बिहे गरेर गएकी छोरीलाई एउटा आमाको खुला पत्र

पार्वती पौड्याल अधिकारी

प्रिय छोरी,
तिमी जन्मिएको त्यो दिन आज पनि मेरो आँखामा ताजै छ। तिम्रो पहिलो रुवाइले मेरो जीवनलाई एउटा नयाँ अर्थ दिएको थियो। त्यो सानो औँलाले मेरो औँला समातेको क्षण देखि मैले आफ्ना सबै सपना तिमी भित्र रोपेँ। तिमी लड्दा उठ्न सिकाएँ, हार्दा फेरि प्रयास गर्न सिकाएँ, अरूलाई सम्मान गर्न सिकाएँ र सबैभन्दा धेरै, आफूलाई कहिल्यै सानो नठान्न सिकाएँ। समय नदी जस्तै बगिरह्यो। तिमी सानी छोरीबाट जिम्मेवार युवती भयौ। अनि एउटा दिन आयो, जब समाजको परम्पराले तिमीलाई अर्को घरको जिम्मेवारी सुम्पियो। त्यो दिन धेरैले भने, “छोरी पराइ भइन्।” तर छोरी, मेरो मनले कहिल्यै यो कुरा स्वीकार गर्न सकेन। छोरीहरू पराइ हुँदैनन्। उनीहरू त मायाको अर्को अध्याय लेख्न नयाँ घर तिर जाने यात्री मात्र हुन्। एउटै रूखको बिरुवा अर्को बगैँचामा रोपिए पनि त्यसको जरा जन्मिएको माटोसँग कहिल्यै अलग हुँदैन। त्यसैले तिमी जहाँ भए पनि, तिम्रो पहिलो परिचय हाम्रो छोरी नै हौं।

छोरी, बिहे जीवनको अन्त्य होइन, नयाँ यात्राको सुरुआत हो। त्यो यात्रामा कहिलेकाहीँ फूलका बाटाहरू भेटिन्छन्, कहिलेकाहीँ काँडाका। सुख आउँछ, दुःख पनि आउँछ। हाँसो आउँछ, आँसु पनि आउँछन्। तर याद राख, जीवनलाई महान् बनाउने कुरा समस्या नआउनु होइन, समस्याको बीचमा पनि आफ्नो विवेक, धैर्य र मानवीयता जोगाइ राख्नु हो। नयाँ घरमा सबैको मन जित्ने प्रयास गरेकी छौं। तर सबैको मन जित्ने क्रममा आफ्नो मनलाई पनि कहिल्यै हार्न् दिनु हुदैन। सबैलाई सम्मान गर, तर आफ्नो आत्मसम्मानलाई कहिल्यै सम्झौतामा नराख। मिठो बोली बोल, तर सत्य बोल्न डराउनु हुँदैन। विनम्र बन, तर कमजोर होइन। सहनशील बन, तर अन्याय सहिरहने होइन। सम्झनू, मायाले सम्बन्ध बाँध्छ, तर सम्मानले त्यसलाई टिकाइ राख्छ। घर ठूलो भएर परिवार ठूलो हुँदैन, हृदय ठूलो भएर परिवार ठूलो हुन्छ। त्यसैले घरमा मतभेद आए पनि मनभेद नबनाऊ। रिसको आगोले बोलेका शब्दले वर्षौँ लगाएर बनाएका सुन्दर सम्बन्धहरू एकै छिनमा खरानी बन्न सक्छन्। त्यसैले बोल्नु अघि सोच, रिसाउनु अघि बुझ, निर्णय गर्नु अघि सबै पक्षलाई सुन्न सिक।

छोरी, सम्झौता गर्नु कमजोरी होइन। परिवारका लागि कहिलेकाहीँ आफ्नो अहंकार त्याग्नु सबैभन्दा ठूलो साहस हो। तर सम्झौता र आत्मसमर्पण बीचको भिन्नता सधैं बुझ। जहाँ प्रेम छैन, जहाँ विश्वास छैन, जहाँ सम्मान छैन, त्यहाँ मौन भएर सबै कुरा सहिरहनु कुनै धर्म होइन। तिमी कसैकी श्रीमती हौ, कसैकी बुहारी हौ, भविष्यमा कसैकी आमा पनि बन्नेछौं। तर यी सबै भन्दा पहिले तिमी आफ्नो अस्तित्व भएकी एउटा पूर्ण व्यक्ति हौ।

आफ्नो परिचय, आफ्नो सपना, आफ्नो शिक्षा, आफ्नो क्षमता र आफ्नो आत्मविश्वासलाई कहिल्यै हराउन नदिनु। संसारलाई उज्यालो दिने दियोले आफ्नै बाती निभ्न दिनु हुँदैन।

आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्यौ भने त्यो केवल तिम्रो सफलताको कुरा होइन, त्यो तिम्रो आत्मसम्मानको सुरक्षा पनि हो। ज्ञान सिकिरहनु, पढिरहनु, नयाँ कुरा बुझिरहनु। समयसँगै परिवर्तन हुन जान्ने मानिस नै जीवनमा धेरै अघि बढ्छ छोरी। माइती तिमीलाई केवल जन्म दिने घर होइन, थाकेको मनलाई निर्धक्कसॅग बिसाउने चौतारी पनि हो। यहाँ आउने बेला “म बोझ हुन्छु कि?” भनेर कहिल्यै नसोच्नु। यो घरका ढोका तिम्रा लागि कहिल्यै बन्द हुँदैनन्।

हाम्रो माया तिम्रो वैवाहिक अवस्थाले होइन, तिम्रो अस्तित्वले बाँधिएको छ। तर माइतीको माया भन्दै आफ्नो कर्मघर प्रतिको जिम्मेवारी नबिर्स। र कर्मघरको जिम्मेवारी भन्दै माइतीसँगको आत्मीयता पनि नतोड। जीवनको सन्तुलन यही हो। दुवै घरलाई समान माया, समान सम्मान र समान अपनत्व दिन सक्नु। समाजका सबै आमाबुबालाई पनि मेरो एउटै आग्रह छ।

छोरीलाई केवल “राम्रो बुहारी” बन्न सिकाएर मात्र पुग्दैन। उसलाई आत्मनिर्भर बन्न सिकाऔँ। आफ्नो निर्णय आफैँ लिन सक्ने साहसी बनाऔं। सम्मान माग्न होइन, सम्मान कमाउन सिकाऔँ। छोरा र छोरी बीचको विभेद होइन, समान अवसरको संस्कार दिऔँ। किनकि एउटी शिक्षित, आत्मसम्मानी र संस्कारी छोरीले एउटा परिवार मात्र होइन, पुस्तौँसम्मको भविष्य बदल्न सक्छिन्। र समाजका सबै सासू-ससुराहरूलाई पनि मेरो एउटा सानो अनुरोध छ। बुहारीलाई केवल जिम्मेवारीको भारी नदिनुहोस्, अपनत्वको आधार पनि दिनुहोस्। उनी कसैको मुटुको टुक्रा भएर हजुरहरूको घरमा आएकी हुन्। उनलाई सेविका होइन, छोरी जस्तै सम्मान दिन सक्नुभयो भने त्यो घर साँच्चि कै स्वर्ग बन्न धेरै समय लाग्दैन।

प्रिय छोरी, जीवनमा धेरै मानिस भेटिनेछन्। कसैले तिमीलाई माया गर्नेछन्, कसैले बुझ्नेछन्, कसैले गलत पनि बुझ्नेछन् । तर सबैलाई खुसी पार्ने प्रयासमा आफूलाई दुःखी नबनाउनु। किनकि संसारको सबैभन्दा कठिन काम भनेको सबैको अपेक्षा पूरा गर्नु हो। त्यसैले सत्य, इमानदारी र सद्भावको बाटो नछोडी आफ्नै विवेकलाई साथी बनाएर अघि बढिरहनू। आज तिमी टाढा छौ, तर हरेक बिहान मेरो प्रार्थनामा तिम्रो नाम हुन्छ। हरेक साँझ मेरो आशीर्वाद तिमीलाई नै खोजिरहेको हुन्छ। आमाको माया दूरीले मापन हुँदैन। त्यो त साससँगै बाँच्ने भावना हो।

अन्त्यमा,
मेरो लागि तिम्रो सिउँदोको सिन्दूर भन्दा, तिम्रो अनुहारको मुस्कान ठूलो छ। तिम्रा गहना भन्दा तिम्रो आत्मविश्वास सुन्दर छ।
तिम्रो घरको वैभव भन्दा तिम्रो मनको शान्ति मूल्यवान् छ।
र तिमीले संसारलाई जित्नु भन्दा पहिले आफ्नै मनलाई जित्न सक्यौ भने, म आमाको जीवन सफल भएको ठान्नेछु।

याद राख छोरी, तिमी कसैको घरमा पुगेर पराइ भएकी होइनौ,
तिमी त दुईवटा परिवारलाई प्रेमले जोड्ने एउटा पवित्र पुल बनेकी हौ। तिमी त मायाको भाषा हौ, संस्कारको सुवास हौ, आशाको उज्यालो हौ र एउटी आमाको जीवन भरिको प्रार्थना हौ। तिमी जहाँ रहे पनि, ईश्वरले तिम्रा पाइला सधैं सही बाटोमा डोर्‍याऊन्। तिम्रो आँखा सधै सपनाले भरिरहुन्, तिम्रो मन आत्मविश्वासले उज्यालो भइरहोस् र तिम्रो जीवन प्रेम, सम्मान, स्वास्थ्य, सद्भाव र सुखले सधैं भरिपूर्ण रहोस्। असीम माया, आशीर्वाद र विश्वास सहित तिम्री आमा। -पारू❤️

  • १८ असार २०८३, बिहीबार प्रकाशित

  • Nabintech