सशस्त्र प्रहरीका एआईजी दाहाल बर्खास्त

असल शासन प्रतिनिधि

काठमाडौं /सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक ९एआईजी० वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा उनीमाथि विभागीय कारबाही गर्दै सेवाबाट हटाउने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार दाहाललाई आजैदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणविपरीत कार्य गरेको ठहर गर्दै उनीमाथि कारबाही गरिएको उल्लेख छ।

यसअघि संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले असोज १९ गते दाहाललाई पदबाट निलम्बन गरेको थियो। सुरक्षासम्बन्धी गोप्य सूचना बाहिर पुर्‍याएर पदीय मर्यादा र आचरणविपरीत काम गरेको भन्दै सशस्त्र प्रहरी बलले उनीमाथि कारबाही गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो।

घटनाको थप छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयले जाँचबुझ अधिकृतसमेत तोकेको जनाएको छ। मन्त्रालयले सुरक्षा निकायका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, संवेदनशील सूचना चुहावट तथा शान्ति सुरक्षामा असर पार्न सक्ने क्रियाकलापमाथि निगरानी र विश्लेषण गरिरहेको पनि स्पष्ट पारेको छ।

सुरक्षा निकायमा कार्यरत कर्मचारीबाट गोपनीयता र पदीय जिम्मेवारीको उल्लङ्घन हुन नदिन मन्त्रालयले यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

  • २३ आश्विन २०८३, शुक्रबार प्रकाशित

  • Nabintech