काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार विभिन्न बैंक, वित्तीय संस्था तथा निजी क्षेत्रका कम्पनीहरूले कोषमा सहयोग रकम प्रदान गरेका छन्। सबैभन्दा धेरै गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड रुपैयाँ, नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ र कुमारी बैंकले ३ करोड रुपैयाँ सहयोग प्रदान गरेका छन्। निफ्रा बैंकले २ करोड ५० लाख रुपैयाँ तथा एनआईसी एसिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको अर्थ मन्त्रालयले जनाएको छ।
यस्तै, सारस बेभरेज (रेडबुल) ले २ करोड रुपैयाँ र एनसेलले १ करोड रुपैयाँ सहयोग प्रदान गरेका छन्। शिव शक्ति ग्रुपले ५१ लाख रुपैयाँ तथा रिलायन्स सुगर मिल तथा केमिकल इन्डस्ट्रिजले १० लाख रुपैयाँ सहयोग गरेका छन्।
विपद्बाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको अर्थ मन्त्रालयले जनाएको छ।









