मिति २०८३ साल भाद्र महिनाको २४ गतेको दिन बाजुराको कोल्टी स्वास्थ्य चौकीबाट उपचार सम्भव नभएपछि तीन दिनको नवजात शिशुलाई नेपालगन्जको भेरी अस्पतालमा रिफर गरियो। नवजातको अवस्था जटिल थियो। बाजुरामा पर्याप्त आईसीयू, एनआईसीयू तथा भेन्टिलेटरको सुविधा उपलब्ध नभएकाले थप उपचारका लागि नेपालगन्ज पठाइएको परिवारले बताएको छ।
बाजुरादेखि नेपालगन्ज निकै टाढा छ। चिकित्सकले समयमै नेपालगन्ज पुर्याउन नसके बच्चाको अवस्था जोखिमपूर्ण हुनसक्ने बताएपछि परिवार आत्तियो। जहाजको टिकट खोज्दा सबैका लागि टिकट पाउन सम्भव नभएपछि आमा र नवजातलाई जहाजबाट नेपालगन्ज पठाइयो। बच्चाका बुवा भने बसमार्फत दुर्गम पहाडी बाटो हुँदै करिब दुई दिनको यात्रा गरेर नेपालगन्ज आउन बाध्य भए।
नेपालगन्जमा आमा र बच्चालाई विमानस्थलबाट अस्पतालसम्म पुर्याउने जिम्मेवारीका लागि मलाई खबर गरियो। त्यतिबेला म नेपालगन्ज बास नेपालमा जागिर गरिरहेको थिएँ। कार्यालयको काम छाडेर तत्काल बाहिरिनुपर्ने अवस्था आएपछि म केही समय आत्तिएँ। तर मेरो अगाडि एउटा नवजातको जीवनको सवाल थियो।
मैले तुरुन्तै आदरणीय मन भण्डारी, रवीन्द्र बोहरा र माधव कार्की सरलाई सम्पूर्ण घटनाबारे जानकारी गराएँ। उहाँहरूले जागिरभन्दा मानवीय सेवा ठूलो भएको भन्दै मलाई बिदा दिनुभयो। उहाँहरूको त्यो मानवीय भावनाप्रति म आज पनि आभारी छु। करिब दिउँसो १ बजेतिर म कार्यालयबाट बाहिरिएँ। म राँझा विमानस्थल पुग्न केही ढिला हुने भएपछि राँझामा बस्ने मेरो गाउँका भतिजलाई तुरुन्त फोन गरेँ। उहाँ अटो चालक हुनुहुन्थ्यो। मेरो कुरा सुन्नासाथ उहाँ विमानस्थल पुग्नुभयो र आमा तथा नवजातलाई लिएर आउनुभयो।
म त्यसअघि नै भेरी अस्पताल पुगिसकेको थिएँ। अस्पतालको इमर्जेन्सी वार्डमा गएर बच्चाको अवस्था बुझ्दा अवस्था निकै गम्भीर देखिन्थ्यो। बच्चालाई तत्काल एनआईसीयू र आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था थियो। मैले बच्चाको अवस्था देखाउँदै तत्काल उपचार गरिदिन आग्रह गरेँ। तर अस्पतालमा बेड उपलब्ध नभएको कुरा सुनियो। मैले धेरै अनुरोध गरेँ। मेरो उद्देश्य एउटै थियो—कुनै पनि हालतमा आमा र बच्चालाई बचाउनु।
तर तत्काल उपचारको व्यवस्था हुन नसक्दा म निराश भएँ।
बच्चाकी आमा पनि अत्यन्त चिन्तित र भावुक थिइन्। जम्मा तीन दिनको बच्चालाई काखमा बोकेर दुर्गम बाजुराबाट हजारौँ रुपैयाँ खर्च गरेर उनी नेपालगन्ज आएकी थिइन्। बच्चाले दूध खान छाड्दै थियो। श्वासप्रश्वासमा समेत समस्या बढ्दै गएको थियो। आमाको अवस्था हेर्दा मेरो मन थामिएन। मलाई रुने मन लाग्यो। म निकै भावुक भएँ।
त्यसपछि मैले बच्चालाई नेपालगन्जको गणेशमान चोकस्थित त्रिपुरा बाल अस्पतालमा लगेँ। त्यहाँ डा. विजय प्रधानसँग मेरो परिचय थियो। बच्चाको अवस्था बताएपछि उहाँले तत्काल बच्चालाई हेर्नुभयो। नाम लेखाउने शुल्कसमेत नलिई उपचारका लागि पहल गर्नुभयो।
तर त्यहाँ आवश्यक आईसीयू सुविधा नभएकाले बच्चालाई तत्काल यशोदा अस्पताल लैजान उहाँले सल्लाह दिनुभयो। उहाँको व्यवहारले मलाई चिकित्सा क्षेत्रमा मानवीय संवेदनाको महत्व कति ठूलो हुन्छ भन्ने महसुस गरायो। संकटमा परेको एउटा नवजातलाई बचाउन उहाँले देखाउनुभएको तत्परता मेरा लागि मानवीय सेवाको उदाहरण बन्यो।
त्यसपछि हामी यशोदा अस्पताल पुग्यौँ। त्यहाँ पनि बेड पाउन सहज थिएन। तर चिकित्सकको सक्रियताले केही समयमै उपचारको वातावरण मिल्यो। नवजातलाई तत्काल इमर्जेन्सी आईसीयूमा भर्ना गरियो। हामी सबै अस्पतालबाहिर बसेर बच्चाको जीवनका लागि प्रार्थना गरिरहेका थियौँ। आमा–बुवा, आफन्त र म सबैको मनमा एउटै आशा थियो—बालक बाँचोस्।
भित्र उपचार भइरहेको थियो। बेला–बेलामा चिकित्सकबाट बच्चाको अवस्थाबारे जानकारी आउँथ्यो। हामी आशा र निराशाबीच थियौँ। अर्को दिन चिकित्सकले बच्चाको अवस्था गम्भीर रहेको बताए। केही दिन भेन्टिलेटरमा राखेर उपचार गर्न सके सुधार आउने सम्भावना रहेको तर उपचार खर्च महँगो पर्ने जानकारी दिइयो।
आमा–बुवा केही क्षण डराए। तर उनीहरूले हिम्मत हारेनन्। “हामी जसरी पनि बच्चालाई बचाउँछौँ। ऋण निकालेर भए पनि उपचार गर्छौँ,” उनीहरूले भने।
त्यो वाक्यले सबैलाई भावुक बनाएको थियो। आफ्नो सन्तान बचाउन अभिभावकले देखाएको त्यो साहस साँच्चिकै उदाहरणीय थियो। चिकित्सकको सल्लाहअनुसार नवजातलाई करिब दुई दिन भेन्टिलेटरमा राखेर उपचार गरियो। हामी बाहिर बसेर सुधारको प्रतीक्षा गरिरहेका थियौँ। तर दुर्भाग्यले साथ दिएन। बच्चाको अवस्थामा अपेक्षित सुधार आएन। बिस्तारै आशा कमजोर हुँदै गयो। अन्ततः बच्चाको श्वासप्रश्वासमा गम्भीर समस्या आयो र नवजात बच्चालले संसार छाड्यो।
त्यो दिन भाद्र २८ गते थियो। त्यसपछि त्यहाँ रुवाबासीबाहेक केही थिएन। केही दिनअघि मात्र जन्मिएको एउटा निर्दोष बालक अब हामीमाझ थिएन। आमाको काख रित्तिएको थियो। बुवाको आँखामा आँसु थियो। आफन्तहरू भावुक थिए। म पनि आफूलाई सम्हाल्न सकिरहेको थिइनँ।अब के गर्ने, कसो गर्ने भन्ने अवस्थामा सबैले आमा–बुवालाई सम्झाइरहेका थिए।
हामीले सेतो कपडा र पूजाका सामग्री किन्यौँ। धार्मिक परम्पराअनुसार नवजातको अन्तिम संस्कारका लागि राप्ती नदीतर्फ लग्यौँ। जीवनको आशामा बाजुराबाट नेपालगन्ज ल्याइएको त्यो नन्हो शरीर अन्ततः राप्ती नदीको किनारमा अन्तिम संस्कारका लागि पुग्यो। त्यो क्षण सम्झिँदा आज पनि मन भारी हुन्छ।
आमा–बुवा र आफन्तहरू रुँदै बाजुरा फर्किए। म आफ्नो कार्यालयतर्फ फर्किएँ। तर मेरो मन भने त्यही घटनामा अड्कि रह्यो। आज पनि मेरो मनमा एउटा प्रश्न उठ्छ—यदि भेरी अस्पतालमा पुगेपछि तत्काल आवश्यक उपचारको व्यवस्था भएको भए के त्यो बालकको जीवन बचाउन सकिन्थ्यो ?
यसको निश्चित उत्तर मसँग छैन। म चिकित्सक होइन र मृत्युको वास्तविक चिकित्सकीय कारणबारे निष्कर्ष निकाल्ने अधिकार पनि मसँग छैन। तर एउटा कुरा मैले प्रत्यक्ष देखेँ—गम्भीर अवस्थामा रहेको नवजातलाई लिएर परिवारले उपचारको खोजीमा विभिन्न ठाउँ धाउनुपर्यो। समय बित्दै गयो। उपचारका लागि आवश्यक आईसीयू र एनआईसीयू सुविधा खोज्दै परिवारले ठूलो संघर्ष गर्नुपर्यो।
यही घटनाले हाम्रो स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। दुर्गम जिल्लाबाट गम्भीर अवस्थामा रिफर गरिएका नवजातका लागि रेफरल अस्पतालमा बेड र उपचारको पूर्वसमन्वय किन हुन सक्दैन ? बिरामी पठाउनु अघि सम्बन्धित अस्पतालसँग उपचार क्षमता र बेडको सुनिश्चितता गर्न सकिँदैन ? गम्भीर अवस्थामा रहेको नवजात अस्पतालको ढोकामा पुगेपछि उपचारको खोजीमा समय बिताउनुपर्ने अवस्था कहिलेसम्म ?
यो प्रश्न कुनै एउटा अस्पताललाई दोष लगाउने मात्र होइन। यो समग्र स्वास्थ्य प्रणालीसँग जोडिएको प्रश्न हो। दुर्गम बाजुराबाट नेपालगन्जसम्म जीवनको आशामा ल्याइएको एउटा तीनदिने नवजात बालक बाच्न सकेन। उसको मृत्युको कारणबारे चिकित्सकीय निष्कर्ष सम्बन्धित विशेषज्ञ र निकायले नै दिनुपर्छ। तर उपचार प्रक्रियामा कहाँ–कहाँ कठिनाइ भयो, कहाँ समय गुम्यो र भविष्यमा यस्ता घटना दोहोरिन नदिन के सुधार गर्न सकिन्छ भन्ने विषयमा निष्पक्ष समीक्षा भने आवश्यक छ।
किनकि एउटा नवजातको जीवन फर्काउन सकिँदैन। तर उसको मृत्युले उठाएको प्रश्नको जवाफ खोज्न सकिन्छ। भोलि फेरि बाजुरा, हुम्ला, जुम्ला वा कर्णालीका कुनै दुर्गम गाउँबाट अर्को आमा आफ्नो नवजातलाई काखमा च्यापेर नेपालगन्ज आउन सक्छिन्। त्यसबेला अस्पतालको ढोकामा उनले “बेड छैन” भन्ने जवाफ होइन, “चिन्ता नगर्नुस्, हामी उपचार सुरु गर्छौँ” भन्ने भरोसा पाउनुपर्छ। त्यो तीनदिने बालक आज हामीमाझ छैन।









