आत्महत्या रोकथामबारे संवाद सुरु गरौं दृष्टिकोण बदलौँ

गणेश पौडेल

विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा दैनिक सरदर २० जना मानिसहरूले आत्महत्या गरेको पाइन्छ । नेपालमा आत्महत्याको १० वर्ष यताको तथ्याङ्कलाई हेर्ने हो भने आत्महत्या गर्नेको संख्या करिब दोब्बर बढेको देखिन्छ यसरी दिनप्रतिदिन आत्महत्याको दर बढीरहँदा आम जनमानस तथा काम गर्ने संस्थाहरूमा थप चुनौतीका प्रश्नहरू पनि खडा हुन थालेका छन् । जसमा आत्महत्या न्यूनीकरण तथा मानसिक स्वास्थ्यका क्षेत्रमा धेरै संघसंस्थाहरुले काम गरिरहँदा पनि आत्महत्याको दर किन घट्न सकेको छैन भन्ने विषय अत्यन्तै चुनौती बन्दै गइरहेको छ ।

के यो सम्बन्धी क्षेत्रमा काम गर्ने संस्थाहरूको मात्रै दोष हो त ? पक्कै पनि होइन किनभने यहाँ हामी सबैले बुझ्नुपर्ने कुरा के छ भने आम मानिसहरूमा आत्महत्याप्रतिको सोचाइ वा दृष्टिकोण कस्तो छ त यो हो प्रमुख कुरा सामान्यतया आम मानिसहरुलाई लाग्न सक्छ आत्महत्या गर्ने मानिसले अचानक आत्महत्या गर्दछ, आजको भोलि नै आत्महत्या गर्दछ वा कसैलाई पनि कुनै संकेत नदेखाई आत्महत्या गर्दछ तर यो सत्य नहुन सक्छ किनभने आत्महत्या जस्तो आफूले आफूलाई समाप्त पार्ने निर्णय लिन मानिसलाई केही दिन, केही छिन होइन केही महिना वा वर्षौंसम्म लाग्न सक्छ र ती केही महिना वा वर्षौंसम्म व्यक्तिले आफ्नो जीवनमा आइपरेको हरेक घटना परिस्थिति तथा समस्याहरुलाई भोग्दै, झेल्दै र उक्त समस्या समाधानको लागि धेरै संघर्ष गरिरहेको हुन्छ र अन्तत सबैतिरबाट आफ्नो समस्या समाधान हुन नसक्ने रहेछ भन्ने अवस्थामा पुगिसकेपछि मात्र व्यक्तिले आत्महत्या गर्ने निर्णय गर्दछ ।

मानिसले आफ्नो समस्यालाई समाधान गर्न सङ्घर्ष गरिरहेको समयमा विभिन्न मानिसहरू, परिवार, आफन्त, छरछिमेक तथा अन्य निकायहरु जहाँ धेरै मानिसहरुसँग ठोकिएको हुन्छ त्यो सबै ठाउँहरुमा उनीहरुले केही न केही संकेतहरु प्रस्तुत गरिरहेका हुन्छन् वा त्यस्ता किसिमका लक्षणहरु देखाइरहेका हुन्छन् । जस्तैः आफूलाई मूल्यहीन महसुस गर्ने, जोसँग भेट हुँदा पनि आशाविहीन र निराशावादी कुराहरु मात्र गरिरहने, कुनै कुराहरुमा पनि रुचि नदिने, एक्कासी अत्याधिक खुसी हुने तथा शान्त हुने, मेरो जीवनमा कोही छैन म कसका लागि बाँचु म केही गर्न सक्दिन मर्न पाए पनि आनन्दै हुन्थ्यो अब म सक्दिन अति भयो जस्ता निराशाजनक जीवनदेखि हार मानिरहेका शब्दहरू तथा संकेतहरू देखाइरहेका हुन्छन् । तर जनमानस तथा आम समुदाय तथा परिवारमा यदि कसैले यस्ता संकेतहरु वा शब्दहरुलाई गम्भीर रुपमा नलिएर सामान्य मान्ने तथा त्यस्ता कुरा गर्नु हुँदैन त्यस्ता कुरा गर्ने मान्छे कायर हो भन्ने जस्ता शब्दहरू प्रयोग गरेर वेवास्ता गरिने गरेको पाइन्छ ।

त्यसैले गर्दा ती संकेतहरू देखाएर सहयोगको याचना तथा आशा गरिरहेका व्यक्तिहरु झन् एक्लो महसुस गर्न सक्छन् र उनिहरु आत्महत्या गर्नको लागि तयार हुन्छन् । यसरी कुनै पनि मानिसले समस्या समाधानका लागि देखाइरहेका संकेतहरूलाई सबैभन्दा नजिक रहेका आफ्ना परिवार, आफन्त अथवा आफ्नो समाजका व्यक्तिहरुले वेवास्ता गरिदिँदा र नबुझिदिँदा ती व्यक्तिहरू अन्तत आत्महत्याको निर्णयसम्म पुग्दछन् ।

रोकथाम कसरी गर्ने अर्थात् दृष्टिकोण के मा बदल्ने
यदि घरपरिवार आफन्त समाज वा जुनसुकै ठाउँमा कुनै पनि व्यक्तिले माथि उल्लेखित कुनै पनि संकेत वा शब्दहरू प्रयोग गरिरहेको छ भने त्यस्तो अवस्थामा उक्त व्यक्तिका शब्द अथवा संकेतलाई वेवास्ता तथा गाली होइन समय अथवा उसको भावना र समस्यालाई बुझ्नको लागि वा सुन्नको लागि मद्दत गर्ने।

भावना व्यक्त गर्ने वातावरण सिर्जना गर्ने ।
उनीहरूभित्र कहीँ कतै जीवन जिउन सक्ने आशा छ कि भन्ने कुरा खोज्नको लागि चाहिँ उनीहरुलाई मद्दत गर्ने ।
उनीहरूका मनका बहहरूलाई सुनिदिनको लागि म पनि साथमा छु तपाईंका भावनाहरुलाई म बुझ्न सक्छु भनी उनीहरु एक्लो नभएको महसुस गराउने ।
मनोसामाजिक मनोपरामर्शकर्ता तथा मनोविद वा मनोचिकित्सकको बारेमा जानकारी दिने वा त्यहाँसम्म समन्वय गर्ने सहयोग गर्ने ।

यसरी समुदाय स्तरमा नै आत्महत्याको संकेत देखाइरहेका व्यक्तिहरूको शब्द र सङ्केतलाई वेवास्ता गर्नु हुँदैन बुझ्नुपर्छ, सुन्नुपर्छ भन्ने दृष्टिकोण परिवर्तन गर्न सकेमा केही हदसम्म आत्महत्याको रोकथाम गर्न सकिन्छ ।
सरकारी निकाय अन्तर्गत
 मानसिक स्वास्थ्य सेवा तथा मनोपरामर्श सेवालाई सरकारका तिनै तहले सहज र सुलभ तरिकाले गाउँघर सम्मै पुर्याउनु पर्दछ
 नीति तथा कार्यक्रमहरुलाई लिखित रुपमा होइन प्रयोगात्मक रुपमा प्रयोगमा ल्याउनुपर्दछ
 आत्महत्या सम्बन्धी समाचारहरु सम्प्रेषण गर्ने निकायहरूलाई नियमन गर्ने व्यवस्था गर्नुपर्दछ मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका वा मनोपरामर्श सम्बन्धी दक्ष जनशक्तिहरुलाई कुनै एक द्वार निकायमा आबद्ध गरी जनशक्ति पहिचान गरेर परिचालन गर्नुपर्दछ
अन्तमा ः आत्महत्या कुनै रहर होइन बाँच्नका लागि गुहार माग्दा गुहार नपाएपछिको बाध्यता हो । भन्ने कुरा बुझेर माथि उल्लेखित लक्षणहरू तथा संकेतहरूप्रति सकारात्मक दृष्टिकोण राख्न सकेमा आत्महत्याको दरलाई केही हदसम्म कम गर्न सकिन्छ

  • २६ भाद्र २०८३, शुक्रबार प्रकाशित

  • Nabintech