रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएका दुई जनामा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जन रहेका छन्। साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा आयोजनामा कार्यरत थिए।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा प्राविधिक काममा खटिएका उनीहरू सुरुङभित्र थुनिएका थिए। लामो समयपछि उद्धार टोलीले दुवै जनालाई जीवितै बाहिर निकाल्न सफल भएको हो।
उद्धारपछि दुवै जनालाई आवश्यक उपचार तथा स्वास्थ्य परीक्षणका लागि लगिएको छ। १० दिनसम्म सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार भएपछि घटनास्थलमा उद्धारमा खटिएका टोली तथा आफन्तमा समेत राहतको महसुस भएको छ।









