नेपालगञ्ज, साउन १५ / गत साउन १० गते सुनसरी जिल्लामा भएको घटनापछि विकसित परिस्थितिलाई दृष्टिगत गर्दै बाँकेमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्ने उद्देश्यले शुक्रबार सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेको समन्वयमा आयोजित बैठकमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख, विभिन्न धर्मका अगुवा, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख, गैरसरकारी संस्था महासंघ नेपाल बाँके, नेपाल पत्रकार महासंघ, विभिन्न संघ–संस्थाका प्रतिनिधि, जिल्ला बार तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो। बैठकको सहजीकरण प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले गरेका थिए।

बैठकमा गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका अध्यक्ष मन भण्डारी, उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव बसन्त गौतम, इन्सेकका भोला महत, नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ बाँकेका सचिव राजन राना मगर, शिव सेना बाँकेका केन्द्रीय सदस्य सुनिलराज केसी, राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका अध्यक्ष कृष्णप्रसाद खरेल, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, नेपाली कांग्रेस बाँकेका अध्यक्ष नारायणप्रसाद गौडेल, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम समुदायका मौलाना, केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिका अध्यक्ष फिरोज वरसी तथा धम्बोजी मोहर्रम समितिका अध्यक्ष मेराज हिमालय लगायतले आ–आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै त्यस्ता घटना नेपालगञ्जमा दोहोरिन नदिन सबै समुदायबीच सामाजिक एकता र धार्मिक सहिष्णुता अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। यसका लागि सामाजिक सद्भाव र्याली आयोजना गरी सबै समुदायलाई शान्ति, संयम र आपसी सम्मानको सन्देश दिनुपर्ने धारणा सहभागीहरूले राखेका थिए।
बैठकमा वक्ताहरूले सुनसरी घटनाको प्रमुख कारणमध्ये सार्वजनिक रूपमा उच्च आवाजमा डिजे बजाउने विषय पनि रहेको उल्लेख गर्दै नेपालगञ्जमा २०७२ सालदेखि नै ध्वनि प्रदूषण न्यूनीकरणका लागि सार्वजनिक स्थानमा डिजे बजाउन प्रतिबन्ध लगाउने निर्णय भइसकेको स्मरण गराउँदै त्यसको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका थिए।
बैठकमा प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राई, प्रदेशसभा सदस्य मिना श्रेष्ठ तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सहभागीहरूले उठाएका जिज्ञासा तथा सुझावहरू सम्बोधन गरेका थिए।
बैठकले साउन १० गते सुनसरी घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा साउन १४ गते सिराहामा मृत्यु भएका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।

यसैगरी, जिल्लामा कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै साउन १६ गते बिहान ७स्३० बजे नेपालगञ्जको बीपी चोकदेखि वीरेन्द्र चोकसम्म बृहत् सामाजिक सद्भाव र्याली आयोजना गर्ने निर्णय गरिएको छ।
बैठकले २०७२ सालदेखि विभिन्न सर्वदलीय बैठकबाट सार्वजनिक स्थानमा डिजे बजाउन पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने तथा गराउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै विभिन्न धार्मिक र्याली तथा जुलुसमा हातहतियार प्रदर्शन गर्न निषेध गर्ने र परम्परागत रूपमा हातहतियार प्रदर्शन गरिने भए त्यसको प्रतीकात्मक स्वरूप मात्र प्रयोग गर्ने निर्णय पनि गरिएको छ।
बैठकका सहभागीहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्नु सबै नागरिकको साझा दायित्व भएको उल्लेख गर्दै कुनै पनि अफवाह वा उत्तेजनात्मक गतिविधिमा नलाग्न तथा आपसी भाइचारा कायम राख्न सम्पूर्ण जिल्लावासीसँग आग्रह गरेका छन्।









