हरित नेपालको बाटो रोज्ने कि अत्यधिक गर्मीको संकट भोग्ने ?

रबिन्द्र लामिछाने

पछिल्ला केही वर्षदेखि नेपालमा गर्मीको स्वरूप अस्वाभाविक रूपमा परिवर्तन हुँदै गएको छ । पहिले तराईका जिल्लामा मात्र सीमित रहेको अत्यधिक गर्मी अहिले पहाडी क्षेत्रसम्म पुग्न थालेको छ । काठमाडौं उपत्यकामा समेत वर्षेनी नयाँ तापक्रमको रेकर्ड कायम भइरहेका छन् । वर्षा हुने समय अनिश्चित बन्दै गएको छ । कहिले लामो खडेरी त कहिले अत्यधिक वर्षा, बाढी, पहिरो र डुबानले जनधनको ठूलो क्षति पुर्याइरहेको छ । हिमालहरू तीव्र गतिमा पग्लिरहेका छन्, हिमतालहरू विस्तार भइरहेका छन्, कृषि उत्पादनमा गिरावट आएको छ र जनस्वास्थ्यमा पनि यसको गम्भीर असर देखिन थालेको छ । यी सबै घटनाहरू कुनै संयोग होइनन्, बरु विश्वव्यापी जलवायु परिवर्तनका प्रत्यक्ष संकेत हुन् ।

विश्व किन तात्दै गएको छ भन्ने प्रश्नको उत्तर खोज्दा एउटा कुरा स्पष्ट हुन्छ, यसको प्रमुख जिम्मेवार हामी मानव नै हौं । प्रकृतिसँग सन्तुलन कायम गरेर विकास गर्नुपर्नेमा हामीले विकासको नाममा प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन गर्यौं । औद्योगिकीकरण, जीवाश्म इन्धनको अत्यधिक प्रयोग, वन विनाश, अव्यवस्थित शहरीकरण, प्लाष्टिकको अनियन्त्रित उत्पादन तथा प्रयोग, फोहोर जलाउने अभ्यास, वन डढेलो र प्राकृतिक स्रोतहरूको अन्धाधुन्ध दोहनले पृथ्वीको तापक्रम निरन्तर बढाइरहेको छ । वातावरणमा कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड लगायतका हरितगृह ग्यासको मात्रा बढ्दै जाँदा सूर्यबाट आएको ताप पृथ्वीमै थुनिन थालेको छ, जसलाई हरितगृह प्रभाव Greenhouse Effectv भनिन्छ । यही कारणले पृथ्वीको औसत तापक्रम निरन्तर बढिरहेको छ ।

नेपाल विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा अत्यन्त न्यून योगदान गर्ने देश हो । विश्वव्यापी उत्सर्जनमा नेपालको हिस्सा नगण्य भए पनि यसको असर भने नेपालले अत्यधिक भोगिरहेको छ । जलवायु परिवर्तनका दृष्टिले नेपाल विश्वका सबैभन्दा जोखिमयुक्त देशहरूमध्ये एक हो । हिमाली क्षेत्रमा हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । हिमताल फुट्ने जोखिम बढिरहेको छ । तराईमा अत्यधिक गर्मीले दैनिक जनजीवन प्रभावित बनाएको छ । कृषि प्रणाली असन्तुलित बन्दै गएको छ । पानीका स्रोतहरू सुक्दै गएका छन् भने कतै अत्यधिक वर्षाले खेतीयोग्य जमिन नै बगाइरहेको छ । जलवायु परिवर्तन अब भविष्यको समस्या होइन, वर्तमानको वास्तविकता बनिसकेको छ ।

नेपालमा बढ्दो शहरीकरणले पनि वातावरणीय संकटलाई थप गहिरो बनाएको छ । पछिल्ला दशकहरूमा शहरहरू तीव्र गतिमा विस्तार भए, खुला जमिनमा कंक्रिटका भवनहरू बने, सडक विस्तार भयो । हरियाली क्षेत्र घट्दै गयो । प्राकृतिक पानी जम्ने क्षेत्रहरू मासिए । शहरहरूमा सिमेन्ट, कंक्रिट र कालोपत्रे सडकको मात्रा बढ्दा ९ग्चदबल ज्भबत क्ष्कबिलम० अर्थात् शहर आफैं अत्यधिक तात्ने अवस्था सिर्जना भएको छ । यसको असर काठमाडौं, पोखरा, भरतपुर, विराटनगर, वीरगंज, जनकपुर, नेपालगञ्ज, धनगढी र अन्य शहरहरूमा स्पष्ट देखिन थालेको छ ।

वन विनाश अर्को गम्भीर चुनौती हो । नेपालले सामुदायिक वन व्यवस्थापनमार्फत विश्वमै उदाहरणीय सफलता हासिल गरेको भए पनि पछिल्ला वर्षहरूमा वन डढेलो, अवैध कटानी, सडक निर्माण र अव्यवस्थित पूर्वाधार विकासका कारण धेरै वन क्षेत्र प्रभावित भएका छन् । प्रत्येक वर्ष गर्मीयाममा हजारौं हेक्टर वन डढ्ने गरेका छन् । वन डढेलोले केवल रुख मात्र नष्ट गर्दैन, यसले ठूलो मात्रामा कार्बन उत्सर्जन गर्छ, जैविक विविधता समाप्त गर्छ, माटोको गुणस्तर बिगार्छ र मानव स्वास्थ्यमा समेत गम्भीर असर पु¥याउँछ ।

प्लाष्टिक प्रदूषण पनि जलवायु संकटसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । प्लाष्टिक पेट्रोलियम पदार्थबाट उत्पादन हुन्छ । यसको उत्पादन प्रक्रियाले ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्छ । प्रयोगपछि अधिकांश प्लाष्टिक पुनःप्रयोग वा पुनर्चक्रण नहुँदा खुला रूपमा जलाइन्छ वा नदी तथा जंगलमा फालिन्छ । प्लाष्टिक जलाउँदा अत्यन्त विषालु ग्यास उत्सर्जन हुन्छ, जसले वायु प्रदूषण मात्र होइन, जलवायु परिवर्तनलाई समेत तीव्र बनाउँछ । नेपालमा अझै पनि धेरै स्थानमा फोहोर व्यवस्थापनको नाममा खुला रूपमा फोहोर जलाउने अभ्यास जारी छ, जुन तत्काल बन्द गरिनुपर्छ ।

यातायात क्षेत्र पनि वातावरण प्रदूषणको प्रमुख स्रोत बनेको छ । नेपालमा पुराना, मर्मत नभएका र अत्यधिक धुवाँ फाल्ने सवारीसाधन अझै सञ्चालनमा छन् । पेट्रोल र डिजेलबाट चल्ने सवारीहरूले ठूलो मात्रामा कार्बन उत्सर्जन गर्छन् । पछिल्ला वर्षहरूमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको भए पनि यसको विस्तार अझै पर्याप्त छैन । यदि सरकारले चार्जिङ पूर्वाधार विस्तार गर्ने, कर नीति सुधार गर्ने र सार्वजनिक यातायातलाई विद्युतीकरण गर्ने हो भने कार्बन उत्सर्जन उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।

ऊर्जा क्षेत्रमा नेपालसँग ठूलो सम्भावना छ, नेपालको जलविद्युत् उत्पादन क्षमता विशाल छ । यदि स्वच्छ ऊर्जाको अधिकतम उपयोग गर्न सकियो भने नेपाल दक्षिण एशियाकै हरित ऊर्जा केन्द्र बन्न सक्छ । घरायसी, औद्योगिक र यातायात क्षेत्रमा विद्युतीय ऊर्जाको प्रयोग बढाउनु आजको आवश्यकता हो । यसले आयातित पेट्रोलियम पदार्थमा निर्भरता घटाउने मात्र होइन, वातावरण संरक्षणमा समेत ठूलो योगदान पु¥याउनेछ ।

जलवायु परिवर्तनले कृषि क्षेत्रमा गम्भीर असर पारेको छ । वर्षा अनियमित हुँदा किसानले समयमै रोपाइँ गर्न सकिरहेका छैनन् । लामो खडेरीले उत्पादन घटाएको छ भने अत्यधिक वर्षाले बाली नष्ट गरिरहेको छ । नयाँ–नयाँ रोग र कीराको प्रकोप बढ्दै गएको छ । खाद्य सुरक्षा कमजोर हुँदै गएको छ । जलवायु अनुकूल कृषि प्रणाली, वर्षाको पानी संकलन, सिँचाइ विस्तार, माटो संरक्षण तथा स्थानीय बीउ संरक्षण जस्ता उपायहरूलाई प्राथमिकता दिन आवश्यक छ ।

यस समस्याको समाधान सरकारको एकल प्रयासले मात्र सम्भव हुँदैन । प्रत्येक नागरिकको जीवनशैलीमा परिवर्तन आवश्यक छ । एउटा नागरिकले वर्षमा कम्तीमा केही बिरुवा रोप्ने, रोपेको बिरुवाको संरक्षण गर्ने, एकपटक प्रयोग हुने प्लाष्टिकको प्रयोग घटाउने, फोहोर छुट्याएर व्यवस्थापन गर्ने, जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने, सार्वजनिक यातायात वा विद्युतीय सवारीको प्रयोग गर्ने, अनावश्यक ऊर्जा खपत कम गर्ने र पानीको संरक्षण गर्ने जस्ता सामान्य अभ्यासहरूले समेत ठूलो परिवर्तन ल्याउन सक्छन् ।

नेपाल सरकारले हरित विकासलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ । प्रत्येक नगरपालिकाले हरियाली विस्तार, पार्क निर्माण, नदी तथा खोला संरक्षण, खुला क्षेत्र जोगाउने, भवन निर्माणमा हरित मापदण्ड लागू गर्ने, वर्षाको पानी संकलनलाई प्रोत्साहन गर्ने तथा प्रभावकारी फोहोर व्यवस्थापन प्रणाली विकास गर्नुपर्छ । विद्यालयहरूमा वातावरणीय शिक्षा व्यवहारिक रूपमा लागू गरिनुपर्छ, ताकि नयाँ पुस्ताले प्रकृतिप्रति जिम्मेवार सोच विकास गर्न सकून् ।

निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण छ । उद्योगहरूले स्वच्छ प्रविधि अपनाउनुपर्छ । प्लाष्टिकको प्रयोग घटाउनुपर्छ । पुनःप्रयोगयोग्य सामग्रीको प्रयोग बढाउनुपर्छ । कार्बन उत्सर्जन मापन गरी क्रमशः न्यूनीकरण गर्ने योजना बनाउनुपर्छ । ’हरित व्यवसाय’ अब सामाजिक उत्तरदायित्व मात्र होइन, दीर्घकालीन आर्थिक रणनीति पनि हो ।

नेपालका युवाहरू जलवायु आन्दोलनका सबैभन्दा प्रभावकारी शक्ति बन्न सक्छन् । देशभर हजारौं युवा वृक्षारोपण, नदी सफाइ, प्लाष्टिक न्यूनीकरण, वातावरणीय शिक्षा र जलवायु सचेतना अभियानमा सक्रिय छन् । यदि सरकार, नागरिक समाज, निजी क्षेत्र र युवाहरूबीच प्रभावकारी सहकार्य हुन सके नेपालले हरित विकासको उदाहरण प्रस्तुत गर्न सक्छ ।

हामीले बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा के हो भने पृथ्वीलाई बचाउने अभियान वास्तवमा मानव अस्तित्व बचाउने अभियान हो । प्रकृतिले हामीलाई पानी, हावा, माटो, वन, जैविक विविधता र जीवनका सम्पूर्ण आधारहरू प्रदान गरेको छ । यदि हामीले प्रकृतिलाई निरन्तर क्षति पु¥याइरह्यौं भने अन्ततः त्यसको मूल्य मानव सभ्यताले नै चुकाउनुपर्नेछ ।

हाम्रो आजको निर्णयले भोलिको नेपाल निर्माण गर्छ, त्यसैले हामीसँग दुईवटा विकल्प छन्, एकातर्फ अहिलेको जस्तै प्रकृति दोहनलाई निरन्तरता दिई अत्यधिक गर्मी, बाढी, पहिरो, खडेरी र स्वास्थ्य संकटलाई अझ गम्भीर बनाउने; अर्कोतर्फ हरित विकास, स्वच्छ ऊर्जा, वृक्षारोपण, प्लाष्टिक न्यूनीकरण, दिगो शहरीकरण र जिम्मेवार जीवनशैली अपनाएर सुरक्षित भविष्य निर्माण गर्ने ।

समय अझै बितिसकेको छैन, तर धेरै बाँकी पनि छैन । आजैबाट हरेक नागरिक, हरेक समुदाय, हरेक स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार र हरेक संस्था तथा नीजि क्षेत्रले हरित नेपाल निर्माणको अभियानलाई आफ्नो दायित्वका रूपमा लिनुपर्छ । एउटा बिरुवा रोप्नु, एउटा प्लाष्टिक कम प्रयोग गर्नु, एउटा फोहोर नजलाउनु र एउटा वातावरणमैत्री निर्णय गर्नु पनि जलवायु परिवर्तनविरुद्धको ठूलो योगदान हुन सक्छ ।

हरित नेपाल कुनै सपना होइन, यो हाम्रो अस्तित्वको आवश्यकता हो । प्रकृतिको संरक्षण भनेको मानव सभ्यताको संरक्षण हो । यदि हामीले आज प्रकृतिलाई बचायौं भने मात्र भोलिका पुस्ताले सुरक्षित, स्वच्छ र समृद्ध नेपाल पाउनेछन् ।

– कार्यकारी निर्देशक, क्लिन अप नेपाल

  • १७ आश्विन २०८३, शनिबार प्रकाशित

  • Nabintech