राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अस्पतालको सेवा प्रवाह र मानवीय संवेदनामाथि प्रश्न उठेको छ।
बिहिबार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा अस्पतालको मूल गेटबाहिर सडकपेटीमै महिलाले बच्चा जन्माएको देखिन्छ। बच्चा जन्मिसकेको र साल समेत बाहिर निस्किसकेको अवस्थामा महिला सडकपेटीमा रहेको देखिएपछि घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।
घटनाप्रति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानविन समिति गठन गरी सत्यतथ्य पत्ता लगाउने बताएका छन्। दोषी देखिए सम्बन्धित कर्मचारी वा पक्षमाथि कानुनी तथा प्रशासनिक कारबाही गरिने उनको भनाइ छ। डा. झाले बिरामीका लागि बेड तयार रहेको र जाँचका लागि पठाइएको तर फर्किएर नआएको आफूले सुनेको बताए। महिलासँग पैसा नभएका कारण उपचार नगरिएको भन्ने विषयमा भने आफूलाई जानकारी नभएको उनले स्पष्ट पारे।
घटनापछि अस्पतालको सामाजिक सेवा इकाई तथा सेवा प्रवाहको प्रभावकारितामाथि समेत प्रश्न उठाइएको छ। चिकित्सक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनालाई दुःखद र गम्भीर भन्दै निष्पक्ष छानविन तथा दोषी देखिए कारबाहीको माग गरेका छन्।
यद्यपि सामाजिक सञ्जालमा आएका आरोप तथा प्रतिक्रियाहरू जनधारणा मात्र भएकाले घटनाको वास्तविकता अस्पताल प्रशासनले गर्ने छानविनपछि स्पष्ट हुने देखिन्छ। अस्पताल प्रशासनले पनि छानविन गरी दोषी देखिए आवश्यक कारबाही गर्ने जनाएको छ।









