काठमाडौं /रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि मृत्यु हुनेको संख्या १६२ पुगेको छ। बिहीबार बिहान ५ बजेसम्मको नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार बाढी प्रभावित आठ जिल्लाबाट उक्त संख्या शव फेला परेको हो।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ। बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।
प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले पाँचवटा हेलिकोप्टर परिचालन गरेको जनाएको छ। बिहीबार बिहानसम्म सेनाले विभिन्न स्थानबाट ९७ जनाको उद्धार गरेको छ। जसमध्ये मैलुङको टनेल क्षेत्रबाट ३ जना र टिमुरेबाट १४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ भने अन्य प्रभावितहरूलाई स्थलमार्गबाट सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ।
नुवाकोटदेखि चितवनसम्मका प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणका लागि २ हजारभन्दा बढी नेपाली सेना परिचालन गरिएको छ। गएराति मात्रै सेनाका ११ वटा टोलीले जमिनबाट उद्धार कार्य सञ्चालन गरेका थिए।
त्यस्तै, सेनाले ११ वटा ट्रकमार्फत आवश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइरहेको जनाएको छ। हालसम्म चार सटल राहत सामग्री टिमुरे पुगिसकेको छ। नेपाली सेनाको मेडिकल टोलीले त्रिशूली क्षेत्रमा घाइतेहरूको उपचारसमेत गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा अझै पनि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा प्रभावितको संख्या थपघट हुन सक्ने बताइएको छ।









