युवाहरुको सारथि असल शासन सूचना केन्द्र

रमिता शाह

हुन त बास नेपाल आफैमा सूचना केन्द्र हो, श्रोत केन्द्र हो । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा मिडियासँग बास संल्गन रहेको छ । यसले थुप्रै प्रकाशनहरु गरेको छ । २०६४, २०६५ सालमैं यस संस्थाले नेपालगञ्जको औद्योगिक क्षेत्र अगाडी सुशासन मार्गमा रहेको कार्यालयबाटै पुस्तकालयको अवधारणा ल्याईसकेको थियो । औपचारिक रुपमा हाल भएको भृकुटिनगर स्थित कार्यालयको हलबाट मिनि पुस्तकालय हुँदै पुस्तकालयको रुपमा संस्थाले व्यवस्थापन गर्यो ।

२०७६, २०७७ सालमा स्थापना गरेको पुस्तकालयलाई पूर्ब पदाधिकारीहरु शम्भु रेग्मी, निर्मल थापा लगायतले पुस्तक दिएर सहयोग गरे । बिशेष गरि सुशासनसँग सम्बन्धित पुस्तकहरु बिभिन्न ठाउँबाट संकलन गरि शुरु गरिएको पुस्तकालयलाई व्यवस्थापन गर्न ट्रान्सपरेन्सी ईण्टरनेशनल नेपालको सहयोगमा बासद्वारा सञ्चालित नेपालमा राष्ट्रिय सदाचार निर्माण परियोजनाले सहयोग गर्यो, सन् २०१४ देखि २०१७ सम्म ३ बर्षका लागि सञ्चालित उक्त परियोजनाले पुस्तकालय व्यवस्थापनका लागि मात्रै सहयोग गरेन, पढ्नका लागि आवश्यक फर्निचरहरुको व्यवस्थापन समेत गरिदियो । कार्यालय भित्रकै एउटा बैठक कोठालाई पछि गएर पुस्तकालय बनाईयो । पुस्तकहरु बढ्दै जाँदा अर्काे कोठाको आवश्यक भएर कार्यालय रहेकै कम्पाउण्ड भित्र रहेको छुट्टै कोठा बहालमा लिएर त्यसलाई पुस्तकालयको रुपमा बिकास गरियो ।

युएनडिपीको सहयोगमा सामाजिक सद्भाव र दिगो विकासका लागि नागरिक सहभागिता (सिएसडिपी) परियोजना सञ्चालन भईरहँदा २०१८ मा उक्त पुस्तकालयलाई एसडिजि हवको रुपमा बिकास गरि थप व्यवस्थित गरियो भने २०७६ फागुन ६ गते मंगलवार सोही हवलाई असल शासन सूचना केन्द्र स्थापना गर्दै उद्घाटन गरिएको थियो । राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सो केन्द्रको उद्घाटन गर्नुभएको थियो । केन्द्र स्थापनाका लागि बास्केटाले रु १ लाख नगद, एउटा ल्यापटप र केही पुस्तक हस्तान्तरण गर्नुभएको थियो । सो केन्द्रलाई जनसम्पर्क अधिकृत मुना बिष्टले केन्द्र प्रमुखको रुपमा हेर्नुहुन्थ्यो तत्पश्चात मैले सो जिम्मेवारी बहन गरिरहेको छु ।

सो केन्द्रमा करिव ४ हजार बिभिन्न क्षेत्र, बिषयका पुस्तकहरु रहेका छन् । यस केन्द्र अन्र्तगत रहेको पुस्तकालयमा बिभिन्न व्यक्तिहरुले आफ्नो जन्मदिनमा पुस्तक सहयोग गर्दै आएका छन् भने बासको कार्यालय अवलोकन गर्न आउने आगन्तुकहरुले पनि पुस्तकका लागि सहयोग गर्दै आएका छन् । बास नेपालमा अवलोकन, बैठक, कार्यक्रमका लागि आउने व्यक्तिहरुका लागि यो सूचना केन्द्रको आकर्षणको केन्द्र बन्ने गरेको छ ।

यस केन्द्रमा पुस्तक, पत्रपत्रिका निःशुल्क रुपमा पढ्न पाउने व्यवस्था मिलाईएको छ भने घरमा लगेर १५ दिन भित्र पढेर फिर्ता गर्ने व्यवस्था समेत मिलाईएको छ । यस केन्द्रलाई साहित्यकार स्नेह सायमि, एफकेबि युकेका संस्थापक डाक्टर ईयानले गरेको सहयोग अतुलनिय छ । पठन संस्कृति ह्रास भईरहेको बेला पठन संस्कृतिलाई बढवा दिने र कायम राखिराख्ने एउटा पहल कदम हो सूचना केन्द्र । सूचना केन्द्र युवाहरुको सारथि हो, जहाँ युवाहरु अध्ययनका लागि आउँछन्, अनुभव लिन आउँछन्, अनुभव साटासाट गर्न आउँछन् । लोकसेवा देखि कोर्ष र बिभिन्न क्षेत्रका पुस्तकहरु निःशुल्क रुपमा पढ्नुका साथै ईमेल, ईन्टरनेट निःशुल्क चलाउन पाउँदा युवाहर लाभान्वित हुने गरेका छन् ।

पठन संस्कृतिलाई बढवा दिन असल शासन सूचना केन्द्रले रिडर्स क्लब गठन गर्न थालेको छ । पढ्ने र पढाउने संस्कृतिको बिकास गर्न, अध्ययनशिल समाज स्थापना गर्नका लागि रिडर्स क्लबको अवधारणा बिश्वव्यापी रुपमा बिस्तार भएको अवस्थामा केन्द्रले बाँकेमा क्लबहरु गठन गरिरहेको छ ।

पठन संस्कृतिलाई बढवा दिने, पढ्ने र पढाउने संस्कृतिको बिकास गर्ने, अध्ययनशिल समाज स्थापनाका लागि सहयोग गर्ने, पढ्न, पढाउनका लागि युवाहरुलाई उत्प्रेरित गर्ने, विश्वास, आत्मबिश्वासको बातावरण सृजना गर्ने र रचनात्मक नेतृत्वको लागि क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले क्लबहरु गठन गर्ने गरिएको छ । बिभिन्न बिद्यालय, क्याम्पस लगायतका स्थानमा गठन गर्न सकिने क्लबहरु हाल १२ वटा रहेका छन् । रिडर्स क्लबका सदस्यहरुले केन्द्रबाट लिएका किताव पढ्दा सिकेका सिकाईहरु आदान, प्रदान गर्ने गरेका छन् । केन्द्रले यस बर्ष देखि नियमित केन्द्रमा आएर अध्ययन गर्ने पाठकलाई पुस्तकालय दिवसको अवसरमा सम्मान गर्ने कार्यको समेत शुरु गरेको छ । यसलाई थप व्यवस्थित बनाउँदै लग्ने बास नेपालको योजना रहेको छ ।

(बास नेपालमा कार्यरत शाह असल शासन सूचना केन्द्रको प्रमुख हुन् ।)

 

  • १६ असार २०८३, मंगलवार प्रकाशित

  • Nabintech