काठमाडौं /रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ५४७ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै, १ हजार ४ सय ८३ जनाको घाइते तथा उद्धार गरिएको विवरणमा उल्लेख छ। बाढीपछि २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। तीमध्ये एक जना प्रहरी कर्मचारीको शव फेला परेको छ।
फेला परेका शवमध्ये रसुवामा १३, धादिङमा ४०, गोरखामा ४४, नवलपरासी पूर्वमा १३४, नुवाकोटमा ३८, चितवनमा २२१, तनहुँमा २९ र नवलपरासी पश्चिममा २८ जना रहेका छन्।
त्यस्तै, रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जनाको उद्धार गरिएको विवरणमा उल्लेख छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेको संख्या ९४ जना रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा सम्पर्कविहीनको खोजी, शव खोज तथा पहिचान र घाइतेको उद्धार कार्यलाई प्रहरीले निरन्तरता दिएको छ।









