भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले घर बगाएपछि मृत ठानेर काजकिरिया गरिरहेकी नुवाकोटको बेत्रावतीकी ६४ वर्षीया चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै फेला परेकी छन्।
चण्डिकाका दुई छोरा आशिष र अनिश श्रेष्ठ काठमाडौंमा थिए। बुढेसकाल लागेका बुवा–आमा बेत्रावतीस्थित घरमा बस्दै आएका थिए। गत १० भदौमा आएको भोटेकोशी बाढीले घरसहित बुवा–आमालाई बगाएपछि छोराहरू र आफन्तले आठ दिनसम्म निरन्तर खोजी गरे। तर दुवैजनाको अवस्था पत्ता लाग्न नसकेपछि तीन दिनअघि कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो। त्यसपछि दुवै छोरा आमाबुवाको काजकिरियामा बसेका थिए।
तर शनिबार बिहान परिवारले कल्पनै नगरेको खबर पायो—चण्डिका जीवितै भेटिइन्। बाढीले बगाएर पुरिएको घरभित्रबाट महिलाको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खोजी गर्दा घरभित्रै चण्डिकालाई सकुशल फेला पारेको हो। उद्धारपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको स्थानीयले बताएका छन्।
चण्डिकाकी भतिजी रिसिका श्रेष्ठका अनुसार बाढी आएको दिनदेखि गणना गर्दा शनिबार ११ औँ दिनमा चण्डिका जीवित भेटिएकी हुन्। आमाको सकुशल उद्धार भएको खबर आएपछि काजकिरियामा बसेका छोराहरूलाई सुरुमा विश्वास गर्नसमेत कठिन भएको थियो। केहीबेरमै लगातार फोन आउन थालेपछि उनीहरूले आमालाई जीवितै भेटिएको पुष्टि गरेका थिए।
चण्डिका भेटिएपछि पुरोहितले विधि पूरा गरी उनको काजकिरिया फुकुवा गरिदिएका छन्। चण्डिकाका छोराहरूले शनिबार नै किरियाघर छाडेका छन्। तर उनका श्रीमान् आनन्द श्रेष्ठ भने अझै बेपत्ता छन्। बाढीपछि उनको पनि अवस्था अज्ञात छ। स्थानीयका अनुसार चण्डिकाको घर बाढीले बगाएर मूल स्थानभन्दा करिब ५० मिटर पर पुर्याएको थियो। स्थानीय नारायणलाल डंगोलका अनुसार चण्डिकाको घर उनको घरभन्दा करिब ७० मिटर पछाडि थियो। बाढीको तीव्र बहावले घरसहित उनलाई थप पर पुर्याएर पुरेको थियो।
विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार बगाएर पुरिएको घरबाट मानिसको आवाज आएपछि उद्धारका लागि प्रहरीलाई खबर गरिएको थियो। ‘बगाएको घरभित्रबाट मान्छेको आवाज आएपछि प्रहरीलाई खबर गर्यौँ। खोजी गर्दा चण्डिकाजी जीवितै भेटिनुभयो,’ स्थानीयले बताएका छन्।
चण्डिका ११ दिनसम्म कसरी घरभित्र जीवित रहिन् भन्ने विषयले पनि स्थानीयलाई आश्चर्यमा पारेको छ। बाढीले घरसहित बगाएपछि सम्पर्कविहीन भएकाहरूको अधिकांश परिवारले कुशको शव बनाएर दाहसंस्कार गरी काजकिरिया सुरु गरिसकेको अवस्थामा चण्डिका जीवित भेटिनुले खोज तथा उद्धार कार्यलाई थप गम्भीर बनाउनुपर्ने देखाएको स्थानीयको भनाइ छ।
बेत्रावती क्षेत्रमा मात्रै नेवार समुदायका २३० भन्दा बढी घर रहेको बताइएको छ। बाढीले कतिवटा घर बगायो र कति मानिस अझै बेपत्ता छन् भन्ने यकिन विवरण आउन बाँकी छ। चण्डिका बाढीले बगाएको घरभित्रै ११ दिनपछि जीवित भेटिएपछि स्थानीयले बाढीबाट क्षतिग्रस्त तथा बगाइएका सबै घरमा पुनः व्यवस्थित खोजतलास गर्न सरकारसँग माग गरेका छन्।









