स्पा सञ्चालक पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा सञ्चालित दुई स्पाबाट सात बालिकाको उद्धार गरिएको छ भने तीन जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित तीन जना रहेका छन् ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु तथा नेपालगन्ज उपमहानगरपालिका–२ स्थित रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन्।

विशेष सूचनाका आधारमा प्रहरीले ती स्पा सेन्टरमा जाँच गर्दा काममा लगाइएका सात बालिका फेला परेपछि उनीहरूको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रहरीले स्पा सञ्चालकहरूलाई शनिबार पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम अनुसन्धान भइरहेको छ। उनीहरूलाई सोमबार जिल्ला अदालत बाँकेबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

पछिल्लो समय नेपालगन्जका विभिन्न स्थानमा स्पा सेन्टर सञ्चालन हुने क्रम बढिरहेका बेला प्रहरीले विशेष निगरानी तथा अनुगमनलाई समेत तीव्र बनाएको जनाएको छ।

  • ९ भाद्र २०८३, मंगलवार प्रकाशित

  • Nabintech