बास/हिरो स्लो बाइक प्रतियोगिता उपाधि राजुलाई

६० जना प्रतियोगीलाई पछि पार्दै राजु खानले उक्त उपाधि जितेका हुन् । खानले निर्धारित एक सय मिटरको दूरी ६ मिनेट २१ सेकेन्डमा पूरा गरेका थिए ।

असल शासन प्रतिनिधि

नेपालगन्ज–डुडुवा गाउँपालिका वडा नम्बर ४ कम्दीका राजु खान हिरो स्लो बाइक प्रतियोगिता उपाधिका विजेता बनेका छन् । उनले ६० जना प्रतियोगीलाई पछि पार्दै उक्त उपाधि जितेका हुन् । खानले निर्धारित एक सय मिटरको दूरी ६ मिनेट २१ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन् ।
यसैगरी प्रतियोगितामा ५ मिनेट ५ सेकेन्डमा दूरी पार गर्दै कोहलपुर नगरपालिका वडा नम्बर १५ का सन्दिप यादव द्वितीय, ४ मिनेट ५९ सेकेन्डमा दूरी पार गर्न सफल जमुनाहा प्रहरी चौकीका इन्चार्ज विष्णु गिरी तृतीय र ४ मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्ने नेपालगन्जका राजु नागले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगीले क्रमशः नगद रु. १० हजार, ७ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाण पत्र हात पारेका छन् । विजेता प्रतियोगीलाई पुरस्कार कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, कार्यक्रममा मुख्य प्रायोजक एमएस ट्रेड इन्टरनेशनल नेपालगन्जका प्रबन्ध निर्देशक माधव अर्याल, बासका अध्यक्ष रमेश सिटौला र कार्यकारी निर्देशक नमस्कार शाहले प्रदान गरेका थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले पछिल्लो समय सवारी दुर्घटनाको दर बढिरहेका बेला थालिएको अभियान समय सान्दर्भिक र चेतनामूलक रहेको बताए । उनले तीव्र गतिमा सवारी चलाउनेलाई निरुत्साहित गर्ने अभियान सबैले सुरु गर्नसमेत अपिल गरे । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिँदै प्रमुख राणाले उपमहानगरपालिकाले यस्ता कार्यक्रममा आवश्यक सहकार्य गर्ने बताए ।


बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले गरिएको प्रतियोगिता बिहान ७ बजे देखि नेपालगन्जको न्यूरोडमा सुरु भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सिट्ठी फुकेर प्रतियोगिताको सुरुवात गरेका थिए । प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले यस्ता प्रतियोगिताले आम नागरिकमा सचेतना फैलाउने भएकाले निरन्तर गर्नुु पर्नेमा जोड दिएका थिए ।

प्रतियोगितामा निर्णायकको रूपमा एमएस ट्रेड इन्टरनेशनल नेपालगन्जका प्रबन्ध निर्देशक माधव अर्याल, यातायात व्यवस्था कार्यालय नेपालगन्जका निमित्त प्रमुख पूर्ण खत्री र ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख सिद्धिगणेश शाहले गरेका थिए ।
प्रतियोगितामार्फत् आम नागरिकलाई सचेतना फैलाउन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ प्रहरी प्रमुख ओमबहादुर राना, एचसिआरसी अस्पतालका प्रमुख डा.कुमार शान शाह र बासका कार्यकारी निर्देशक नमस्कार शाहले समेत प्र्रतियोगिताको नियमभित्र रहेर सहभागिता जनाएका थिए ।
बास र रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्जको आयोजना, एमएस ट्रेड इन्टरनेशनल (हिरो शो रुम) नेपालगन्जको प्रायोजन तथा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सन नेपाल लाइफ इन्स्योरेन्स नेपालगन्ज र नेपाली सेनाको सहकार्यमा सम्पन्न भएको हो ।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए ।

 

  • ८ माघ २०७७, बिहीबार प्रकाशित

  • Nabintech