काठमाण्डौं । कञ्चनपुरका एक व्यक्ति साढे १३ लाख रुपैयाँ खर्चेर हेलिकप्टर चार्टर गरी काठमाडौंबाट महेन्द्रनगर पुगेका छन्।
भीमदत्त नगरपालिका वडा नम्बर ६ का भक्तराज भट्ट मंगलबार सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर महेन्द्रनगर पुगेका हुन्। एक दशकदेखि इङ्ल्यान्डमा बस्दै आएका भट्ट दसैँ मनाउन र बिरामी आमालाई भेट्न घर फर्किएका हुन्।
दसैँका बेला हवाई यात्रुको अत्यधिक चापका कारण काठमाडौंबाट धनगढी आउने नियमित उडानको टिकट नपाएपछि उनले हेलिकप्टर चार्टर गरेका थिए।
पारिवारिक स्रोतका अनुसार आमाको स्वास्थ्य अवस्था राम्रो नभएकाले उनी जसरी पनि छिटो घर पुग्न चाहन्थे। तर, नियमित हवाई उडानको टिकट नपाएपछि उनले महँगो खर्चमा हेलिकप्टर चार्टर गर्ने निर्णय गरेका हुन्।
सिम्रिक एयरको हेलिकप्टरमा भट्टसहित चार जना महेन्द्रनगर पुगेका थिए। काठमाडौं–महेन्द्रनगर हेलिकप्टर चार्टर गर्दा साढे १३ लाख रुपैयाँ खर्च भएको हो।
हेलिकप्टरमार्फत गाउँ पुगेका भट्टलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका थिए। भट्ट हेलिकप्टरबाट महेन्द्रनगर पुगेको र बाजागाजासहित स्वागत गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।









