हरित नेपालगन्ज निर्माणमा साझाँ प्रतिबद्धता जरुरी छ

ज्योती दास

गर्मीको एक दिउँसो नेपालगञ्जको सडक हुँदै हिँड्दै गर्दा मलाई एउटा प्रश्नले बारम्बार झस्काइरह्यो ! के यो शहर अझै यस्तै तातो, धुलाम्मे र हरियाली विहीन बन्दै जाने हो । सडक किनारका केही थाकेका रुखहरू, बढ्दो कंक्रिटका संरचनाहरू र चर्को घामले मानौँ वातावरणकै पीडा बयान गरिरहेका छन । त्यो क्षण मैले महसुस गरेँ, यदि आज हामीले वातावरणका लागि केही गरेनौँ भने भोलिको नेपालगन्ज हरेक सजिब प्राणीकालागि अझ कठिन र असहज बन्न सक्छ ।
नेपालगन्ज केवल एउटा शहर होइन, यो हजारौँ सपनाहरूको संगम हो । यहाँको बजार, संस्कृति, विविध समुदाय र जीवन्तता हाम्रो पहिचान हो तर पछिल्ला वर्षहरूमा बढ्दो तापक्रम, फोहोर व्यवस्थापनको समस्या र हरियालीको अभावले यो सुन्दर शहरलाई चुनौतीको घेरामा पु¥याएको छ । यस्तो अवस्थामा हरित नेपालगन्ज निर्माण केवल सरकारी योजनाको विषय होइन, यो हामी युवाहरू र आम नागरिकको जिम्मेवारी पनि हो ।
युवा भनेको परिवर्तनको अर्को नाम हो, इतिहासले देखाएको छ कि समाजमा भएका धेरै सकारात्मक परिवर्तनको नेतृत्व युवाहरूले नै गरेका छन् । आज वातावरण संरक्षणको क्षेत्रमा पनि त्यही ऊर्जा, उत्साह र प्रतिबद्धताको आवश्यकता छ । हामीले एउटा रुख रोप्दा त्यो केवल बिरुवा रोप्नु मात्र होइन, भविष्यका लागि आशा रोप्नु हो । एउटा रुखले छायाँ दिन्छ, स्वच्छ हावा दिन्छ र प्रकृतिसँगको सम्बन्धलाई बलियो बनाउँछ ।
म कहिलेकाहीँ कल्पना गर्छु—यदि नेपालगञ्जका प्रत्येक युवाले वर्षमा कम्तीमा एक रुख रोपे र त्यसको संरक्षण गर्ने जिम्मा लिए भने केही वर्षमै शहरको स्वरूप कति परिवर्तन हुन्थ्यो होला ! सडकहरू हरियालीले ढाकिएका हुन्थे, गर्मी केही कम भएको महसुस हुन्थ्यो र वातावरण अझ स्वच्छ बन्थ्यो । सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वास यहींबाट सुरु हुन्छ ।
हरित नेपालगन्ज निर्माणका लागि वृक्षारोपण मात्र पर्याप्त छैन । वातावरणप्रति सचेतना फैलाउनु पनि उत्तिकै आवश्यक छ । आज सामाजिक सञ्जाल युवाहरूको शक्तिशाली माध्यम बनेको छ । यदि हामीले वातावरण संरक्षणका सन्देश, सकारात्मक अभ्यास र प्रेरणादायी अभियानहरू फैलाउन सक्यौँ भने त्यसको प्रभाव हजारौँ मानिससम्म पुग्न सक्छ । परिवर्तनको सुरुवात सधैँ ठूलो आन्दोलनबाट हुँदैन, कहिलेकाहीँ एउटा सानो सन्देशबाट पनि हुन्छ ।
फोहोर व्यवस्थापन अर्को महत्वपूर्ण पक्ष हो नेपालगन्जको, हामीले सडकमा फोहोर फाल्ने बानी त्याग्नुपर्छ र अरूलाई पनि त्यसका लागि प्रेरित गर्नुपर्छ । सफा शहर केवल सफाइकर्मीको जिम्मेवारी होइन, यो हरेक नागरिकको कर्तव्य हो । जब युवाहरू सरसफाइ अभियानमा सहभागी हुन्छन्, उनीहरूले केवल सडक सफा गर्दैनन्, समाजमा जिम्मेवारीको भावना पनि जगाउँछन् ।
जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती बनेको छ र यसको असर नेपालगञ्जमा पनि स्पष्ट देखिन थालेको छ । अत्यधिक गर्मी, अनियमित वर्षा र वातावरणीय असन्तुलनले हामीलाई सचेत गराइरहेको छ । यस चुनौतीसँग जुध्न युवाहरूले नयाँ सोच, प्रविधि र नवप्रवर्तनलाई अगाडि ल्याउनुपर्छ । वातावरण संरक्षण अब विकल्प होइन, आवश्यकता बनिसकेको छ । मलाई विश्वास छ, यदि आजका युवाहरूले प्रकृतिलाई माया गर्न सिके, वातावरणप्रति जिम्मेवार बने र हरियाली अभियानलाई जीवनशैलीकै हिस्सा बनाए भने नेपालगन्जको भविष्य उज्ज्वल हुने पक्काछ । हामीले भविष्यको पुस्तालाई केवल विकसित शहर होइन, स्वच्छ हावा, हरियाली र स्वस्थ वातावरण पनि हस्तान्तरण गर्नुपर्छ ।
अन्ततः, हरित नेपालगन्ज कुनै सपना मात्र होइन, यो हाम्रो सामूहिक प्रयासले सम्भव हुने यथार्थ हो । आज रोपिएको एउटा बिरुवा, आज गरिएको एउटा सचेत कदम र आज देखाइएको एउटा जिम्मेवार व्यवहारले भोलिको नेपालगन्जलाई हराभरा बनाउन सक्छ । त्यसैले म एक युवाको हैसियतले भन्न चाहन्छु-“नेपालगञ्जलाई हरित बनाउने यात्रा अरू कसैले होइन, हामी आफैँले सुरु गर्नुपर्छ ।”

  • लेखक ज्योती क्लिन अप नेपालमा टेक्निकल इन्जिनियरको पदमा कार्यरत हुनुहुन्छ ।

 

  • २८ श्रावण २०८३, बिहीबार प्रकाशित

  • Nabintech