्ने प्रयास युवाहरूले गरिरहेका छन् ।
त्यसैले ईन्सपाईरिङ्ग युथ कार्यक्रममा सहभागि भएका धेरै युवाहरु उत्प्रेरित भएर बिभिन्न पेशा, व्यवसायमा संलग्न भएका छन् । जिवनमा किताबी ज्ञान मात्र नभनेर बाहिरी ज्ञान पनि आवश्यक रहन्छ । कसैको एउटा महत्वपूर्ण भनाई, जिवनको भोगाई संघर्षका बारेमा सुनेर पनि कोही कोही व्यक्तिहरुको जिवनमा लक्ष्य प्राप्तीका लागि ठूलो भूमिका खेल्न जान्छ । त्यसको उदाहरण म स्वयम हु, आज म जुन ठाँउमा छु, मेरो जुन परिचय छ यो सबै यहि कार्यक्रमको देन हो, नेपालगन्जमा हुर्किदै पढ्दै गरेको म एउटा साधारण व्यक्ति आज नेपालगन्जमा परिचित हुन पाएको छु । सामाजिक क्षेत्रमा प्रवेश गर्न र सकारात्मक कामका लागि अभिप्रेरित गर्न यो कार्यक्रमको ठुलो भुमिका खेलेको छ । त्यसैले म जस्ता यस्ता थुप्रै व्यक्तिहरु छन् जो यो कार्यक्रमबाट आफुलाई अघि बढाउदै गएका छन् । त्यसैले यो कार्यक्रमले धेरै युवा पुस्ताहरुलाई प्रत्यक्ष होस या अप्रत्यक्ष रुपले आफ्नो लक्ष्य प्राप्तीका लागि महत्वपूर्ण भुमिका खेलि रहेको छ यो नै यसको मुख्य उलब्धी रहेको छ ।
यो कार्यक्रमको परिकल्पना बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो भने यस कार्यक्रमको संस्थापक संयोजक खेम बिष्ट हुनुहुन्छ, तत्पश्चात यस कार्यक्रमको संयोजकको भुमिकामा रबिन्द्र बोहरा रहनु भयो भने त्यसपछिको संयोजकको भुमिकामा म रहें । म पछि अशोक रावल कार्यक्रम संयोजकको रुपमा रहनु भयो । पुनः यो कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी मैले पाएको छु, जो व्यक्ति यहि कार्यक्रमबाट अघि बढ्यो, उहि व्यक्ति यस कार्यक्रमको संयोजन हुन पाउनु जस्तो ठूलो खुशीको कुरा के होला ? यहि खुशीका साथ म आफ्नो जिम्मेवारी बहन गरिरहेको छु । कम्तिमा यस कार्यक्रमले युवाहरुलाई बिदेश पलायन हुनबाट रोकेकोछ, लागु औषध जस्तो गलत बाटो तर्फ जानबाट रोकेको छ । क्षमता भएका व्यक्तिहरुलाई आफ्ना अनुभवहरु सुनाउने मञ्च यस कार्यक्रमले दिएको छ, युवाहरुको क्षमता अभिबृद्धि, व्यक्तित्व बिकासका साथै सकारात्मक उर्जा दिने काम भएको छ । यात्रा जारी छ अबिछिन्न रुपमा ।
(थापा मगर बास नेपालकी कार्यक्रम अधिकृत हुन् ।)









