भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ सार्वजनिक, नेपालको अवस्था चिन्ताजनक

असल शासन प्रतिनिधि

नेपालगन्ज ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ सार्वजनिक गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआर्ई) नेपालले माघ १५ गते एक कार्यक्रम गरि सूचकाङक सार्वजनिक गरेको हो । यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क कुल १०० मा ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया १० अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ । यस बर्षको सूचकाङकमा नेपाल भने ३१ अङ्क प्राप्त गरी १२४ औं स्थानमा सुचिकृत भएको छ ।
दक्षिण एशियाली राष्ट्रहरु मध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५औं स्थान, भारत ४१ अङ्क प्राप्त गरी ७८ औं स्थान, श्रीलङ्का ३८अङ्क प्राप्त गरी ८९औं स्थान, पाकिस्तान ३३ अङ्क प्राप्त गरी ११७ औं स्थान, मालदिभ्स ३१ अङ्क प्राप्त गरी १२४औं स्थान, नेपाल ३१ अङ्क प्राप्त गरी १२४ औं स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरी १४९ औं स्थान र अफगानिस्तान १६ अङ्क प्राप्त गरी १७२ औं स्थानमा रहेका छन् । छिमेकी मुलुक चीन ३९ अङ्क प्राप्त गरी ८७औं स्थानमा रहेको छ । बिश्वभरीका कुल १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणा मापन गरेको बताईएको छ । यस सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । विश्वसनीय अन्तर्राष्ट्रिय संस्थाहरुद्वारा सम्पन्न गरिएका विभिन्न सर्वेक्षणको आधारमा टीआईद्वारा यो सूची तयार गरिन्छ । टीआईले यो सूची सन् १९९५ देखि प्रत्येक वर्ष सार्वजनिक गर्दै आएको छ भने यस सूचीमा नेपाललाई सन् २००४ देखि समावेश गरिदै आएको छ ।
सीपीआई २०१८ मा दुईतिहाई मुलुकले ५० भन्दा कम अर्थात् औषत ४३ अंक (स्कोर) पाएका छन् ।  सीपीआई २०१८ मा समाविष्ट विभिन्न संस्थाले गरेका सर्वेक्षण अनुसार निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमाकमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको तथ्यांक सार्वजनिक गरेको छ । भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ मा नेपालले पाएको स्कोरले नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको जनाएको छ ।

 

  • १६ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech