नेपालगञ्ज / पोखरा महानगरपालिका वडा नं. २३ को आयोजनामा पर्यापर्यटन: सम्भावना र चुनौती” विषयक अन्तरक्रियात्मक कार्यक्रम शनिबार वडा नं. २३ स्थित रैकर गाउँमा रहेको एकता आमा समूहको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपालसँगको सहकार्य तथा स्वतन्त्र पत्रकार संघ कास्कीको व्यवस्थापनमा सम्पन्न भएको हो।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सचिव कल्याण पन्तले कार्यपत्र प्रस्तुत गर्दै पर्यापर्यटनले प्राकृतिक सम्पदा, जैविक विविधता, स्थानीय संस्कृति र परम्पराको संरक्षणसँगै स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। उहाँले पर्यावरण संरक्षण र पर्यटन विकासलाई सन्तुलित रूपमा अघि बढाउन स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. २३ का वडाध्यक्ष रामकाजी गुरुङले वडा नं. २३ प्राकृतिक, सांस्कृतिक तथा ग्रामीण पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको उल्लेख गर्दै यसको दिगो विकासका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले स्थानीय होमस्टे, पर्यटकीय पदमार्ग, प्राकृतिक सम्पदा र सामुदायिक सहभागितालाई जोडेर पर्यापर्यटन प्रवर्द्धन गरिने जानकारी दिए ।
सो अबसरमा संघको बार्षिक पत्रीका स्वतन्त्र सन्देशको लोकार्पण पनि गरिएको थियो ।
विशेष अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पर्यापर्यटनको प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताउँदै स्थानीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन पत्रकारिता प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरे।
कार्यक्रममा वडा सदस्यहरू शान्ति शर्मा, रीता सुनार र धनबहादुर गुरुङ, वरिष्ठ पत्रकार नारायण कार्की, होमस्टे संचालक बिकास मगरलगाएतले ग्रामीण पर्यटन बिकासमा राज्यको निति पर्यापर्यटन मैत्री हुनुपर्ने बताएका थिए ।
कार्यक्रम संयोजक तथा वडा सदस्य चेतबहादुर क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्की जिल्ला कार्यसमितिका अध्यक्ष डिल्लीराम काफ्लेले स्वागत मन्तव्य राख्नु भएको थियो ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष तिर्सना लक्ष्मी गुरुङ, महासचिव सुरेश श्रेष्ठ, कोषाध्यक्ष नमस्कार शाह, सदस्यहरु सागर कार्की, युक्त प्रसाद सुबेदि, प्रेम ध्वज लामा, सुरेश सैंजु, जिल्ला शाखाका सचिव मदन राज जैसी, सदस्यहरु मान बहादुर थापा, दुर्गा बास्तोला, मेघा एफएमका प्रबन्ध निर्देशक देशभक्त कुँवर, पत्रकार सुमन केसी र उषा सिग्देल, नेपाल टेलिभिजनका उजिर बिक, प्राध्यापक कृष्ण बास्तोला, विश्वलाल श्रेष्ठ तथा चापाकोट देउराली सामुदायिक होमस्टेका सञ्चालकहरू, एकता आमा समूहका पदाधिकारी तथा सदस्यहरू र स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय आमा समुहले मौलिक सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य तथा दरबार न्यूज डटकमका सञ्चालक कृष्ण रानाभाटले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरूले पर्यापर्यटन विकासका सम्भावना, चुनौती, पूर्वाधार विकास, वातावरण संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन तथा सामुदायिक सहभागिताका विषयमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको समापनपछि सहभागीहरूले वडा नं. २३ मा रहेको बिकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा संचालित मनोक्रान्ती ध्यान केन्द्र, रैकर मगर गाउँ, बाम्दि, घाट्छिंदा, रैकर चापाकोट, मैदान पोखरी लगाएत विभिन्न रमणीय तथा पर्यटकीय स्थलहरूको स्थलगत दृश्यावलोकन गरेका थिए।
दृश्यावलोकनका क्रममा सहभागीहरूले उक्त क्षेत्रलाई पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न प्रशस्त सम्भावना रहेको निष्कर्ष निकाल्दै त्यसका लागि तीनै तहका सरकार, स्थानीय समुदाय र निजी क्षेत्रबीच समन्वय र सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिएका थिए।









