४ असाेज, बर्दिया । बर्दियाको बारबर्दियामा गुडिरहेको ईभी हाइसमा आगलागी हुँदा गाडीमा रहेका कागजपत्र र ४२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन। आज २०८३ साल असोज ४ गते बिहान करिब ६ बजेर ५० मिनेटमा बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित ५ नम्बर चोकमा महेन्द्र राजमार्गमा गुडिरहेको ईभी हाइसमा एक्कासि आगलागी भएको हो।
कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ज ४३३ नम्बरको भाडाको ईभी हाइसमा आगलागी भएको प्रहरीले जनाएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ निवासी ३८ वर्षीय नरेन्द्र नेगीले चलाएको उक्त गाडीमा चालक र सहचालक मात्रै सवार थिए। आगलागीबाट गाडीमा रहेका कागजपत्र र नगद ४२ हजार रुपैयाँ जलेर नष्ट भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
ठाकुरबाबा नगरपालिकाको दमकलको सहायताले आगो निभाउने कार्य भयो। आगलागीका कारण महेन्द्र राजमार्गमा सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ। आगलागी हुनुको कारण भने खुल्न सकेको छैन।









