घनघोर जंगलको बीचमा उभिएर प्रकृतिलाई नियाल्दा कहिलेकाहीँ एउटा अनौठो प्रश्न जन्मिन्छ । जहाँ न अदालत छ, न प्रहरी चौकी । न कानुनका दफा छन्, न संविधानका धारा । न न्यायालयको कठघरामा उभ्याउने व्यवस्था छ, न अपराध नियन्त्रण गर्ने कुनै संस्थागत संयन्त्र । एउटा जनावर आफ्नो सन्तान माथि खतरा देखे पछि आफूभन्दा शक्तिशाली प्राणीको अगाडि समेत ढाल बनेर उभिन्छ । आफ्नो बच्चाको सुरक्षाका लागि प्रकृतिले उनीहरू भित्र कस्तो अद्भुत ममता रोपिदिएको छ !
तर मानिस ?
विवेक, चेतना, शिक्षा, संस्कार र सभ्यताको सबै भन्दा ठूलो दाबी गर्ने मानिस भित्रै कहिलेकाहीँ यस्तो अन्धकार किन जन्मिन्छ, जसले एउटा अबोध बालिकाको बालापन, सुरक्षा, सपना र अन्ततः जीवन समेत खोसिदिन्छ ? कति भयावह विरोधाभास ! कति लज्जास्पद विडम्बना ! कति फरक रहेछ प्रकृति र मान्छेमा ! जसलाई हामी ‘हिंस्रक जनावर’ भन्छौँ, उसले आफ्नो सन्तान जोगाउन प्राणको बाजी लगाउँछ तर आफूलाई ‘मानव’ भन्ने कुनै विकृत मानसिकताको व्यक्ति एउटी अबोध बालिकाको अस्मिता र जीवन माथि क्रूरता गर्न पुग्छ । त्यस क्षण प्रश्न केवल अपराधको हुँदैन । प्रश्न त मानवताको परिभाषा माथि उठ्छ । ती सानी बालिकाले आखिर के अपराध गरेकी थिईन् ?
उनको के गल्ती थियो ? उनले त संसारलाई बुझ्न समेत भ्याएकी थिइनन् । जीवनका जटिलताहरू चिन्न अझै बाँकी थियो ।

उनका आँखामा भविष्यका असंख्य रङहरू थिए । उनका साना हातहरूले खेलौनासँग खेल्नुपर्ने थियो, किताबका पाना पल्टाउनुपर्ने थियो, आमाको औँला समातेर आँगनमा हिँड्नुपर्ने थियो । उनको संसारमा डर होइन, निद्रा हुनुपर्ने थियो । आँसु होइन, हाँसो हुनुपर्ने थियो । उनले त अझै जीवनसँग परिचय गर्नै बाकी थियो तर एउटा विकृत मानसिकताले उनको सम्पूर्ण सम्भावनाको ढोका सदाका लागि बन्द गरिदियो । उनले केवल एउटा जीवन खोसेनन् । उनले एउटा बाल्यकालको हत्या गरे । एउटा परिवारको भविष्यमा अँध्यारो खन्याइदिए । एउटा आमाको काख रित्याईदिए । एउटा बाबुको सपना चुँडाइदिए । एउटा घरको हाँसो मौन बनाइदिए । हे क्रूरताको अन्धकारमा डुबेको मनुष्य ! तिमीहरूले एउटा बालिकाको जीवन मात्र खोसेका छैनौ । तिमीले एउटा आमाको मुटुको टुक्रा चुँडेका छौ । एउटा बाबुको आशा भत्काएका छौ । एउटा परिवारको संसार उजाडेका छौ र मानवताको अनुहारमा यस्तो दाग लगाएका छौं, जुन शब्दले सजिलै पखाल्न सकिदैन ।
मानिस हुनु भनेको केवल दुई खुट्टामा हिँड्नु होइन । मानिस हुनु भनेको भाषा बोल्न सक्नु मात्र होइन । ज्ञानका प्रमाणपत्र थुपार्नु, सभ्यताको दाबी गर्नु वा आधुनिक वस्त्र लगाउनु पनि मानवताको प्रमाण होइन । मानवता त त्यति बेला देखिन्छ, जब शक्तिशाली वर्गले कमजोरको रक्षा गर्छ । मानवता त्यतिबेला देखिन्छ, जब अर्काको पीडामा आफ्नो हृदय दुख्छ । मानवता त्यतिबेला देखिन्छ, जब एउटा अबोध बालिकालाई आफ्नै सन्तान झैँ सुरक्षित राख्ने संस्कार जाग्छ तर जहाँ सम्वेदना मर्छ, त्यहाँ शिक्षाले पनि आफ्नो अर्थ गुमाउँछ । जहाँ विवेक सुक्छ, त्यहाँ सभ्यताको चमक केवल बाहिरी आवरणमा सीमित हुन्छ । ती बालिकाले जीवनसँग हार मानेकी थिइनन् ।
मान्छेहरूले उनको जीवन खोसेका हुन। यो वाक्य आफैँमा एउटा सम्पूर्ण सामाजिक अभियोग हो । एउटी बालिकाको मृत्यु कुनै एक परिवारको निजी दुःख मात्र होइन । त्यो समाजको सामूहिक असफलताको दस्तावेज हो । त्यो हाम्रो संस्कार, पारिवारिक चेतना, सामाजिक संरचना, सुरक्षा प्रणाली र कानुनी कार्यान्वयन सबै माथि उठेको प्रश्न हो। हामी घटना भए पछि आक्रोशित हुन्छौँ। सामाजिक सञ्जालमा आफ्ना शब्दहरू स्टाटस मार्फत पोख्छौँ । केही दिनसम्म न्यायका नाराहरू घन्काउछौं । अपराधीलाई कठोर भन्दा कठोर सजायको माग राखिन्छ । सहरका चोकमा मोमबत्ती बालेर शोक मनाइन्छ । सोसल मिडीयामा पोस्टरहरू बनेर पोष्ट हुन्छन् । अनि समय बित्दै जाँदा अर्को घटना नआएसम्म हाम्रो संवेदना फेरि निदाउँछ। के यही हो हाम्रो सामाजिक चेतना ?
एउटा बालिकाको मृत्युले केही दिन हामीलाई भावुक बनाउने, तर त्यसपछि सामान्य जीवनमा फर्किने ? यदि त्यसो हो भने हामीले आँसु बगाउन मात्र सिकेका छौँ, परिवर्तन ल्याउन अझै सिकेका छैनौँ । बालिकाहरूलाई सुरक्षित राख्ने नाममा उनीहरूलाई डराउन सिकाएर मात्र समाज सुरक्षित हुँदैन । ‘एक्लै नहिँड’, ‘अपरिचितसँग नबोल’, ‘सावधान बन’ भनेर छोरीहरूलाई मात्र सुरक्षा जिम्मा लगाएर पुग्दैन । प्रश्न हाम्रा छोराहरूलाई पनि सोधिनुपर्छ । तिमीहरूले महिलाहरूलाई मानिसका रूपमा सम्मान गर्न सिकेका छौ ? हामीले छोरीहरूलाई मात्र संस्कार सिकाउने समाज बनायौँ भने हाम्रो शिक्षा अधुरो हुनेछ । संस्कारको पहिलो पाठ छोरीहरूका लागि मात्र होइन, छोराहरूका लागि पनि उत्ति कै आवश्यक छ।छोरीहरूलाई चुप लाग्न सिकाउनुको सट्टा छोराहरूलाई मर्यादा सिकाउनुपर्छ ।
छोरीहरूलाई डर देखाउनुको सट्टा छोराहरूलाई जिम्मेवारी बुझाउनुपर्छ । सुरक्षित हुनु पाउनु प्रत्येक बालबालिकाको जन्म सिद्ध अधिकार हो । कानुन कडा हुनुपर्छ तर कागजमा मात्र होइन, व्यवहारमा। अपराधी शक्तिशाली होस् वा सामान्य, चिनजानको होस् वा अपरिचित, पहुँच भएको होस् वा पहुँचविहीन। अपराधको प्रकृति हेरेर न्यायको मापदण्ड बदलिनु हुँदैन । पीडितले न्याय पाउनुपर्छ । परिवारले राज्यको साथ पाउनुपर्छ। अपराधीले कानुन अनुसार कठोर दण्ड सजाय पाउनुपर्छ तर दण्ड पछि पनि एउटा प्रश्न बाँकी रहन्छ । यस्ता अपराधी जन्मिन नदिने समाज हामीले कहिले बनाउने ?
अभिभावकहरूले बालबालिकाहरूसँग खुलेर कुरा गर्नुपर्छ । उनीहरूको असहजता सुनिदिनु पर्छ । उनीहरूले व्यक्तगर्न खोजेका साना संकेतलाई पनि गम्भीरता पूर्वक लिनुपर्छ। ‘ठूला मान्छेले जे गर्छन् ठीकै गर्छन्’ भन्ने संस्कार तुरुन्त बदल्नुपर्छ । नाता सम्बन्ध, प्रतिष्ठा वा सामाजिक दबाबका नाममा बालबालिकाहरूको आवाज दबाउने प्रवृत्ति विरुद्ध खुलेर उभिनुपर्छ। किनकि अपराधी सधैँ अँध्यारो गल्लीमा लुकेको अपरिचित हुँदैन । कहिलेकाहीँ खतरा परिचित अनुहारको आवरणमा पनि आउन सक्छ । त्यसैले बालसुरक्षा केवल प्रहरीको जिम्मेवारी होइन । यो हामी परिवारको जिम्मेवारी हो। विद्यालयको जिम्मेवारी हो । समुदायको जिम्मेवारी हो। राज्यको जिम्मेवारी हो। र अन्ततः हामी सबैको नैतिक दायित्व हो । आज जंगल सम्झिन्छु । त्यहाँ एउटा आमा जनावर आफ्नो बच्चाको वरिपरि घुमिरहेकी हुन्छे । खतरा आयो भने ऊ पछाडि हट्दिन। आफ्नो शरीरलाई नै सुरक्षा कवच बनाउँछे । त्यो दृश्य हेर्दा लाग्छ ।
प्रकृति शायद हामी भन्दा धेरै संवेदनशील छ। हामीले ‘जनावर’ भनेर हेपेका प्राणी भित्र पनि मातृत्वको मूल्य बाँचेको छ । तर हामीले ‘मानव’ भनेर गर्व गर्ने समाजमा कहिलेकाहीँ बालिकाको बालापन समेत असुरक्षित हुन्छ । प्रकृतिले काख दिन्छ, मान्छेले कहिलेकाहीँ त्यही काख उजाड्छ । प्रकृतिले जीवन जोगाउँछ, मान्छेले कहिलेकाहीँ जीवन खोस्छ । प्रकृतिले कमजोरलाई आफ्नो नियम भित्र संरक्षण गर्छ, मान्छेले कहिलेकाहीँ कमजोर माथि नै शक्ति प्रदर्शन गर्छ । त्यसैले आज प्रश्न अपराधी माथि मात्र होइन। प्रश्न हामी माथि पनि छ ।
हामी कस्तो समाज निर्माण गर्दैछौँ ? हाम्रा छोरीहरूले कस्तो संसार पाउनेछन् ? हामीले उनीहरूलाई भविष्यको सपना देख्न सिकाउँदैछौँ कि डरभित्र बाँच्न ? हामीले घरका ढोका बन्द गरेर सुरक्षा खोजिरहेका छौँ कि समाजका सोचका ढोका खोलिरहेका छौँ ? कहिलेसम्म एउटा बालिका पीडित भएपछि मात्र हाम्रो विवेक जाग्ने ? कहिलेसम्म एउटा चिताको धुवाँले केही दिनका लागि मात्र हाम्रो चेतना तताउने ? कहिलेसम्म एउटा आमाको चित्कार समाचारको शीर्षक बन्ने ? केही दिनपछि अर्को समाचारले त्यसलाई विस्थापित गर्छ ? अब मौनताको समय सकिनुपर्छ। हामीले अपराधीको मात्र विरोध गरेर पुग्दैन । अपराधलाई जन्म दिने मानसिकताको पनि प्रतिरोध गर्नुपर्छ ।
हामीले छोरीहरूको सुरक्षाका लागि आवाज उठाउँदा केवल एउटा घटनाको विरोध गरिरहेका हुँदैनौँ । हामी एउटा यस्तो सामाजिक संरचनाको पक्षमा उभिरहेका हुन्छौँ, जहाँ बालिका हुनु अपराध नहोस्, महिला हुनु कमजोरी नठानियोस् र कसैको शरीर माथि उनको इच्छा विपरीत अधिकार जमाउने दुस्साहसलाई सामान्य मान्ने संस्कारको अन्त्य होस् ।
एउटी बालिकाको हाँसो कुनै घरको मात्र सम्पत्ति होइन । त्यो समाजको भविष्य हो । उनका आँखामा देखिएको सपना केवल उनका आमाबाबुको सपना होइन । त्यो राष्ट्रको सम्भावना हो । त्यसैले जब एउटा बालिकाको भविष्य हिंसाले समाप्त हुन्छ, वास्तवमा एउटा परिवार मात्र रोइरहेको हुँदैन। समाजको सम्भावना रोइरहेको हुन्छ । हामीले यो पीडालाई केवल शोकमा सीमित राख्नु हुँदैन। यसलाई संकल्पमा बदल्नुपर्छ ।
आक्रोशलाई चेतनामा बदल्नुपर्छ । आँसुलाई जिम्मेवारीमा बदल्नुपर्छ र हरेक बालिकालाई यस्तो विश्वास दिलाउन सक्ने समाज निर्माण गर्नुपर्छ, “तिमी डराएर होइन, निर्धक्क भएर बाँच्न जन्मेकी हौ ।” “मान्छे भनिने प्राणी, तिमी भित्रको मानवता कहाँ हरायो?” यो प्रश्नको उत्तर अपराधीले मात्र दिनुपर्ने होइन ।
हामी सबैले दिनुपर्छ । राज्यले दिनुपर्छ । समाजले दिनुपर्छ । परिवारले दिनुपर्छ । शिक्षाले दिनुपर्छ र हाम्रो मौनताले पनि दिनुपर्छ । अपराधीलाई कानुनले सजाय देओस्। न्यायिक प्रक्रियाले सत्य स्थापित गरोस् । दोष प्रमाणित भए पछि कानुन अनुसार कठोरतम दण्ड होस् तर हाम्रो सामाजिक चेतनाले पनि यस्तो अपराधलाई कहिल्यै सामान्य नठानोस् । किनकि एउटा बालिकाको रगत केवल जमिनमा बग्दैन। त्यसले समाजको अन्तस्करणमा प्रश्न लेख्छ । जबसम्म हरेक छोरीहरूले सुरक्षित भएर विद्यालय जान, खेल्न, हाँस्न, सपना देख्न र आफ्नो भविष्य रोज्न सक्ने वातावरण पाउँदिनन् । त्यतिबेलासम्म हाम्रो सभ्यता अधुरो छ । त्यतिबेलासम्म हाम्रो विकास अधुरो छ । त्यतिबेलासम्म हाम्रो शिक्षा अधुरो छ र त्यतिबेलासम्म ‘सभ्य समाज’ भन्ने हाम्रो दाबी पनि अधुरै रहनेछ। कति फरक छ प्रकृति र मान्छेमा !
प्रकृतिले जीवनलाई आफ्नो निरन्तरताका रूपमा जोगाउँछ । एउटा नाबालकलाई सुरक्षित महसुस गरायो। घनघोर जंगल, जीवजन्तु सवैबाट प्रकृतिको काखमा जोगिएका ती बालक र मान्छेको काखबाट जीवन समाप्त भएकी ती बालिका । धिक्कार छ पापी मनुष्यलाई । जसले एक अबोध बालिका माथि यति क्रुर र निन्दनीय कार्य गरे तर अझै ढिलो भएको छैन ।
हामी बदलिन सक्छौैं हाम्रो घर बदलिन सक्छ । हाम्रो शिक्षा बदलिन सक्छ। हाम्रो कानुनी कार्यान्वयन बदलिन सक्छ । हाम्रो सामाजिक चेतना बदलिन सक्छ र सबैभन्दा ठूलो कुरा हाम्रो सोच बदलिन सक्छ ।
आउनुहोस्, एउटा प्रण गरौँ, अब कुनै छोरीको आँसु सामान्य समाचार नबनोस् । कुनै बालिकाको मृत्यु केही दिनको सामाजिक सञ्जालको आक्रोशमा सीमित नहोस् । कुनै अपराधी पहुँच, प्रभाव, सम्बन्ध वा सामाजिक प्रतिष्ठाको आवरणमा उम्कन नपाओस् । कुनै बालिकाले आफ्नो सुरक्षाका लागि आफ्नो स्वतन्त्रता त्याग्नु पर्ने अवस्था नआओस् । र कुनै आमाले आफ्नो काख रित्तिएको पीडा लिएर न्यायका लागि वर्षौँ न्यायलयको ढोकामा भौँतारिनु नपरोस् । जब एउटा बालिका सुरक्षित भएर हाँस्छिन्, त्यहाँ मानवता बाँचेको हुन्छ । जब एउटा बालिका डरविना विद्यालय जान्छिन्, त्यहाँ सभ्यता बाँचेको हुन्छ । जब एउटी छोरीले आफ्नो सपना निर्धक्कसँग देख्न पाउँछिन, त्यहाँ राष्ट्रको भविष्य सुरक्षित हुन्छ । त्यसैले, हामीले यस्तो समाज बनाउनै पर्छ जहाँ जंगलको जनावरले आफ्ना सन्तानलाई जोगाएको देखेर मानवता माथि प्रश्न गर्न नपरोस् ।
जहाँ प्रकृतिलाई हेरेर हामीले लज्जित हुँदै भन्नु नपरोस् । “प्रकृति त हामीभन्दा धेरै मानवीय रहेछस् ।” र ती सानी बालिकाको मौनताले हामीलाई यही सम्झाइरहोस्, छोरीलाई सुरक्षित राख्नु दया होइन, अधिकारको सम्मान हो। बालिकाको रक्षा गर्नु उपकार होइन, मानवताको न्यूनतम कर्तव्य हो ।
अपराध विरुद्ध उभिनु विकल्प होइन, सभ्य समाजको अनिवार्य जिम्मेवारी हो । जब एउटा अबोध बालिका सुरक्षित भएर हाँस्न सक्ने संसार निर्माण हुनुपर्छ, त्यही दिन देखि मात्र हामीले गर्वका साथ भन्न सक्नेछौँ हो, अब हामी साँच्चै मानिस भएका छौँ ।









