एनपीएल : जनकपुर र कर्णालीको जित, काठमाडौं र विराटनगर पराजित

असल शासन प्रतिनिधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत बिहीबार भएका दुई खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स विजयी भएका छन्। जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो खेलमा विराटनगरले प्रस्तुत गरेको १८७ रनको लक्ष्य कर्णालीले १९।५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

जनकपुरको पहिलो जित, काठमाडौं ८ विकेटले पराजित
एनपीएलको बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९।३ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो। काठमाडौंका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। राशिद खानले १७ तथा स्मित पटेलले १३ रन जोडे।

काठमाडौंलाई कम योगफलमा रोक्ने क्रममा जनकपुरका राहुल यादवले उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। सैफ हसनले दुई विकेट लिँदा मोइन अली, कप्तान हरमित सिंह र ललित राजवंशीले एक–एक विकेट लिए।

११६ रनको लक्ष्य पछ्याएको जनकपुरले १७।२ ओभरमा दुई विकेटको क्षतिमा ११९ रन बनाउँदै जित सुनिश्चित गर्‍यो। जनकपुरका मोइन अलीले अविजित ५८ रन बनाए। उनले ५१ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। सैफ हसनले अविजित ४० रनको योगदान दिए। यी दुईबीच तेस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी भयो। यसअघि जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाडौंका लागि भने यो प्रतियोगिताको पहिलो खेल थियो।

कर्णालीको रोमाञ्चक जित, विराटनगर ४ विकेटले पराजित
दिनको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। विराटनगरका ओपनर लोकेश बमले आक्रामक ब्याटिङ गर्दै ५२ बलमा ८७ रन बनाए। उनले तीन चौका र नौ छक्का प्रहार गरे। एन्जेलो म्याथ्युजले ३१ तथा आन्द्रे रसेलले २७ रनको योगदान दिए।

कर्णालीका कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए। मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे।
१८७ रनको लक्ष्य पछ्याएको कर्णालीले १९।५ ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाउँदै जित हासिल गर्‍यो। कर्णालीका सोमपाल कामीले ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६२ रन बनाए। उनले ३२ बलमा चार चौका र पाँच छक्का प्रहार गरे।

विराटनगरका बलरहरूले कर्णालीलाई रोक्ने प्रयास गरे पनि सोमपालको आक्रामक ब्याटिङका कारण सफल हुन सकेनन्। यस जितसँगै कर्णालीले प्रतियोगितामा आफ्नो प्रभावशाली सुरुआतलाई निरन्तरता दिएको छ। यसअघि कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो। विराटनगर भने पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो।

  • १३ कार्तिक २०८३, बिहीबार प्रकाशित

  • Nabintech