नेपालगञ्जकी पहिलो महिला नगर प्रमुख

दिक्षा बि.सि.

इतिहास केवल मिति र घटनाहरूको संग्रह होइन, समाजलाई दिशा दिने साहसी व्यक्तित्वहरूको कथा पनि हो । नेपालगञ्जको इतिहासमा त्यस्तै एक प्रेरणादायी नाम हो—गीता राणा । नेपालगञ्जको इतिहासमा गीता राणाको नाम सधैं सम्मान, गौरव र प्रेरणाका साथ स्मरण गरिनेछ ।

त्यो समय, जब महिलाहरूका लागि सार्वजनिक जीवनमा पाइला टेक्न नै कठिन मानिन्थ्यो, गीता राणाले समाजका सबै चुनौतीलाई चिर्दै वि.सं. २०२२ सालमा नेपालगञ्ज नगर पञ्चायतको प्रधानपञ्च (हालको मेयरसरह) बनेर नयाँ इतिहास रच्नुभयो । उहाँ नेपालगञ्जको नेतृत्व सम्हाल्ने पहिलो महिला बन्नुभयो ।

त्यसपछि वि.सं. २०२४ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुँदै उहाँ बाँके जिल्लाबाट राज्यको सर्वोच्च विधायिकी निकायमा पुग्ने पहिलो महिला पनि बन्नुभयो । उहाँको यो यात्रा केवल व्यक्तिगत सफलता थिएन, यो त नेपाली महिलाको क्षमता, साहस र नेतृत्वमाथिको विश्वासको विजय थियो ।

श्री ३ महाराज देव शमशेर जंगबहादुर राणाका नातिनी बुहारी तथा नेपालगञ्जको चर्चित होटल स्नेहका संस्थापक परिवारकी सदस्य गीता राणाले आफ्नो कर्मबाट समाजमा सम्मानित पहिचान बनाउनुभयो। उहाँ अशित शमशेर राणाकी आमा हुनुहुन्थ्यो, र यही परिवारबाट पछि धवल शमशेर राणा दुई पटक नेपालगञ्जको मेयरमा निर्वाचित हुनुभयो ।

समय बदलिएको छ, पुस्ता फेरिएका छन्, तर इतिहासमा साहसका पदचिन्ह कहिल्यै मेटिँदैनन् । गीता राणाले देखाएको नेतृत्व, आत्मविश्वास र समर्पण आज पनि नेपालगञ्जका छोरी–बुहारी तथा नयाँ पुस्ताका महिलाका लागि प्रेरणाको उज्यालो दीप बनेर चम्किरहेको छ ।

  • २५ असार २०८३, बिहीबार प्रकाशित

  • Nabintech