जुनियर पोइम आइडलमा दैलेखकी मनिषा थापा टप ६ मा

असल शासन प्रतिनिधि

दैलेखको ठाटीकाँध गाउँपालिका–६ की १३ वर्षीया मनिषा थापा ‘जुनियर पोइम आइडल’को टप ६ मा प्रवेश गर्न सफल भएकी छन्। कविता लेखन तथा वाचनमा आफ्नो प्रतिभा प्रस्तुत गर्दै विभिन्न चरण पार गरेकी मनिषा प्रतियोगिताको टप ६ मा पुग्न सफल भएकी हुन्।

देशभरबाट सहभागी करिब १ हजार ८ सय प्रतियोगीमध्ये प्रतिस्पर्धा गर्दै मनिषाले उत्कृष्ट प्रस्तुति दिँदै टप १२ मा स्थान बनाएकी थिइन्। त्यसपछि भएको छनोट चरणमा पनि प्रभावकारी कविता प्रस्तुति दिँदै उनी टप ६ मा प्रवेश गर्न सफल भएकी हुन्।

मनिषा भक्तपुरस्थित वागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन्। सानैदेखि कविता लेखन तथा वाचनमा रुचि राख्दै आएकी मनिषाले प्रतियोगिताका विभिन्न चरणमा आफ्नो सिर्जनशीलता, प्रस्तुति क्षमता र आत्मविश्वास प्रस्तुत गर्दै निर्णायक तथा दर्शकको ध्यान आकर्षित गर्दै आएकी छन्।

मनिषासँगै उनकी दिदी १६ वर्षीया निशा थापा पनि ‘जुनियर पोइम आइडल’को टप १२ सम्म पुग्न सफल भएकी थिइन्। एउटै परिवारका दुई दिदीबहिनीले राष्ट्रियस्तरको कविता प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुले परिवारसँगै ठाटीकाँध र दैलेखमा समेत उत्साह थपिएको छ।

ठाटीकाँध गाउँपालिका–६ निवासी बुवा जयबहादुर थापा र आमा मोतिकला थापाकी छोरी मनिषाको यो सफलताले उनको मेहनत, लगनशीलता र कविता प्रस्तुत गर्ने प्रतिभालाई थप उजागर गरेको छ।

अब प्रतियोगिताको आगामी चरणमा मनिषाले टप ६ बाट अझ अगाडि बढ्न प्रतिस्पर्धा गर्नेछिन्। उनको आगामी यात्रामा उत्कृष्ट प्रस्तुति, निरन्तर मेहनत र दर्शकको साथ महत्वपूर्ण रहनेछ। दैलेखको ग्रामीण क्षेत्रबाट राष्ट्रियस्तरको कविता प्रतियोगितामा टप ६ सम्म पुग्न सफल मनिषाको उपलब्धिलाई स्थानीयस्तरमा समेत प्रतिभाशाली बालबालिकाका लागि प्रेरणाका रूपमा हेरिएको छ।

  • ९ आश्विन २०८३, शुक्रबार प्रकाशित

  • Nabintech