टेन्ट भित्रको त्यो खुसी र मेरो मनमा उठेका भावनाहरू 

बिर्ख बहादुर कार्की

गत श्रावण ३० गते पानीका कारण आएको पहिरोले मेरो गाउँमा ठूलो विपत्ति निम्त्यायो। मेरा चार जना आफन्तले ज्यान गुमाउनुभयो । दर्जनौँ घाइते हुनुभयो । मेरा छिमेकीका १४ घरपरिवारका १४ वटै घर पूर्ण रूपमा क्षति भए।दर्जनाै घरहरु जाेखिममा छन् ।
कसैको घर मात्र बगेन, वर्षौँको मेहनत, पसिना, सम्झना र भविष्यका सपनासमेत पहिरोसँगै बगे । अहिले ती १४ घरपरिवार आफ्नो घरबार गुमाएर होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

हिजो दशैँको टीकाको दिनको कुरा हो । साँझको सवा सात बजेको थियो । म आफ्नो पसल बन्द गरेर घर फर्कँदै थिएँ । अचानक होल्डिङ सेन्टरभित्रबाट गीत बजिरहेको र नाचगान भइरहेको आवाज सुनियो। मेरो पाइला त्यतैतिर मोडियो ।(घर जाने बाटाे टेन्ट नजिकबाटै छ।)
त्यहाँ पुग्दा कसैले आफ्ना आफन्तलाई दशैँको टीका लगाइरहेका थिए, कोही मोबाइलमा व्यस्त थिए भने कोही खाना खाँदै थिए । त्यसैबीच नाचगानको आवाज आइरहेको टेन्टतिर गएँ । भित्र के भइरहेको रहेछ भनेर हेर्न मन लाग्यो ।

मैले टेन्टको पर्दा हटाउँदै नाच हेर्न अनुमति मागेँ । भित्र ४–५ जना युवाहरू मोबाइल हेरिरहेका थिए भने केटाकेटीहरू रमाउँदै नाचिरहेका थिए । मैले भिडियो बनाउँछु भन्दा सुरुमा उनीहरू केही हिचकिचाए । तर केही बेरमै सहमत भए । मैले छोटो भिडियो बनाएँ र उनीहरूलाई भनेँ, “ल, ल, रमाइलो गर!”

यति भनेर म त्यहाँबाट फर्किएँ । तर मेरो शरीर मात्र त्यहाँबाट फर्किएको थियो, मन भने त्यही टेन्टभित्रै कताकता अल्झिरहेको थियो ।
एकातिर दशैँको रमाइलो, गीतको धुन र केटाकेटीको नाच थियो । अर्कोतिर आफ्नै घरबार गुमाएर त्यहाँ बस्न बाध्य परिवारहरूको वास्तविकता थियो ।

उनीहरूसँग सुत्नका लागि खाट छैन । चिसो भुइँमा त्रिपाल बिछ्याएर रात काट्नुपरेको छ । आफ्नो घरमा जस्तो सुविधा छैन, सहजता छैन । भोलि के होला भन्ने चिन्ता पनि पक्कै छ । तर त्यही अभाव र कठिनाइबीच उनीहरू दशैँ मनाइरहेका थिए, बालबालिकाहरू नाचिरहेका थिए र जीवनलाई जसोतसो खुसी बनाउने प्रयास गरिरहेका थिए ।

त्यो दृश्य देखेपछि मेरो मनमा अनेकौँ कुरा खेल्न थाले।
आखिर खुसी भनेको के रहेछ ? सन्तुष्टि भनेको के रहेछ ? अरुकाे खुशिकाेलागि आफू दु:खि हुने म जस्ता मान्छेलाई यस्ता प्रश्नहरुले झन बढि साेच्न वाध्य बनाउने रहेछ ।

हामीमध्ये कतिपयलाई घर भएर पनि घरको सुख पुगेको हुँदैन। मिठो खान पाएर पनि सन्तुष्टि हुँदैन । अनेक सुविधा हुँदा पनि मन खुसी हुँदैन । तर यी परिवारहरू ?

जसको घर छैन, खाट छैन, सहज रूपमा रात बिताउने ठाउँसमेत छैन,उनीहरू पनि आफ्नो दुःखलाई केही समय बिर्सेर रमाउन खोजिरहेका थिए ।

त्यतिबेला मलाई लाग्यो— जीवनमा सन्तुष्टि नै सबैभन्दा ठूलो कुरा रहेछ। दुःख नहुनु मात्र खुसी होइन रहेछ, दुःखका बीचमा पनि खुसीको सानो क्षण खोज्न सक्नु नै जीवनको ठूलो शक्ति रहेछ ।
तर यो सोचिरहँदा मन पूर्ण रूपमा हलुका हुन सकेन ।
पहिरोमा ज्यान गुमाएका मेरा ती चार जना आफन्तको सम्झना आइरह्यो । उहाँहरू आज हामीसँग हुनुहुन्न ।

विगतका दिन जस्तै म मामा घर गएर माइजू र दाईसंग टीका लगाउन पाउन छैन र मेराे घरमा पनि ती भतिजाहरु टीका लगाउन कहिल्यै आउने छैनन् । उहाँहरूसँगै बिताएका पलहरू र उहाँहरूका सम्झनाले मन फेरि भारी भयो ।

एकातिर घरबार गुमाएका छिमेकीहरूको त्यो सानो खुसीले मन आनन्दित बनाएको थियो भने अर्कोतिर गुमाएका आफन्तको सम्झनाले आँखा रसाईरह्याे । घर टीका लगाउन आफन्तहरु आएकाेले छिटाे पुग्नलाई पटक पटक फाेन आईरहेकाे थियाे।तर पनि मेराे पाईला निकै ढिला चलिरहेकाे थियाे । यस्तै भावनाहरू मनमा खेलाउँदै म घर पुगेँ।

त्यो साँझको दृश्यले मलाई एउटा कुरा गहिरोसँग सिकायो—
पहिरोले घर भत्काउन सक्छ, सम्पत्ति बगाउन सक्छ र हाम्रा प्रियजनलाई हामीबाट टाढा लैजान सक्छ। तर मानिसको मनभित्र बाँकी रहेको आशा, आपसी माया र खुसी हुने चाहनालाई सजिलै समाप्त गर्न सक्दैन।

दुःखको समयमा हाँस्नु भनेको दुःख बिर्सनु होइन । नाच्नु भनेको पीडा नभएको होइन । रमाउनु भनेको आफ्नो क्षति सानो ठान्नु पनि होइन ।
सायद उनीहरू पनि मनभित्र पीडा बोकेरै रमाइरहेका थिए । सायद केही क्षण भए पनि दुःख बिर्सन चाहन्थे। सायद उनिहरु वाध्यतावश पीडा भुल्न खोजिरहेका थिए । र, त्यो खुसी उनीहरूको अधिकार पनि हो ।

तर उनीहरूको जीवनमा सधैँ यस्तै अनिश्चितता रहिरहनु हुँदैन । टेन्टभित्रको अस्थायी आश्रयलाई सुरक्षित घरमा बदल्नुपर्छ । चिसो भुइँमा त्रिपाल बिछ्याएर सुत्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । उनीहरूले सम्मानपूर्वक बाँच्न पाउनुपर्छ ।

उनीहरूको मुस्कानलाई देखेर खुसी हुनु मात्र पर्याप्त छैन, त्यो मुस्कानलाई स्थायी बनाउन सक्ने वातावरण निर्माण गर्नु पनि हामी सबैको दायित्व हो ।

अन्त्यमा, पहिरोमा ज्यान गुमाउनुभएका मेरा आफन्तहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । घरबार गुमाएका मेरा छिमेकीहरूको जीवनमा छिट्टै सुरक्षित बास र खुसी फर्कियोस् भन्ने कामना गर्दछु । साथै उचित व्यवस्थापनकाेलागि सबै सराेकारवालाहरुसंग अनुरोध पनि गर्दछु ।
घर नहुनु ठूलो पीडा हो, तर आशा नहुनु झन् ठूलो पीडा हो।

आशा जीवित रहोस्, मानवता जीवित रहोस् र दुःखमा पनि एकअर्काको साथ दिने हाम्रो भावना सधैँ जीवित रहोस् ।

  • ६ कार्तिक २०८३, बिहीबार प्रकाशित

  • Nabintech