मौलिक संस्कृतिसँग पुनः जोडिने सांगीतिक प्रयास

असल शासन प्रतिनिधि

‘सारङ्गीको र्याइँ र्याइँ, पञ्चेबाजा झ्याइँ’ नेपाली मौलिक लोकलयमा आधारित मनोरञ्जनात्मक तथा नृत्यप्रधान लोकगीत हालै बजारमा आएको छ । उक्त गितको प्रमुख भुमिकामा कलाकार खड्ग कुवँर (नवराज) रहेका छन् । उनसँग गितका बारेमा गरिएको कुराकानी यहाँ प्रश्तुत गरिएको छ ।

१. सारङ्गीको र्याइ, र्याइ कस्तो प्रकारको गीत हो ?
– ‘सारङ्गीको र्याइँ र्याइँ, पञ्चेबाजा झ्याइँ’ नेपाली मौलिक लोकलयमा आधारित मनोरञ्जनात्मक तथा नृत्यप्रधान लोकगीत हो । यस गीतमा लोकदोहोरीको मिठास, नेपाली लोकवाजा सारङ्गीको महत्व, पञ्चेबाजाको उत्साह र नेपाली मौलिक संस्कृतिको सुन्दर संयोजन गरिएको छ । गीतले बाल्यकालका रमाइला सम्झना, युवावस्थाका आकर्षण र प्रेम, साथीभाइबीचको आत्मीयता तथा पारिवारिक सम्बन्धलाई समेटेको छ । विशेषगरी बाल्यकालदेखि युवावस्था हुँदै वर्तमानसम्मको जीवनयात्रालाई तीन पुस्ताको कथामार्फत प्रस्तुत गर्दै नेपाली समाजको रहनसहन, संस्कृति र पुस्तान्तरण हुँदै जाने सम्बन्धलाई जीवन्त बनाउने प्रयास गरिएको छ । समग्रमा, यो गीत मनोरञ्जनका साथै आफ्ना विगतका सुन्दर सम्झना र नेपाली मौलिक संस्कृतिसँग पुनःजोडिने एउटा सांगीतिक प्रयास हो ।

२. यस गीतको पृष्ठभुमि के हो ? 
– यो गीतलाइ गण्डकी प्रदेशका पुर्व वरिष्ठ तालिम प्रमुख नेपाल रानाभाट (सुवोध) ले तयार पार्नुभएको हो । तालिम सञ्चालनको क्रममा उहाँसङ्ग सम्पर्क समन्वय बढ्दै जाँदा मलाइ यस गीतमा काम गर्ने अवसर मिल्यो । उहाँले यस अघि पनि थुप्रै गीतहरु लेखिरहनुभएको, रेकर्ड पनि गराइसक्नुभएको र म पनि गीतमा रुची राख्ने, तालिमहरुमा गीत गाउँने, यस अघि मैले पनि एउटा जीवन कार्कीज्युले तयार पार्नुभएको गीतमा साथीहरुसँग मिलेर खेलेमा थियौ । मनमा इच्छा, चाहना हुुदाहुुदै पनि जागीरे दौरानमा कहिले कता, कहिले कता गइरहनुपर्दा मेसो मिलेको थिएन तर यसपालि सर्जक नेपाल रानाभाट ज्युको सँगतमा यो म्युजिक भिडियो ‘सारङ्गीको र्याइँ र्याइँ, तयार पार्ने र खेल्ने अवसर मिल्यो । यसका लागि म सर्वप्रथम आदरणीय व्यक्तित्व रानाभाट ज्युलाइ हार्दिक धन्यवाद दिन चाहन्छु । पछि हामीले गण्डकी प्रदेश गीतकार प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेशका प्राज्ञ अनुराध अधिकारी ज्युलाइ निर्देशन र संयोजन गर्ने कुरा सहमति भयो सोही अनुसार नै यो म्युजिक भिडियो तयार भएको छ ।

३. यस गीतको सर्जक, गायक, गायीका को हुनुहुन्छ ? अभिनय क-कस्ले गर्नुभएको छ ?
– यो गीतका शब्द रचना र संगीतको सिर्जना नेपाल रानाभाटले गर्नुभएको ओ भने यस गीतका गायकहरू चर्चित गायक तथा संगित एरेन्जर कृष्ण केसी गण्डकी लोक तथा दोहोरी गीत प्रष्ठिानका उपाध्यक्ष रामजी पौडेल र जुनु रिजाल हुनुहुन्छ । गीतको म्युजिक भिडियोमा म आफै खड्ग (नवराज), सङ्गीता थाती, अनुपमा अधिकारी र दीपक परियारले मुख्य भूमिका निर्वाह गर्नुभएको छ । त्यसैगरी बालकलाकारहरू स्वभावी खत्री र सिद्धार्थ विककोे पनि अभिनय रहेको छ । उहाँहरूको अभिनयले बाल्यकाल, युवावस्था र वर्तमान अवस्थाबीचको जीवनयात्रालाई जीवन्त बनाएको छ ।

४. यो गीतले दिन खोजेको सन्देश के हो ? गीत बजारमा आइसकेको छ, कस्ता प्रतिक्रियाहरु पाउँनुभएको छ? अनि तपाइको अपेक्षा के रहेको छ ?
– ‘सारङ्गीको र्याइँ र्याइँ’ गीतमार्फत हामीले नेपाली मौलिक संस्कृति, पारिवारिक सम्बन्ध, बाल्यकालका अविस्मरणीय सम्झना र पुस्तान्तरण हुँदै जाने जीवनयात्राको सुन्दर सन्देश दिन खोजेका छौँ । मानिसको जीवनमा समयसँगै उमेर, परिस्थिति र जिम्मेवारी परिवर्तन भए पनि बाल्यकालका साथी, आत्मीयता, प्रेम र सम्झनाहरू कहिल्यै पुराना हुँदैनन् भन्ने भाव यस गीतमा प्रस्तुत गरिएको छ। साथै, हाम्रा मौलिक परम्परा, देउसीभैलो, पञ्चेबाजा र बाल्यकालका रमाइला संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउने हाम्रो प्रयास पनि हो । गीत सार्वजनिक भएपछि दर्शक, श्रोता, आफन्त, साथीभाइ तथा शुभचिन्तकहरूबाट निकै उत्साहजनक प्रतिक्रिया पाएका छौँ । विशेषगरी गीतको मौलिकपन, कथावस्तु, अभिनय र तीन पुस्तालाई जोड्ने प्रस्तुतिको प्रशंसा गर्नुभएको छ । सामाजिक सञ्जालमा साथीभाइ इष्ठमित्र र दर्शकहरूले स्वतःस्फूर्त रूपमा गीत हेर्ने, सेयर गर्ने र सकारात्मक प्रतिक्रिया दिने गर्नुभएको छ । यसले हामीलाई थप उत्साहित बनाएको छ ।

जहाँसम्म अपेक्षाको कुरा छ, हाम्रो पहिलो उद्देश्य आर्थिक लाभभन्दा पनि नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र पुस्ताबीचको सम्बन्धलाई कलात्मक रूपमा जीवन्त बनाउनु हो । यो गीत नेपालभित्र मात्र नभई विदेशमा रहनुभएका नेपालीहरूमाझ पनि पुग्न सकोस् र नयाँ पुस्ताले आफ्नो संस्कृति र बाल्यकालका सुन्दर सम्झनासँग जोडिन सकोस् भन्ने चाहना छ । अन्ततः यो गीत धेरै दर्शकको मनमा बस्न र नेपाली सांस्कृतिक पहिचानको एउटा सुन्दर प्रस्तुति बन्न सकोस् भन्ने हाम्रो अपेक्षा छ ।

५. अन्तमा तपाइको भनाइ के छ ?
– सर्वप्रथम, हाम्रो ‘सारङ्गीको र्याइँ र्याइँ’ गीतलाई माया गरेर हेर्नुहुने, सुन्नुहुने, सेयर गर्नुहुने र सकारात्मक प्रतिक्रिया दिनुहुने सम्पूर्ण दर्शक, श्रोता, आफन्त, साथीभाइ तथा शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यो गीत केवल मनोरञ्जनका लागि मात्र नभई हाम्रो बाल्यकाल, पुराना मित्रता, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिलाई सम्झाउने एउटा सानो प्रयास हो । कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन हामी सबैको साझा दायित्व हो भन्ने लाग्छ । अन्त्यमा, नेपाली गीत सङ्गीतलाई माया गरिदिनुहोस्, मौलिक सिर्जनालाई प्रोत्साहन गर्नुहोस् र हाम्रो ‘सारङ्गीको र्याइँ र्याइँ’ लाई पनि धेरैभन्दा धेरै दर्शक तथा श्रोतामाझ पु¥याइदिनुहुन हार्दिक अनुरोध गर्दछु । धन्यवाद ।

  • २८ कार्तिक २०८३, शुक्रबार प्रकाशित

  • Nabintech