भुकम्पमा बिताएका १३ दिन

पवनराज तिमिल्सिना

असल शासन प्रतिनिधि

मानिसको जीवनमा केही यस्ता क्षणहरू आउँछन्, जसले समयलाई दुई भागमा विभाजन गरिदिन्छन्, एउटा त्यो क्षण अघि र अर्को त्यसपछिको जीवन । २०८० साल कार्तिक १७ गतेको मध्यरात नेपालका हजारौँ नागरिकका लागि त्यस्तै एउटा कहालिलाग्दो क्षण थियो । त्यो रात पृथ्वी मात्रै हल्लिएको थिएन; हजारौँ परिवारको खुशी, आशा, सपना र भविष्य पनि एकैपटक धराशायी भएको थियो । केही सेकेन्डको कम्पनले वर्षौँको परिश्रमले बनाइएका घरहरू भग्नावशेषमा परिणत भए, परिवारहरू टुक्रिए, र सयौँ नागरिकले आफ्नो अमूल्य जीवन गुमाए ।

Pawan

जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले विशेष गरी जाजरकोट, पश्चिम रुकुम र सल्यान जिल्लालाई गहिरो घाउ दियो । भूकम्पपछि देखिएका दृश्यहरू केवल समाचारका शीर्षक थिएनन्, ती हजारौँ नेपालीको वास्तविक जीवनका दुःखद कथा थिए । कसैले आफ्ना सन्तान गुमाएका थिए, कसैले जीवन साथी, कसैले आमा, बुबा, त कसैले आफ्नै आँखा अगाडि आफ्नो घर ढलेको देखेका थिए । चिसो रातमा खुला आकाशमुनि बसेका ती मानिसहरूको अनुहारमा केवल भय र पीडा थियो ।

त्यो रात म नेपालगञ्जमा थिएँ, मध्यराततिर सामाजिक सञ्जाल र समाचारमाध्यममा भूकम्पका प्रारम्भिक समाचार आउन थाले । सुरुमा सामान्य भूकम्प होला भन्ने लागेको थियो । तर समय बित्दै जाँदा आउने तस्बिर, भिडियो र समाचारहरूले मन झस्काइदिए । भग्नावशेषमुनि पुरिएका मानिस, उद्धारका लागि गुहार मागिरहेका घाइते, आफ्ना प्रियजन गुमाएर रोइरहेका परिवारहरू—यी दृश्यहरूले मनलाई असाध्यै विचलित बनाए ।

त्यस रात निद्रा लागेन । मोबाइलको पर्दामा आउने प्रत्येक समाचारले मन झन् भारी बनाउँदै लग्यो । मनमा एउटै प्रश्न घुमिरह्यो—यस्तो बेला समाजप्रति मेरो कर्तव्य के हो ? भोलिपल्ट बिहानसम्म देशभरबाट राहत, उद्धार र उपचारका प्रयासहरू सुरु भइसकेका थिए । गम्भीर अवस्थाका घाइतेहरूलाई हेलिकोप्टर र एम्बुलेन्स मार्फत नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याउन थालिएको थियो । अस्पतालमा बिरामीको चाप असाध्यै बढ्दै गएको समाचार सुनेपछि म घरमा बसिरहन सकिनँ । केही साथीहरूसँग सम्पर्क भयो । बास नेपाल लगायतका सामाजिक संस्थाहरू स्वयंसेवक परिचालन गरिरहेका रहेछन् । मैले कुनै हिचकिचाहट नगरी त्यस अभियानमा सहभागी हुने निर्णय गरेँ ।

मेरो त्यो निर्णय कुनै पुरस्कार, सम्मान वा प्रचारका लागि थिएन । त्यो निर्णय केवल एउटा नेपालीले अर्को नेपालीप्रति निभाउनुपर्ने मानवीय जिम्मेवारीको निर्णय थियो । मलाई लाग्यो—यस्तो बेला यदि स्वस्थ र सक्षम नागरिकहरू पनि मौन बसे भने मानवताको अर्थ नै के रहन्छ ?

भेरी अस्पताल पुगेपछि मैले देखेको दृश्य जीवनभर बिर्सन सक्ने छैन । अस्पतालको मुख्य प्रवेशद्वारदेखि आकस्मिक कक्षसम्म मानिसहरूको भीड थियो । लगातार एम्बुलेन्स आइरहेका थिए । एउटा एम्बुलेन्सबाट बिरामी झार्न नपाउँदै अर्को आइपुग्थ्यो । साईरनको आवाज, चिकित्सकहरूको दौडधुप, नर्सहरूको व्यस्तता, आफन्तहरूको रुवाबासी र बिरामीहरूको पीडाले अस्पताललाई एउटा विशाल संघर्षस्थल बनाएको थियो ।

स्ट्रेचरमा ल्याइएका धेरै बिरामीहरूको शरीरभरि चोट थियो । कसैको टाउको फुटेको थियो, कसैको मेरुदण्डमा चोट लागेको थियो, कसैको हातखुट्टा भाँचिएको थियो । तर शारीरिक घाउभन्दा धेरै गहिरा घाउ उनीहरूको मनमा थिए । धेरैले आफ्ना आफन्त गुमाइसकेका थिए, तर त्यो खबर उनीहरूलाई अझै थाहा थिएन । कतिपयले बारम्बार एउटै प्रश्न सोधिरहेका थिए— मेरो आमा कहाँ हुनुहुन्छ ? मेरो छोरो बाँच्यो कि ?, मेरो श्रीमान् आइपुग्नुभयो ? यी प्रश्नहरूको उत्तर धेरैसँग थिएन ।

हामी स्वयंसेवकहरूले कुनै औपचारिक प्रशिक्षणको प्रतीक्षा गरेनौँ ।जहाँ आवश्यकता देखियो, त्यहीँबाट काम सुरु गर्यौँ । कसैले स्ट्रेचर समात्यो, कसैले औषधि ल्यायो, कसैले रगतको खोजी गर्यो । कसैले बिरामीका आफन्तलाई आवश्यक कागजात भर्न सहयोग ग¥यो । अस्पतालमा काम गर्ने प्रत्येक व्यक्ति एउटा साझा उद्देश्यका साथ खटिएको थियो—जति सकिन्छ, त्यति धेरै जीवन बचाउने ।

पहिलो दिनको साँझसम्म म थाकिसकेको थिएँ, तर अस्पताल भित्रका मानिसहरूको पीडासँग तुलना गर्दा मेरो थकान केही पनि थिएन । त्यस रात मैले महसुस गरेँ—जीवनमा कहिलेकाहीँ आफ्ना व्यक्तिगत सुविधा र आरामभन्दा माथि उठेर अरूका लागि बाँच्नु नै सबैभन्दा ठूलो धर्म रहेछ ।

त्यही रात एउटा सानो बालक अस्पतालको एउटा कुनामा बसेको देखेँ। उसको टाउकोमा पट्टी बाँधिएको थियो । ऊ लगातार ढोकातिर हेरिरहेको थियो । पछि थाहा भयो, भूकम्पमा उसका आमाबुबा दुवैको मृत्यु भएको रहेछ । उसलाई अझै पनि विश्वास थियो—ढोका खुल्नेछ र आमा भित्र आउनुहुनेछ । त्यो दृश्यले मेरो मन भक्कानियो। मैले उसलाई केही भन्न सकिनँ । केवल उसको टाउकोमा हात राखेँ । उसले मेरो हात समात्यो, तर केही बोलेन । त्यो मौनताभित्र हजारौँ शब्दभन्दा धेरै पीडा लुकेको थियो ।
त्यसै क्षण मैले मनमनै एउटा प्रण गरेँ—जबसम्म आवश्यकता पर्छ, म यहीँ रहनेछु । सेवा गर्ने, सान्त्वना दिने र सक्दो सहयोग गर्ने। किनकि त्यो बेला उनीहरूलाई केवल औषधि होइन, साथ चाहिएको थियो; केवल उपचार होइन, आशा चाहिएको थियो । यहीबाट सुरु भयो मेरो जीवनको सबैभन्दा कठिन, सबैभन्दा भावुक र सबैभन्दा अर्थपूर्ण तेह्र दिनको सेवायात्र खटिरहे ।

भेरी अस्पतालमा बिताएको पहिलो रातले मलाई जीवनको एउटा नयाँ पाठ सिकायो । त्यो पाठ कुनै विश्वविद्यालयको पुस्तकमा लेखिएको थिएन, न त कुनै कक्षाकोठामा पढाइन्थ्यो । त्यो पाठ मानवताको थियो—दुःखमा परेका मानिसको हात समात्नु नै सबैभन्दा ठूलो धर्म हो भन्ने पाठ ।

अस्पतालभित्र समयको कुनै अर्थ थिएन । बिहान, दिउँसो, साँझ र मध्यरात सबै एउटैजस्ता लाग्थे। अस्पतालको घडीले समय देखाइरहेको थियो, तर त्यहाँ उपस्थित मानिसहरूका लागि समय मानौँ रोकिएको थियो । एम्बुलेन्सको साइरन निरन्तर बजिरहन्थ्यो। आकस्मिक कक्षको ढोका बारम्बार खुल्थ्यो र बन्द हुन्थ्यो । प्रत्येक पटक ढोका खुल्दा अर्को एउटा नयाँ पीडा अस्पतालभित्र प्रवेश गथ्र्यो ।

हामी स्वयंसेवकहरूको कामको कुनै निश्चित सूची थिएन। जहाँ आवश्यकता हुन्थ्यो, त्यहीँ पुग्थ्यौँ । कहिले स्ट्रेचर बोकेर बिरामीलाई आकस्मिक कक्षसम्म पु¥याउँथ्यौँ, कहिले चिकित्सकले लेखिदिएको औषधि ल्याउन दौडिन्थ्यौँ । कहिले रगतको व्यवस्था मिलाउन रक्तसञ्चार केन्द्र पुग्थ्यौँ, त कहिले बिरामीका आफन्तलाई चिकित्सकसँग भेट गराइदिन्थ्यौँ । अस्पतालमा भएका ती दिनहरूले एउटा कुरा सिकाए—विपत्तिका बेला कुनै काम सानो हुँदैन । मुस्कान दिनु, पानीको गिलास थमाइदिनु, वा केहीबेर बिरामीसँग बसेर कुरा गर्नु पनि ठूलो सेवा हुन सक्छ ।

अस्पतालका प्रत्येक वार्डले फरक–फरक कथा बोकेका थिए। एउटा बेडमा आमा र छोरी दुवै उपचार गराइरहेका थिए । अर्को बेडमा वृद्ध बाबु आफ्ना छोराको खबर पर्खिरहेका थिए । कतै एउटा किशोर आफ्नो भाइको नाम पुकार्दै रोइरहेको थियो। त्यहाँ आँसुको भाषा सबैले बुझ्थे, किनकि पीडा सबैको साझा थियो ।

एकदिन एउटा वृद्ध आमासँग भेट भयो। उहाँको टाउकोमा गहिरो चोट लागेको थियो र एउटा हात प्लास्टर गरिएको थियो । उहाँ बारम्बार मेरो हात समातेर भन्नुहुन्थ्यो, बाबु, मेरो छोरो आयो कि ? मसँग उत्तर थिएन । मैले केवल यति भनेँ, आमा, तपाईं हिम्मत नहार्नुस् । सबैले तपाईंको साथ दिएका छन् । उहाँको आँखाबाट बगेको आँसुले मेरो मन पनि भिजायो। त्यो दिन मैले बुझें—कहिलेकाहीँ मानिसलाई सत्यभन्दा पहिले आशाको आवश्यकता पर्दोरहेछ ।

भूकम्पका घाइतेहरूका शारीरिक चोट केही महिनामा निको हुन सक्थे, तर उनीहरूको मनमा परेको चोट वर्षौँसम्म रहन सक्थ्यो। कतिपय बिरामी निद्राबाट झस्केर उठ्थे । सानो कम्पन महसुस भएजस्तो लाग्दा डरले कराउँथे । चिकित्सकहरूले औषधि दिइरहेका थिए, तर उनीहरूको मनलाई सान्त्वना दिने जिम्मेवारी हामी सबैको थियो। हामी उनीहरूसँग बस्थ्यौँ, कुरा गथ्र्यौँ, हिम्मत दिन्थ्यौँ । उनीहरूलाई बारम्बार एउटै कुरा भन्थ्यौँ—तपाईं एक्लो हुनुहुन्न ।

तेह्र दिनसम्म मैले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकहरूको अतुलनीय समर्पण देखेँ। उनीहरूले आफ्नो थकान, परिवार र आराम सबै बिर्सिएका थिए। कसैले घडी हेरेन, कसैले ड्युटी सकियो भनेर फर्किने कुरा गरेन । सबैको एउटै लक्ष्य थियो । एउटा पनि जीवन बचाउन सकियो भने त्यो नै सबैभन्दा ठूलो सफलता हुनेछ ।

हामी स्वयंसेवकहरूका लागि पनि ती दिन सहज थिएनन्। कहिलेकाहीँ दिनभर पानी पिउने फुर्सद पनि हुँदैनथ्यो। खाना खाने समय निश्चित थिएन । अस्पतालको क्यान्टिनमा चिसिएको चिया र ढिलो गरेर खाएको एक प्लेट खाना नै हाम्रो सहारा थियो तर बिरामीको अनुहारमा सुधार देख्दा सबै थकान हराएर जान्थ्यो ।

एक दिन करिब दस वर्षको एउटा बालकको उपचार भइरहेको थियो । उसको खुट्टामा गम्भीर चोट लागेको थियो । केही दिनपछि उसको अवस्था सुधार हुँदै गयो । डिस्चार्ज हुने दिन उसले मेरो हात समातेर भन्यो, दाइ, म फेरि विद्यालय जान पाउँछु ? मैले मुस्कुराउँदै भनेँ, अवश्य, तिमी फेरि पढ्छौ, ठूलो मान्छे बन्छौ । उसको अनुहारमा देखिएको त्यो मुस्कान मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार थियो । त्यस क्षण मैले महसुस गरेँ—कहिलेकाहीँ एउटा सानो आश्वासनले पनि मानिसलाई नयाँ जीवन दिन सक्छ ।

अस्पतालभित्र बिरामी मात्र संघर्ष गरिरहेका थिएनन् । उनीहरूका आफन्तहरूको पीडा पनि कम थिएन। कतिपयसँग बस्ने ठाउँ थिएन । अस्पतालको आँगन, बरन्डा र खुला स्थानमै रात बिताइरहेका थिए । कसैले आफ्नो बिरामीका लागि रगत खोजिरहेका थिए, कसैले औषधि, कसैले आर्थिक सहयोग । हामीले सक्दो सहयोग गर्ने प्रयास गर्यौं। कहिलेकाहीँ आफूले गर्न सक्ने सहयोग निकै सानो लाग्थ्यो, तर उनीहरूको अनुहारमा देखिएको कृतज्ञताले त्यो सहयोगलाई ठूलो बनाइदिन्थ्यो ।

यी दिनहरूमा मैले नेपाली समाजको अद्भुत एकता पनि देखेँ। देशका विभिन्न जिल्लाबाट युवा, विद्यार्थी, व्यापारी, समाजसेवी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहयोग लिएर आइरहेका थिए । कसैले निःशुल्क खाना वितरण गरिरहेका थिए, कसैले कम्बल, कपडा र औषधि । कसैले आर्थिक सहयोग जुटाइरहेका थिए भने कसैले रक्तदान गरिरहेका थिए । त्यो दृश्यले मलाई गर्व महसुस गरायो—विपत्तिले नेपालीलाई कमजोर बनाउँदैन, बरु अझ बलियोसँग एकताबद्ध बनाउँछ ।

तेह्र दिन बित्दै जाँदा केही बिरामी निको भएर घर फर्कन थाले । डिस्चार्ज भएर जाने क्रममा धेरैले हाम्रो हात समातेर आँसुसहित धन्यवाद दिनुहुन्थ्यो । हामीले कुनै ठूलो काम गरेका थिएनौँ । केवल आफ्नो मानवीय कर्तव्य निभाएका थियौँ । तर उनीहरूको त्यो कृतज्ञताले जीवनभरका लागि एउटा अमूल्य सम्पत्ति दिएको अनुभूति भयो ।
ती दिनहरूले मेरो सोच परिवर्तन गरिदिए । मैले बुझें—समाजसेवा भनेको प्रसिद्धि, पद वा सम्मानका लागि गरिने काम होइन । समाजसेवा भनेको कसैको अँध्यारो जीवनमा आशाको सानो दियो बालिदिनु हो । कसैको पीडामा साथ दिनु हो । कसैको आँसु पुछ्न आफ्नो समय, श्रम र मन समर्पण गर्नु हो ।

भेरी अस्पतालमा बिताएका ती तेह्र दिन समाप्त हुँदै थिए, तर मेरो सेवायात्रा त्यहीँ समाप्त भएको थिएन । केही दिनपछि हामी स्वयंसेवकहरूको टोली राहत सामग्री लिएर जाजरकोटतर्फ लाग्यौँ। अस्पतालमा देखेको पीडा एउटा पक्ष थियो, तर भूकम्पले तहसनहस बनाएका गाउँहरूमा पुगेर मैले विपत्तिको वास्तविक स्वरूप अझ नजिकबाट देख्ने अवसर पाएँ । त्यहाँ पुगेपछि मैले देखेका दृश्यहरूले मेरो जीवनभर साथ छोड्ने छैनन् ।

भेरी अस्पतालमा बिताएका तेह्र दिन सकिँदै गर्दा मनमा एउटा गहिरो प्रश्न बारम्बार उठिरहेको थियो—अस्पतालमा उपचार गराइरहेका यी घाइतेहरूको गाउँ अहिले कस्तो होला ? उनीहरूले गुमाएको घर, परिवार र बस्तीको वास्तविक अवस्था कस्तो होला ? समाचारमा देखिएका दृश्यहरूभन्दा वास्तविक पीडा कति ठूलो होला ? यी प्रश्नहरूले मनलाई शान्त बस्न दिइरहेका थिएनन् ।

केही दिनपछि बास नेपालका साथीहरू र अन्य सामाजिक अभियन्तासँग समन्वय गरेर राहत सामग्रीसहित जाजरकोट जाने अवसर प्राप्त भयो । त्यो यात्रा कुनै औपचारिक कार्यक्रम थिएन, न त कुनै प्रचारको अभियान । त्यो यात्रा मानवताको आवाजले डो¥याएको एउटा आत्मिक यात्रा थियो । हाम्रो उद्देश्य स्पष्ट थियो—विपत्तिमा परेका दाजुभाइ–दिदीबहिनीहरूको दुःखमा केही क्षण भए पनि साथ दिनु ।

नेपालगञ्जबाट बिहानै यात्रा सुरु भयो । राहत सामग्रीले भरिएका सवारीसाधन, औषधि बोकेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र विभिन्न संघसंस्थाका स्वयंसेवकहरूको लाम देख्दा एउटा विश्वास जाग्थ्यो । विपत्तिले नेपालीलाई विभाजित गर्दैन, झन् एकताबद्ध बनाउँछ। यात्राभरि कसैले रमाइलो कुरा गरेन। सबैको मनमा एउटै चिन्ता थियो—त्यहाँ पुग्दा कस्तो दृश्य देख्नुपर्ने हो ?

जति–जति जाजरकोट नजिक पुग्दै गयौँ, बाटोमा भूकम्पका चिन्हहरू देखिन थाले । कतै पहिरोले सडक चिरिएको थियो, कतै घरका पर्खालहरू भत्किएका थिए। गाउँहरूमा मानिसहरू पालमुनि बसिरहेका थिए। कतिपयले अझै घरभित्र पस्ने आँट गर्न सकेका थिएनन् । बेलाबेलामा आउने परकम्पले उनीहरूको डर झन् बढाइरहेको थियो ।

जाजरकोट प्रवेश गरेपछि मैले देखेको दृश्यले मेरो मन केही क्षणका लागि शून्य बनाइदियो । केही दिनअघि हाँसोले गुञ्जिने ती बस्तीहरूमा अहिले सन्नाटा थियो । ढुङ्गा, माटो र काठका थुप्राहरूबीच मानिसहरू आफ्ना जीवनका अवशेष खोजिरहेका थिए । कतिपय घर पूर्ण रूपमा जमिनमा समतल भएका थिए । कतै एउटा पर्खाल मात्र उभिएको थियो, जसले त्यहाँ कहिल्यै एउटा परिवार बस्ने गरेको मौन साक्षी दिइरहेको थियो ।

राहत वितरणका क्रममा धेरै परिवारसँग भेट भयो। एकजना आमाले राहत सामग्री बुझ्दै भन्नुभयो, “हामीलाई चामल र दालभन्दा पनि तपाईंहरू आउनुभएको देखेर हिम्मत आयो ।” उहाँका ती शब्दहरूले मलाई गहिरोसँग छोए । मैले त्यही बेला महसुस गरेँ—विपत्तिमा परेका मानिसलाई सामान मात्र होइन, साथ र आत्मीयता पनि चाहिन्छ ।

एउटा वृद्ध बुबासँगको भेट अझै स्मृतिमा ताजै छ। उहाँ भत्किएको घरको छेउमा एउटा ढुङ्गामाथि बस्नुभएको थियो । मैले नमस्कार गर्दै उहाँको अवस्था सोधेँ । उहाँले केहीबेर मौन रहनुभयो। त्यसपछि भत्किएको घरतर्फ हेर्दै बिस्तारै भन्नुभयो, “बाबु, यो घर बनाउन तीस वर्ष लाग्यो । छोराछोरी हुर्काएँ, दुःख गरेर पैसा जोडेँ। तर यो घर ढल्न तीस सेकेन्ड पनि लागेन ।”

उहाँका शब्दहरूमा केवल एउटा घर गुमाएको पीडा थिएन, जीवनभरको संघर्ष हराएको वेदना थियो। मैले केही भन्न सकिनँ । केवल उहाँको हात समातेँ । कहिलेकाहीँ मौनताले नै सबैभन्दा धेरै सान्त्वना दिन्छ भन्ने कुरा त्यस दिन बुझें ।

त्यहाँ एउटा सानो बालिका पनि भेटिइन् । उनको हातमा धुलोले भरिएको एउटा पुरानो गुडिया थियो। मैले मुस्कुराउँदै सोधेँ, “छोरी, के खोज्दै छौ ?” उनले भग्नावशेषतर्फ हेर्दै बिस्तारै भनिन्, “मेरो किताब…” त्यो उत्तरले मेरो मन भक्कानियो । उनले सुन, पैसा वा खेलौना खोजेकी थिइनन् । उनी त आफ्नो भविष्य खोजिरहेकी थिइन् । एउटा बालिकाको त्यो सरल उत्तरले मलाई शिक्षाको मूल्य र सपनाको महत्त्व झन् गहिरोसँग बुझायो ।

हामीले धेरै ठाउँमा राहत वितरण ग¥यौँ । चामल, दाल, नुन, तेल, कम्बल, त्रिपाल र अन्य आवश्यक सामग्री उपलब्ध गराउँदै जाँदा मानिसहरूको आँखामा देखिएको कृतज्ञता शब्दमा बयान गर्न सकिँदैन । उनीहरूले पटकपटक धन्यवाद दिइरहेका थिए, तर वास्तविक धन्यवाद त उनीहरूलाई दिनुपर्ने थियो । किनकि यति ठूलो पीडाबीच पनि उनीहरूले बाँच्ने साहस गुमाएका थिएनन् ।

त्यहाँ मैले नेपाली समाजको असाधारण शक्ति पनि देखेँ । विभिन्न जिल्लाबाट आएका स्वयंसेवक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार र स्थानीय युवाहरू दिनरात खटिरहेका थिए । कसैले शव निकालिरहेका थिए, कसैले घाइतेको उपचार गरिरहेका थिए, कसैले राहत वितरण गरिरहेका थिए । सबैको उद्देश्य एउटै थियो—पीडामा परेका नागरिकलाई एक्लो महसुस हुन नदिने ।

ती दिनहरूमा मैले एउटा कुरा बारम्बार महसुस गरेँ—प्राकृतिक विपत्तिले घर भत्काउन सक्छ, तर मानवताको जग कहिल्यै भत्काउन सक्दैन । मानिसहरू आफैँ पीडामा थिए, तर एकअर्कालाई सान्त्वना दिइरहेका थिए । कसैले आफ्नो त्रिपाल छिमेकीसँग बाँडेका थिए, कसैले आफ्नो खाना अरूलाई दिएका थिए । यही नै नेपाली समाजको वास्तविक परिचय थियो ।

जाजरकोटको त्यो यात्राले मेरो जीवनको सोच नै परिवर्तन गरिदियो । मैले बुझें—हामीले जीवनभर जोड्ने सम्पत्ति, घर, पद र प्रतिष्ठा सबै क्षणिक हुन् । तर अरूका लागि गरिएको सेवा, देखाइएको माया र दुःखमा दिएको साथ भने कहिल्यै मेटिँदैन । मानिसको वास्तविक सम्पत्ति उसले कमाएको धन होइन, उसले कमाएको विश्वास र सम्मान हो ।

नेपालगञ्ज फर्किने दिन बिहान म एकपटक फेरि भत्किएको गाउँतिर हेरेर केही क्षण मौन उभिएँ । मनमनै एउटा संकल्प गरेँ । जीवनमा जहाँ, जब र जसरी सम्भव हुन्छ, म मानवताको सेवामा सधैँ अग्रपङ्क्तिमा उभिनेछु । किनकि विपत्तिको समयमा गरिने सानो सहयोग पनि कसैको जीवनको ठूलो आशा बन्न सक्छ । जाजरकोटले मलाई केवल दुःखको कथा सुनाएन, उसले साहस, धैर्य, एकता र मानवताको पनि पाठ पढायो । त्यसैले आज पनि कार्तिक १७ आउँदा म केवल भूकम्प सम्झन्नँ; म ती स्वयंसेवक, चिकित्सक, सुरक्षाकर्मी, स्थानीय बासिन्दा र सहयोगी हातहरू पनि सम्झन्छु, जसले संसारलाई देखाइदिए—विपत्ति ठूलो हुन सक्छ, तर मानवताको शक्ति त्योभन्दा अझ ठूलो हुन्छ ।

जाजरकोटबाट नेपालगञ्ज फर्किँदा मेरो हात खाली थिएन । मैले कुनै पुरस्कार, सम्पत्ति वा उपलब्धि लिएर फर्केको थिइनँ तर मनभरि अविस्मरणीय अनुभव, पीडाले भरिएका अनुहारहरूको सम्झना, मानवताको अनुपम पाठ र समाजप्रतिको अझ गहिरो जिम्मेवारी लिएर फर्किएको थिएँ ।

भेरी अस्पतालमा बिताएका तेह्र दिन र त्यसपछि जाजरकोटमा देखिएका दृश्यहरूले मलाई जीवनको अर्थ नयाँ ढङ्गले बुझाइदिए । हामी प्रायः सफलतालाई पद, प्रतिष्ठा, सम्पत्ति वा पुरस्कारसँग तुलना गर्छौँ तर त्यो विपत्तिले मलाई सिकायो ।

जीवनको सबैभन्दा ठूलो सफलता भनेको अरूको पीडामा साथ दिन सक्नु रहेछ । कसैको आँखाबाट आँसु पुछ्न सक्नु रहेछ । निराशाको बीचमा आशाको एउटा सानो किरण बन्न सक्नु रहेछ । नेपालगञ्ज फर्किएपछि पनि मन बारम्बार जाजरकोटतिर पुगिरहन्थ्यो। अस्पतालमा भेटिएका घाइतेहरू, राहत वितरणका क्रममा भेटिएका परिवारहरू, आफ्ना अभिभावक गुमाएका बालबालिका र जीवनभरको कमाइ गुमाएका वृद्धवृद्धाहरूका अनुहार स्मृतिमा बारम्बार आइरहन्थे । कतिपटक राति निदाउँदा पनि एम्बुलेन्सको साइरन कानमा बजेजस्तो लाग्थ्यो। अस्पतालको आकस्मिक कक्ष, बिरामीको करुण पुकार र स्वयंसेवकहरूको निरन्तर दौडधुप अझै पनि आँखाअगाडि ताजै छन् ।

त्यस सेवायात्रामा मैले एउटा कुरा विशेष रूपमा महसुस गरेँ । विपत्तिका बेला मानिसको परिचय उसको पद, जात, धर्म, भाषा वा आर्थिक अवस्थाले होइन, उसको मानवताले दिन्छ । भेरी अस्पतालमा चिकित्सक, नर्स, सुरक्षाकर्मी, पत्रकार, स्वयंसेवक, व्यवसायी, विद्यार्थी र सर्वसाधारण सबै एउटै उद्देश्यका साथ खटिएका थिए । त्यहाँ कोही ठूलो थिएन, कोही सानो थिएन । सबै एउटै परिवारका सदस्यझैँ भएर पीडामा परेका नागरिकको जीवन बचाउने अभियानमा जुटेका थिए ।

यसै सेवाभाव र समर्पणको कदर गर्दै पछि बास नेपाल ले हामी स्वयंसेवकहरूलाई सम्मान ग¥यो । त्यो सम्मान ग्रहण गर्दा मेरो मनमा एउटा फरक अनुभूति थियो । प्रमाणपत्र हातमा थियो, तर मनमा एउटै कुरा थियो,मैले गरेको सेवा कुनै सम्मान प्राप्त गर्नका लागि थिएन । त्यो त आफ्नो राष्ट्र, समाज र पीडामा परेका दाजुभाइ–दिदीबहिनीप्रतिको सामान्य मानवीय दायित्व थियो ।

त्यो सम्मान मेरो लागि एउटा कागजको प्रमाणपत्र मात्र थिएन । त्यो त जिम्मेवारीको अर्को अध्याय थियो । त्यसले मलाई अझ बढी समाजसेवामा लागिरहन प्रेरणा दियो । मैले महसुस गरेँ, समाजले तपाईंको सेवाको सम्मान गर्छ भने त्यो सम्मानलाई अझ धेरै सेवा गर्ने प्रेरणामा बदल्नुपर्छ ।

जाजरकोट भूकम्पले धेरै कुरा खोस्यो । सयौँ परिवारबाट आफ्ना सदस्य खोस्यो । हजारौँ मानिसबाट घर खोस्यो । बालबालिकाबाट बालापन खोस्यो । वृद्धवृद्धाबाट जीवनभरको कमाइ खोस्यो तर त्यसले एउटा कुरा भने खोस्न सकेन, नेपालीहरूको मानवता, एकता र परस्पर सहयोग गर्ने संस्कार ।

प्राकृतिक विपत्तिले घरहरू ढाल्न सक्छ, सडक भत्काउन सक्छ, भौतिक संरचना नष्ट गर्न सक्छ । तर जबसम्म मानिसको मनमा दया, करुणा, सहयोग र सहानुभूति जीवित रहन्छ, तबसम्म कुनै पनि विपत्तिले समाजलाई पराजित गर्न सक्दैन । जाजरकोटले यही सत्य प्रमाणित ग¥यो । आज पनि कार्तिक १७ आउँदा म मौन भएर केही क्षण ती सबै दिवंगत आत्माहरूको सम्झना गर्छु । उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छु । त्यससँगै अस्पतालमा जीवनका लागि संघर्ष गरेका घाइतेहरू, राहतका लागि दिनरात खटिएका सुरक्षाकर्मी, चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक र सहयोगी सबैप्रति मनदेखि सम्मान व्यक्त गर्छु । उनीहरू सबै यो देशका वास्तविक नायक हुन् ।
समाजसेवाको यो यात्रा जाजरकोटमै रोकिएको छैन । जीवनमा जहाँ–जहाँ मानवताको आवश्यकता पर्छ, त्यहाँ–त्यहाँ आफ्नो क्षमताअनुसार योगदान दिने प्रयास गरिरहेको छु र भविष्यमा पनि निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । किनभने मेरो विश्वास छ,मानिस बाँचुन्जेल समाजका लागि केही न केही गरिरहनुपर्छ । यही नै जीवनको वास्तविक सार्थकता हो ।

जाजरकोट भूकम्पले मलाई एउटा अमूल्य पाठ सिकायो !जीवन अनिश्चित छ, तर सेवा अमर छ । धन, सम्पत्ति, पद र प्रतिष्ठा समयसँगै हराउन सक्छन्, तर दुःखको समयमा कसैको काँधमा राखिएको एउटा हात, आँसु पुछिदिएको एउटा रुमाल, निराश मानिसलाई दिएको एउटा आशाको शब्द र मानवताका लागि समर्पित एउटा क्षण कहिल्यै मेटिँदैन ।

म आज पनि गर्वका साथ भन्न सक्छु—जाजरकोटको त्यो कठिन घडीमा म पनि मानवताको सेवामा एउटा सानो स्वयंसेवकका रूपमा उभिन पाएँ । त्यो अवसर मेरो जीवनको सबैभन्दा ठूलो सम्मान, सबैभन्दा ठूलो उपलब्धि र सबैभन्दा अमूल्य सम्पत्ति हो ।

जाजरकोटका भूकम्पपीडितहरूप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना, र विपत्तिको घडीमा आफ्नो कर्तव्य निभाउने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक, सामाजिक अभियन्ता तथा सहयोगी हातहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो ।

  • १७ असार २०८३, बुधबार प्रकाशित

  • Nabintech