कर्णाली याक्सद्वारा काठमाडौं गोर्खाजलाई १८१ रनको लक्ष्य

असल शासन प्रतिनिधि

नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत सोमबार जारी पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो।

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, हुसेन तलतले ३० बलमा १ चौका र २ छक्काको मद्दतमा ४० रन जोडे।

पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै २३ बलमा २ छक्कासहित अविजित ३० रन बनाए भने गुल्सन झाले १२ बलमा २ छक्का प्रहार गर्दै २० रनको योगदान दिए।

कर्णालीले यस खेलमा बंगलादेशी खेलाडी जिशान आलमलाई पनि मैदानमा उतारेको छ। आइतबार मात्रै नेपाल आइपुगेका जिशानले अरिफुल इस्लामसँग ओपनिङ गरेका थिए। तर, टोलीको स्कोर २० रन पुग्दा उनी व्यक्तिगत ७ रनमा आउट भए।

दोस्रो विकेटका लागि अरिफुल इस्लाम र मार्क वाटले ४६ रनको साझेदारी गरेका थिए। त्यसपछि लगातार विकेट गुमाएको कर्णाली ७८ रनमा ४ विकेटको अवस्थामा पुगेको थियो।

तर, पवन सर्राफ र हुसेन तलतले पाँचौँ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्हाले। १७औँ ओभरको अन्तिम बलमा हिट विकेट भएका तलतले ३० बलमा ४० रन बनाए। त्यसपछि पवन सर्राफ र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गर्दै टोलीको स्कोर १८० पुर्‍याए।

बलिङतर्फ काठमाडौं गोर्खाजका कप्तान करण केसीले २ विकेट लिए। त्यस्तै, शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले समान १–१ विकेट हात पारे।

अब काठमाडौं गोर्खाजले जितका लागि २० ओभरमा १८१ रन बनाउनुपर्नेछ।

  • १७ कार्तिक २०८३, सोमबार प्रकाशित

  • Nabintech