राष्ट्र सेवामा समर्पित हुने शपथपत्रमा सम्बत् २०५७ असार एक गते हस्ताक्षर गरी शाखा अधिकृत पदबाट शुरू भएको मेरो निजामती सेवाको यात्रा विशिष्ट श्रेणीको सचिव पदको पूर्ण कार्यकाल संगै आजबाट टुङ्गिएको विषय जानकारीको लागिअनुरोध गर्दछु। यस अवधिमा विभिन्न तवरले सहयोग गर्नुहुने सबैमा आभार एबम् धन्यवाद ज्ञापन गर्दछु । सेवा अवधिको निजी अनुभवको सार संक्षेप देहाय बमोजिम प्रस्तुत गरेको छु ।
१. निजामती सेवामा जम्मा सेवा अवधि २६ बर्ष ३ महिना मध्ये काठमाडौँ उपत्यकाभित्र १२ बर्ष ९ महिना र काठमाडौं उपत्यका बाहिर १३ बर्ष ६ महिना काम गरेँछु । १५ वटा कार्यालयमा कार्यालय प्रमुखको जिम्मेवारी सहित जम्मा १९ वटा कार्यालयमा रहेर सेवा प्रवाह गरेँछु।
२. राष्ट्र र जनताको सेवा गर्नुपर्ने गहन जिम्मेवारीको शपथलाई हृदयङ्गम गरी कानून बमोजिम कार्य सम्पादन गरेँ । सेवा अवधिभर “राष्ट्रहित सर्वोत्कृष्ट” को मर्मलाई मनमा राखेर काम गरेँ । “मेरो जिम्मेवारी म नै पूरा गर्छु” भन्ने विषयलाई आदर्श वाक्य बनाइ सोही बमोजिम गर्ने र गराउने काम गरेँ ।
३.”रिझाउने ” कामलाई प्राथमिकता दिइन । “रिझाउने” तिर नलाग्दा कतिपय स्वभाविक अवसरबाट बञ्चित भएको महशुस गरेँ तर निराश भइन । “बिझाउने” काम गर्नै नपरोस् भन्ने थियो तर कर्मचारी कानूनको बाटोमा हिड्ने वर्ग हो । “निर्णय” नेतृत्वको पहिचान हो ।सार्वजनिक पदको नेतृत्वमा रहेर कानून बमोजिम गरिएका निर्णयबाट कसैले आफ्नो मन बिझाएको अनुभूति गर्नु भएको भए सोही बमोजिम बुझिदिनु हुनेछ । आफूलाई प्राप्त अवसर समेत अरूलाई प्रदान गरेर भए पनि मातहतलाई उत्प्रेरित गर्ने प्रयास गरेको विषयलाई समेत स्मरण गर्न चाहन्छु ।
४. सरकारी कार्यसम्पादन निश्चित संरचनाभित्रको समूह कार्य हो । तोकिएको समयभित्र कार्य फछ्यौट गर्ने उत्कट चाहना हुँदाहुँदै पनि विभिन्न तह र फरक फरक कार्यशैली भएका ब्यक्तिहरु एउटै लयमा परिचालित हुनुपर्ने, कानूनी सीमा, स्रोत साधनको न्यूनता र बाह्य वातावरणको सन्तुलन मिल्न नसकी कतिपय अवस्थामा तोकिएको समयमा वाञ्छित उपलब्धि प्राप्त नहुँदा मन खिन्न हुने रहेछ ।
५. गाउँको सामान्य परिवारमा जन्म लिएर गोठाले र विद्यार्थी जीवन साथसाथै अघि बढाएको किसानको सन्तति आफ्नै परिश्रमले राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा पुग्ने मौका पाएँ । कार्यसम्पादनमा निष्ठा र इमानलाई कहिल्लै छोडिन । राष्ट्रलाई शिरमा राखी आफ्नो क्षमता र विवेकले भ्याए सम्मको काम गरेँ ।
६. राज्यबाट मैले काम पाएँ, पहिचान पाएँ, सम्मान पाएँ । निजामती सेवाबाट निवृत्त हुँदाको यो क्षणमा सन्तुष्ट छु, राज्यप्रति कुनै पनि किसिमको गुनासो छैन ।
७. निजामती सेवाबाट निवृत्त भइरहँदाको यो घडीमा विगतमा संगै काम गरेका कर्मचारी साथीहरूलाई झल्झली सम्झिरहेको छु ।निजामती सेवामा रहँदा कार्यसम्पादनमा सहयोग गर्नुहुने सम्पूर्ण सहृदयी मनहरूप्रति कृतज्ञता प्रकट गर्दछु र यहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।









