कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मैगल बहादुर शाहीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का रोका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रुकुम पश्चिमकै कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हुम्लाकी जुम्कित लामा नियुक्त भएका छन् । तीनै जना नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्री बनेका हुन्।
७ सदस्यीय कर्णालीको मन्त्रिपरिषदमा भदौ ३ गते नेकपा एमालेबाट ३ जना मन्त्रीमा नियुक्त भएका थिए। एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा टेकराज पछाई, सामाजिक विकासमन्त्रीमा जीतबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा कलबहादुर हमाल नियुक्त भएका छन्।
७ सदस्यीय मन्त्रिपरिषदमा २ जना यसअघि मन्त्री भइसकेका थिए भने बाँकी पहिलो पटक मन्त्री बनेका छन्। टेकराज पछाईसँग यसअघि सामाजिक विकास मन्त्रालय र जीतबहादुर मल्लसँग उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव छ ।
मुख्यमन्त्री शाही स्वयं पनि यसअघि भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री भइसकेका व्यक्ति हुन्। मन्त्री नियुक्त भएकामध्ये लामा, खड्का, रोका र हमाल समानुपातिक कोटाबाट सांसद बनेका हुन् भने बाँकी प्रत्यक्ष निर्वाचित सांसद हुन् । नेकपा एमालेको समर्थनमा साउन १२ गते शाही मुख्यमन्त्री नियुक्त भएका हुन्।









