कैलालीका तीन विद्यालयमा मुटु परीक्षण, २३ विद्यार्थीमा समस्या

इन्दु केसी

कैलाली/कैलालीको गौरीगङ्गा नगरपालिकाका तीन विद्यालयमा गरिएको मुटु परीक्षणका क्रममा २३ जना विद्यार्थीमा मुटुसम्बन्धी समस्या पहिचान भएको छ ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठान कैलालीको समन्वय तथा गौरीगङ्गा नगरपालिकाको सहयोगमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यसमितिको आयोजनामा शुक्रवार विद्यार्थीको मुटु परीक्षण गरिएको हो ।

गौरीगङ्गास्थित मालिका, पशुपति र जनप्रिय माध्यमिक विद्यालयका गरी दुई हजार आठ सय ६५ विद्यार्थीको मुटु परीक्षण गरिएको थियो । परीक्षणका क्रममा २३ जना विद्यार्थीमा मुटुसम्बन्धी समस्या देखिएको बाल मुटुरोग विशेषज्ञ डा. उर्मिला शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार केही विद्यार्थीमा मुटुको भल्बसम्बन्धी समस्या तथा जन्मजात रूपमा मुटुमा प्वाल रहेका समस्या पहिचान भएका छन् ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष डा. सत्यनारायण सुवालले नेपालमै मुटुरोगको उपचार तथा शल्यक्रिया सेवा विस्तार गर्ने उद्देश्यले प्रतिष्ठानले मुटु परीक्षणको अभियान सञ्चालन गरिरहेको बताउनुभयो । वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्ने क्रममा कतिपय व्यक्तिमा मुटुसम्बन्धी समस्या पहिचान हुने गरेको उल्लेख गर्दै उहाँले मुटुरोगको उपचार तथा जनचेतना विस्तारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलगायतका संस्थासँग सहकार्य भइरहेको जानकारी दिनुभयो ।

वरिष्ठ कन्सल्टेन्ट मुटुरोग सर्जन डा. प्रेमराज वैद्यका अनुसार बालबालिकामा देखिने मुटुरोग जन्मजात हुनसक्ने तथा कतिपय समस्या पछि पनि विकास हुन सक्छन् । त्यसैले समयमै स्वास्थ्य परीक्षण गरी सम्भावित समस्या पहिचान गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

विद्यालय तहदेखि नै बालबालिकाको नियमित मुटु परीक्षण गर्नुका साथै मुटुरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्नेमा डा. वैद्यले जोड दिनुभयो । हरेक जिल्लाका जनस्वास्थ्य कार्यालयमार्फत यस्ता कार्यक्रम सञ्चालन गर्न सके बालबालिकामा रहेका मुटुसम्बन्धी समस्या समयमै पहिचान गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

मुटु परीक्षण कार्यक्रममा मुटुरोग विशेषज्ञ (कार्डियोलोजिस्टं) डा. एन्जेला वैद्य, सेती प्रादेशिक अस्पताल धनगढीका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. शेरबहादुर कमरलगायत चिकित्सक सहभागी थिए । प्रतिष्ठानका कार्यक्रम व्यवस्थापक अनमोल महर्जन तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान कैलालीका अध्यक्ष डा। कृष्णबहादुर बोहरालगायतको टोलीले विद्यार्थीको मुटु परीक्षण गरेको थियो ।

  • १६ आश्विन २०८३, शुक्रबार प्रकाशित

  • Nabintech