कम्युनिष्ट नेता बाबुरामको निधन

सिङ्गो बाँके जिल्ला स्तव्ध

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश बाँके-३ प्रदेश (ख) का पूर्व माननीय बाबुराम गौतमको असामयिक निधन भएकाेछ ।

८१ बर्षको उमेरमा खजुरा २ सितापुर के गाउँ स्थित निवासमा गौतमको निधन भएको हो ।

केही दिन देखि अस्वस्थ रहेका उनको निधनबाट सिङ्गो बाँके जिल्लानै स्तब्ध बनेको छ । सामाजिक संजाल उनको श्रद्धाञ्जलीले भरिएको छ ।

पारिवारिक श्रोतका अनुसार उनको अन्तिम दाहसंस्कार उनको पुख्र्यौली घर गुल्मीमा गरिने भएको छ ।

उनका दुई छोरा छन् । जेठा बाबू तरुण गौतम श्री नारायण माबि नेपालगन्जमा प्रधानाध्यापक छन् भने कान्छा प्रचण्ड गौतम वरिष्ठ नेत्र रोग विशेषज्ञ हुन् ।

कम्युनिस्टका संस्थापक पुष्पलाल सँगै रहेर उनले नेपाली कम्युनिस्ट आन्दोलनकाे विस्तारकाे लागि २०२३ सालमा भारतकाे बनारसमा पार्टी सँगठित सदस्यता पुष्पलालबाटै प्राप्त गरि सक्रिय भुमिगतकालिन राजनीति शुरु गरेका थिए ।

गौतमले नेपाली कम्युनिस्ट आन्दोलन, नेकपा (एमाले) को संगठन निर्माण तथा भेरी, कर्णालीको राजनीतिक विकासमा योगदान पुर्‍याएका थिए ।

एमाले नेता भिम ओलिले गौतमको सादा जीवन, उच्च बिचार, राजनीतिक निष्ठा र संगठनप्रतिको समर्पण हामी सबैका लागि प्रेरणादायी रहने बताए । उहाँको निधनले समाज, पार्टी र समग्र राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ- ओलिले भने ।

गुल्मीको थोर्गामा जन्मिएका गौतमले आफ्नो कर्मथलो बाँकेलाई बनाएका थिए । पुष्पलालले पार्टीको पुनर्गठन गरेपछि उनको मातहत, पछि नेकपा (मनमोहन समुह), एकतापछि नेकपा (मार्क्सवादी) हुँदै एकीकरणपश्चात् नेकपा (एमाले) मा एकताबद्ध उनी हाल पार्टीको केन्द्रीय सल्लाहकार थिए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले शोक वक्तव्य प्रकाशन गरि नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार, तथा लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य आफ्ना राजनितीक गुरु बाबुराम गौतमको ८१ बर्षको उमेरमा खजुरा २ सितापुरमा असामयिक निधनको खबरले अत्यन्त दुःखी र मर्माहत बनाएको उल्लेख गरेका छन् ।

दिवंगत गौतमले नेपाली कम्युनिस्ट आन्दोलन, नेकपा (एमाले) को संगठन निर्माण तथा सुर्खेत, बाँके र बर्दियाको राजनीतिक विकासमा पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहनेछ । उहाँको सरल जीवनशैली, राजनीतिक निष्ठा र संगठनप्रतिको समर्पण हामी सबैका लागि प्रेरणादायी छन् । उहाँको निधनले पार्टी र समग्र राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। उहाँले नेपाल कम्युनिस्ट पार्टीका सस्थापक पुष्पलाल र प्रथम महासचिब मनमोहन अधिकारीसंग अत्यन्त निकट रहेर काम गर्नुभएको थियो – शोक बक्तव्यमा भनिएको छ –  यस दुःखद घडीमा दिवंगत गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त धर्मपत्नी महेश्वरी गौतम, छोराहरू बाबुतरुण गौतम र डाक्टर प्रचण्ड गौतमसहित, परिवारजन तथा आफन्तमा गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु ।

  • ५ कार्तिक २०८३, बुधबार प्रकाशित

  • Nabintech