पाटे बाघको छाला र अढाई किलो बाघको हड्डीसहित ४ पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ अवैध बाघको छाला र हड्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा पाटे बाघको छाला र हड्डी सहित बाँकेको बैजथानबाट ४ जना पक्राउ परेका छन् । आइतबार बेलुका ६ बसेको समयमा बैजनाथ गाँउपालिका १ च्यामा स्थित सुर्खेत-कोहलपुर सडकखण्डमा चेकजाँच गर्ने क्रममा बाघको छाला र हड्डी सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ पर्नेमा चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतका ५० वर्षीय गंगबहादुर खत्री, सोही ठाँउका २० वर्षीय प्रकाश खत्री, भगवतीमाई गाउँपालिका ४ दैलेखका ३९ वर्षीय चन्द्र अधिकारी र तिला गाँउपालिका ४ जुम्लाका ३८ वर्षीय जयलाल नेपाली रहेका छन्  ।

जयलाल नेपालीलाई चेकजाँच गर्ने क्रममा जयलाल नेपालीले बोकेको झोलामा पाटेबाघको १ थान छाला र गंग बहादुर खत्रीले हातमा समातेको बोराभित्र २ किलो ५०० ग्राम बाघको हड्डी बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बाँके राष्ट्रिय निकुन्जको कार्यालयमा पठाउने तयार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त कसुर अन्तर्गत राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिम १ लाखदेखि २५ लाखसम्म जरिवाना र १ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ ।

  • ९ चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech