काठमाडौ : जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो र हिमपातको जोखिम रहेको चेतावनी दिएपछि राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान) ले सर्वसाधारण, स्थानीय तह तथा सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
बङ्गालको खाडीको पूर्वी भागमा विकसित न्यून चापीय मौसमी प्रणालीका कारण उत्पन्न हुन सक्ने सम्भावित विपद्बाट जोगिन डिमानका अध्यक्ष सूर्यबहादुर थापा र महासचिव विष्णुप्रसाद तिमिल्सिना द्वारा जारी अपिलमा विशेष पूर्व तयारी र सावधानी अपनाउन आग्रह गरिएको छ।
केही समयअघि रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण प्रभावित समुदाय अझै कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै डिमानले पुनः उस्तै जोखिम दोहोरिन नदिन संवेदनशील हुनुपर्नेमा जोड दिएको छ।
विपद्को यस घडीमा कुनै पनि प्रकारको हेलचेक्र्याइँ नगर्न र अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा नगर्न सर्वसाधारणमा अनुरोध गरिएको छ। विशेष गरी नदी तथा खोलानाला आसपासका क्षेत्र, पहाडी भिराला भूभाग र उच्च हिमाली क्षेत्रमा बसोबास गर्नेहरूले समयमै सुरक्षित स्थानमा जान तथा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवती महिलाजस्ता संवेदनशील समूहको विशेष सुरक्षा गर्न अपिल गरिएको छ।
यस्तै, डिमानले आफ्ना सदस्य संस्थाहरू, नागरिक संघसंस्था र स्वयंसेवकहरूलाई स्थानीय तह तथा सरकारी निकायहरूसँग समन्वय गरी खोज, उद्धार र राहतका लागि तयारी अवस्थामा रहन आह्वान गरेको छ।
विपद्को समयमा फैलाइने अफवाह र अपुष्ट सूचनाको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मान्न डिमानले सबैमा आग्रह गरेको छ।
आवश्यक जानकारी तथा आपतकालीन सहयोगका लागि :
• जल तथा मौसम विज्ञान विभाग (११५५),
• नेपाल प्रहरी (१००)
• सशस्त्र प्रहरी बल (१११४)
• राष्ट्रिय विपद् प्रतिकार्य समन्वय केन्द्र (११४९)
• गृह मन्त्रालयको विपद् हेल्पलाइन (१२३४)









