भोटेकोशी बाढीमा बेपत्ता रोकाय परिवारलाई वडा कार्यालयको साथ

असल शासन प्रतिनिधि

नेपालगन्ज । भोटेकोशी बाढीमा नेपालगन्ज उपमहानगरपालिका–२०, बाँके निवासी अनलाल रोकायका दाजु शेरसिंह रोकाय, भाउजू विष्णुमति रोकाय र छोरा दीपक रोकाय बेपत्ता भएपछि पीडित परिवारलाई वडा कार्यालयले आवश्यक सहयोग र समन्वय गर्दै आएको छ।

बाढीमा आफ्ना तीन जना आफन्त बेपत्ता भएपछि शोकमा रहेका अनलाल रोकाय तथा रोकाय परिवारलाई आवश्यक सहयोग, हिम्मत र साथ प्रदान गर्न वडा कार्यालय निरन्तर सक्रिय रहेको जनाएको छ।

कार्यवाहक वडा अध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताको खोजी तथा उद्धारका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिरहेका छन्।

यसैबीच, वडावासीको सक्रियतामा संकलन गरिएको राहत तथा सहयोग रकमसमेत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ। दुःखको समयमा प्राप्त हुने सहयोगले परिवारलाई मानसिक रूपमा समेत ठूलो हौसला प्रदान गर्ने स्थानीयको भनाइ छ।

रोकाय परिवारले भने बाढीमा बेपत्ता भएका तीनै जनाको अवस्था यथाशीघ्र पत्ता लाग्ने र सकुशल भेटिने आशा राखेको छ। परिवार तथा वडावासीले बेपत्ताको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

  • २३ भाद्र २०८३, मंगलवार प्रकाशित

  • Nabintech