नेपालगञ्जमा घुम्ती शौचालय

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपालगञ्ज उप–महानगरपालिकाले बुधबार देखि घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ ।

नगर क्षेत्रको अती व्यस्त ४ वटा स्थानमा रहने गरि उपमहानगरपालिकाले चारवटा घुम्ती शौचालय सञ्चालनमा ल्याएको हो ।
५९ लाख लागतको सार्वजनिक शौचालय हाल गणेशपुर बसपार्क, गुलरिया बसपार्क, पुष्पलाल चौक र त्रिभुवन चौंक नजीक राखिएको छ ।

नगर प्रमुख डा धवल शम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरिक्षक अरुण पौडेल, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले रिवन काटेर शौचालयको संयुक्तरुपमा उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात शौचालय गन्तव्य तर्फ परिचालन गरिएको थियो ।

 

उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल लगायतका वडा अध्यक्ष, नागरिक समाजका अगुवा, पत्रकारको उपस्थिती रहेको समारोहमा नगर प्रमुख राणाले निरन्तरको प्रयासपछि सञ्चालनमा ल्याइएको घुम्ती शौचालयको सहज सञ्चालन, उपभोग र व्यवस्थापनमा सबैको साथको आवश्यक्ता औल्याए ।

          व्यस्त शहर नेपालगञ्जमा प्रर्याप्त सार्वजनिक शौचालय अभावमा भोग्नु परेको सास्तीलाई सम्वोधन गर्दै उपमहानगरपालिकाले घुम्ती शौचालय सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जानकारी दिए ।

सहजै एक ठाउँबाट अर्को ठाउँ लैजान सकिने अत्याधुनिक शौचालयमा एकै पटक ८ जनाले प्रयोग गर्न मिल्ने उपप्रमुख उमा थापा मगरले बताईन् । घुम्ती शौचालय सञ्चालनपछि सार्वजनिक शैचालयको अभावलाई कम गर्नुका साथै नगरको सरसफाईमा समेत मद्धत पुग्ने विश्वास गरिएको छ ।

घुम्ति शौचालय सञ्चालनका लागि भ्याटसहित ७० हजारमा सरसफाईकर्मी भानु भट्टलाई जिम्मेवारी दिइएको छ ।
सञ्चालन खर्चको लागि उपभोक्तासँगै पिशाव गरे वापत ५ र दिसा गरे वापत १० रुपैया शुल्क लिइने भट्टले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाले २०७५ असार १९ गते र कार्तिक १८ गते सम्पन्न गरेको सार्वजनिक सुनुवाईमा आम नागरिकहरुको मागलाई सम्बोधन गर्दै घुम्ती शौचालय सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता बमोजिम घुम्ती सेवा सञ्चालनमा ल्याएको उपमहानगरपालिकाले जनाएकोछ ।

 

  • ९ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech