जन्मदिन शुभकोषबाट विद्यार्थीलाई वार्षिक शुल्क सहयोग

असल शासन प्रतिनिधि

कोहलपुर /आर्थिक अवस्था कमजोर भएका तर पढाइमा जेहेन्दार एक विद्यार्थीलाई बास नेपालले कक्षा १० को एक वर्षको सम्पूर्ण मासिक शुल्क सहयोग गरेको छ ।

कोहलपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अछाम घर भई हाल कोहलपुरमा बस्दै आएका विनम कुँवरलाई बास नेपालले जनमदिन शुभकोषबाट रु. १४ हजार ४ सय बराबरको एक वर्षको मासिक शुल्क सहयोग गरेको हो ।

बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारीले विद्यालयका प्रधानाध्यापकको रोहवरमा विद्यार्थी कुँवरलाई सहयोग रकमको चेक हस्तान्तरण गरेकी हुन् । आर्थिक अभावका कारण अध्ययनमा समस्या नहोस् भन्ने उद्देश्यले विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सहयोग गरिएको बास नेपालले जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जय बहादुर बिष्टले आर्थिक रूपमा कमजोर विद्यार्थीलाई शिक्षामा निरन्तरता दिन सहयोग पुर्‍याउने बास नेपालको कार्यको प्रशंसा गरे । उनले सामाजिक संस्थाले शिक्षा तथा मानव सेवाका क्षेत्रमा गर्ने यस्ता सहयोगले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह बढाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

बास नेपालले विभिन्न व्यक्तिहरूको जन्मदिनका अवसरमा गरिने खर्चलाई सामाजिक सेवामा रूपान्तरण गर्ने उद्देश्यले ‘जन्मदिन शुभकोष’ सञ्चालन गर्दै आएको छ । जन्मदिन मनाउने क्रममा कोषमा रकम जम्मा गर्ने र सोही रकमबाट आर्थिक रूपमा विपन्न, असहाय तथा आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्दै आएको बास नेपालले जनाएको छ ।

संस्थाका अनुसार जन्मदिन शुभकोषमार्फत शिक्षा, स्वास्थ्य, विपत, मानवीय सहायता तथा अन्य सामाजिक सेवाका क्षेत्रमा विभिन्न सहयोगका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले सुरु गरिएको यस अभियानले समुदायमा सहयोग र मानवीयताको संस्कार विकास गर्नसमेत योगदान पुर्‍याउँदै आएको बास नेपालकी केन्द्रीय महासचिब कल्पना अधिकारीको भनाइ छ ।

विद्यार्थी कुँवरलाई गरिएको सहयोगले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थालाई केही हदसम्म सम्बोधन गर्ने विश्वास गरिएको छ ।

  • २५ भाद्र २०८३, बिहीबार प्रकाशित

  • Nabintech