परिचितबाटै बलात्कारको प्रयास !

साबित्री गिरी

बाँके/ साथी, संगी, आफन्त र नातागोताबाटै महिला तथा बालबालिका बलात्कारको सिकार हुने गरेका छन् । यस्ता घटनाका अपराधीलाई समाजले र परिवारले समेत घरबाहिर ल्याउन नसक्दा समस्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुभाष खड्काले बताए ।
केही घटना लामो समयसम्म रिलेसनमा बस्ने तर पछि आर्थिक, सामाजिक कुरामा विवाद भएपछि पीडित भनि जाहेरी गर्ने गरेको अवस्थासमेत रहेको प्रहरीको घटना अनुसन्धानको अध्ययनले देखाएको छ । केही घटनाका पीडित तथा जाहेरवाला पक्षले विपक्षीसँग आर्थिक प्रलोभनमा परी झुटा बकपत्र गर्ने, सुरु जाहेरी विपक्षीका नाममा लेखेता पनि पछि अदालतमा बकपत्र गर्दा मैले जाहेरी पढेन अन्यले के कुन कुरा लेखाए थाहा भएन भन्ने कुरा आउँदा समस्या भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । उनले भने,‘केही मेरो चिनजानेको मानिस भएकाले कोठा र होटलमा आउजाउ हुन्थ्यो, फोन सम्पर्क हुन्थ्यो जस्ता बाहाना बनाउने भएकाले न्याय प्रदानमा कठिनाइ छ ।’
यसैबीच चैत ४ गते बलात्कार प्रयासका आरोपीलाई बाँके प्रहरीले भारतबाट पक्राउ गरेको छ । गत माघ १६ गते विद्यालयबाट घर फर्किदै गरेकी १५ वर्षीय किशोरीलाई बलात्कार प्रयास गरी हत्या गर्न खोज्ने युवकलाई बाँके प्रहरीले पक्राउ गर्न सफल भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, घोसीटोल निवासी २४ वर्षीय जुनियाद अन्सारीलाई प्रहरीले घटना घटेको २ महिनापछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताए । उनका अनुसार नेपालमा प्रविधिको विकास भइनसकेकाले अपराधी कहाँ छ भन्ने कुरा पत्ता लगाउन समय लागेको बताए । भारतीय प्रहरीको सहयोगमा अपराधी बसेको स्थान पत्ता लागेपछि पक्राउ गरी कारबाही प्रक्रियामा लगिसकेको उनले बताए ।
यो घटनाका पीडित बालिका भने अझै पनि एक गैरसरकारी संस्थाको संरक्षणमा रहेकी छिन् । उनले संरक्षण गरेको संस्थामै बसेर परीक्षा दिइरहेको बताएकी छिन् । उनी परीक्षा सक्काएर घरजाने मानसिकतामा रहेकी छिन् । आफूलाई बलात्कारको प्रयास गरी ज्यान लिन खोज्ने व्यक्ति पक्राउ परेपछि विद्यालय जाने वातावरण बनेको उनले बताइन् । उनले उक्त व्यक्तिलाई कानुन अनुसार कारबाही गर्नु पर्ने बताइन् । आर्थिक वर्ष २०७७÷७८ को जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक हेर्दा साउनदेखि फागुन मसान्तसम्म ९ वटा मुद्दा दर्ता भएका छन् । जसमा ८ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने एउटा मुद्दा फछ्र्यौट हुन बाँकी छन् । बलात्कारका घटना दिन प्रतिदिन बढिरहेकाले बलात्कारविरुद्ध खबरदारीका कार्यक्रमहरु बाँके जिल्लामा नियमित भइरहेका छन् ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech