जुनियर पोइम आइडलको टप १२ मा ठाटीकाँधका दुई दिदीबहिनी

असल शासन प्रतिनिधि

दैलेख दैलेखको ठाटीकाँध गाउँपालिका–६ का दुई दिदीबहिनी मनिषा थापा र निशा थापा ‘जुनियर पोइम आइडल को टप १२ मा प्रवेश गर्न सफल भएका छन्। कविता प्रस्तुत गर्ने प्रतिभा र निरन्तरको मेहनतका कारण उनीहरू विभिन्न चरण पार गर्दै प्रतियोगिताको टप १२ मा पुगेका हुन्।

१३ वर्षीया मनिषा थापा र १६ वर्षीया निशा थापा भक्तपुरस्थित वागेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छन्। मनिषा कक्षा ९ मा र निशा कक्षा १० मा अध्ययन गरिरहेकी छन्।

देशभरबाट सहभागी करिब १ हजार ८ सय प्रतियोगीमध्ये विभिन्न चरणमा प्रतिस्पर्धा गर्दै दुवै दिदीबहिनी टप १२ सम्मको यात्रा तय गर्न सफल भएका हुन्। कविता लेखन तथा वाचनमा रुचि राख्ने उनीहरूले आफ्नो प्रस्तुति र प्रतिभामार्फत निर्णायक तथा दर्शकको ध्यान आकर्षित गर्दै अघि बढेका छन्। अब प्रतियोगिता टप ६ छनोटका लागि अघि बढ्नेछ। टप १२ मा स्थान बनाएका मनिषा र निशाले आगामी चरणमा पनि उत्कृष्ट प्रस्तुति दिने तयारी गरिरहेका छन्।

ठाटीकाँध–६ निवासी बुवा जयबहादुर थापा र आमा मोतिकला थापाका छोरी मनिषा र निशाको सफलताले परिवारसँगै ठाटीकाँध र समग्र दैलेखमा उत्साह थपिएको छ। एउटै परिवारका दुई दिदीबहिनीले राष्ट्रिय स्तरको कविता प्रतियोगितामा टप १२ मा स्थान बनाउन सफल हुनुले उनीहरूको प्रतिभा र मेहनतलाई समेत उजागर गरेको छ।

अबको प्रतिस्पर्धा अझ महत्वपूर्ण भएकाले मनिषा र निशालाई टप ६ मा पुग्न थप मेहनत, उत्कृष्ट प्रस्तुति र दर्शकको साथ आवश्यक पर्नेछ।

  • ३१ भाद्र २०८३, बुधबार प्रकाशित

  • Nabintech