ठाटीकाँध गाउँपालिका–६, दैलेख निवासी मनबहादुर थापा २९ वर्षकै उमेरमा उपसचिव पदमा नाम निकाल्न सफल भएका छन्। खरिदार पदबाट सरकारी सेवाको यात्रा सुरु गरेका थापाले करिब एक दशकको अवधिमै उपसचिवसम्मको यात्रा तय गरेका हुन्।
थापाको सरकारी सेवाको यात्रा २०७३ सालमा खरिदार पदबाट सुरु भएको थियो। निरन्तर मेहनत, अध्ययन र लक्ष्यप्रतिको प्रतिबद्धतालाई कायम राख्दै उनले २०७६ सालमा छैटौँ तह, २०७९ सालमा शाखा अधिकृत र २०८३ सालमा उपसचिव पदमा सफलता हासिल गरेका हुन्।
थापाको यो सफलता पद प्राप्तिमा मात्र सीमित छैन। सामान्य सेवाबाट आफ्नो करियर अघि बढाउँदै छोटो समयमै उपसचिव पदसम्म पुग्नु उनको निरन्तर प्रयास र आत्मविश्वासको परिणामका रूपमा लिइएको छ।
झनै रोचक पक्ष के छ भने थापाको सफल यात्रामा उनकी धर्मपत्नी विना केसीको पनि समानान्तर सफलता जोडिएको छ। थापा र केसी दुवैले २०७९ सालमा एकैपटक शाखा अधिकृत पदमा नाम निकाल्दै सिफारिस भएका थिए। हाल विना केसी भूमिसुधार तथा मालपोत कार्यालयमा बाँकेमा कार्यरत छिन्।
श्रीमान्–श्रीमती दुवैले लोकसेवा परीक्षामार्फत आफ्नो करियर अघि बढाउँदै एकै समयमा शाखा अधिकृत बन्न सफल हुनु आफैंमा प्रेरणादायी पक्ष हो। एकअर्काको साथ, सहयोग र हौसलाका साथ अघि बढेको उनीहरूको यात्राले पारिवारिक जीवनसँगै पेशागत सफलताको उदाहरणसमेत प्रस्तुत गरेको छ।
२०७३ सालमा खरिदारबाट सुरु भएको थापाको यात्रा २०७६ सालमा छैटौँ तह, २०७९ सालमा शाखा अधिकृत हुँदै २०८३ सालमा उपसचिव पदसम्म आइपुगेको हो। २९ वर्षकै उमेरमा उपसचिव बनेसँगै उनको यो उपलब्धिले लोकसेवा तयारी गरिरहेका युवामाझ समेत उत्साह र प्रेरणा थपेको छ।
थापाको सफलताप्रति शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्। उनीहरूले उनको यात्रालाई मेहनत, धैर्य, निरन्तरता र आत्मविश्वासको परिणामका रूपमा लिएका छन्।
“समयले मानिसको उमेर गन्छ, तर इतिहासले उसको कर्म सम्झन्छ” भन्ने भनाइलाई चरितार्थ गर्ने गरी थापाले छोटो उमेरमै हासिल गरेको यो उपलब्धिले लक्ष्यप्रति निरन्तर प्रतिबद्ध भएर अघि बढ्ने हो भने सफलता सम्भव छ भन्ने सन्देश दिएको छ।
ठाटीकाँध गाउँपालिका–६ बाट सरकारी सेवामा प्रवेश गरेका थापाको यो उपलब्धि उनको व्यक्तिगत सफलता मात्र नभई परिवार, गाउँठाउँ र समग्र दैलेखका युवाका लागि पनि गर्व र प्रेरणाको विषय बनेको छ। उपसचिवको नयाँ जिम्मेवारीमा उनको आगामी यात्रा अझ सफल, जिम्मेवार र उपलब्धिमूलक बनोस् शुभकामना ।









