नेपालगञ्जमा फिल्म फेस्टिवल हुँदै

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जमा शुक्रबारदेखि दोस्रो नेपाल इण्डिपेन्डेन्ट फिल्म फेस्टिवल (निफ) सुरु हुने भएको छ ।

भेरी प्राविधिक शिक्षालयमा दुई दिन सम्म चल्ने फेस्टिवबलमा २१ फिल्म देखाइनेछ । अन्तरालको आयोजना र बासको सहआयोजनामा हुने फेस्टिवलमा ग्याल्मो हाउस, मरिसकेको मान्छे, उ आयो आयो, इन माइ टाउन, ४ घण्टा, सेक्रेट्स अफ धौलागिरी, असल गुरु, बिपतसँग व्यवहार, अगेन्स अफ अल, अबाउट अ गर्ल, अनन्त यात्रा, नाम्लो, आमा, मि भर्सेस माइन, जालगेडी, द ग्रेट मुखिया, तिर्खा, सुपर मङ्क, अडिसन, अनथ्याङ फ्रेन्ड, ब्लाइन्ड रक्स फिल्म समावेश गरिएको छ ।

आयोजकका अनुसार फिल्म फेस्टिवलको दौरान नायिका एवम निफको सद्भावना दुत बेनिसा हमालको उपस्थिती रहनेछ । फेस्टिवलका अध्यक्ष अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले नेपालगन्जमा पहिलो पटक गरिएको फेस्टिवलको सफलताबाट उत्साहित भएर आयोजनालाई निरन्तरता दिएको बताए ।

उनले भने, ‘काठमाडौ बाहिर फेस्टिवल गर्न कठिन छ । तर हामी आफनो रुची, लगावले फिल्मक्षेत्रमा काम गरिरहेको छौं । फिल्मकर्मीको हौसला बढोस भनेर लागिरहेको छौं । यो एउटा अवसर पनि हो फिल्मकर्मीका लागि’ फेस्टिवलमा सहभागि हुन करिब एक दर्जन निर्देशक, निर्माताहरु नेपालगन्ज आइपुगेको शाहले बताए ।

फेस्टिवलको बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मकर्मीले नेपालगन्जमा नयाँ अवसर मिलेको बताए । राजधानी काठमाडौं केन्द्रित यस्ता कार्यक्रम मोफसलमा हुनु ठूलो चुनौतीका साथै अवसर भएको फिल्मकर्मी राजेश घर्तीले बताए । ‘मोफसलमा यस्ता फेस्टिवलहरू गर्न आवश्यक छ,’ उनले भने, ‘यसलाई निरन्तरता दिनुपर्छ ।’ फेस्टिवल निर्देशक प्रदीप पोखरेलका अनुसार भेरी प्राविधिक शिक्षालयमा उक्त कार्यक्रम हुने छ । फेस्टिवलको पहिलो संस्करण २०७३ माघमा भएको थियो । २०७४ मा चुनावका कारण उक्त फेस्टिवल हुन सकेको अन्तरालका अध्यक्ष शाहले बताए । अबका दिनमा यसलाई निरन्तरता दिने उनको भनाइ छ । अन्तरालले प्रत्येक वर्ष फोटो फेस्टिभल पनि गर्दै आएको छ ।

  • १९ पुष २०७५, बिहीबार प्रकाशित

  • Nabintech